सम्झौता अनुसार नियो चाइल्डको सहकार्यमा टुवेल्भ फुटबल ट्रेनिङ सेन्टरले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) तथा डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दै ‘सँगै खेलौं’ नामक विशेष कार्यक्रम सञ्चालन गर्नेछ ।
काठमाडौँ — ‘फुटबल सबैको लागि हो’ भन्ने नारा सहित टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर र नियो चाइल्ड कियर सेन्टर बीच न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य सहित सम्झौता भएको छ ।
सम्झौता अनुसार नियो चाइल्डको सहकार्यमा टुवेल्भ फुटबल ट्रेनिङ सेन्टरले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) तथा डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दै ‘सँगै खेलौं’ नामक विशेष कार्यक्रम सञ्चालन गर्नेछ । टुवेल्भ फुटबलले आफ्नो नियमित ग्रासरुट प्रशिक्षण कार्यक्रमसँगै यो विशेष कार्यक्रम सुचारु गर्न लागेको जनाएको छ । सामान्य बालबालिकाहरू र यी बालबालिकाहरूको प्रशिक्षण भने फरक समयमा हुने उसले जनाएको छ ।
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा बालबालिकाहरूको फुटबल कौशल विकास गर्ने लक्ष्य सहित टुवेल्भ फुटबल सञ्चालनमा रहेको छ भने नियो चाइल्ड राष्ट्रिय फुटबल टोलीका पूर्व फिजियोथेरापिस्टद्वय शमेद कतिला श्रेष्ठ र सुरज भुसालद्वारा सञ्चालित अटिजम स्पेक्ट्रम डिसअर्डर र डाउन सिन्ड्रोम भएका बालबालिकाहरू सहित न्यूरोडाइभर्स बालबालिकाहरूका लागि शैक्षिक तथा विशेष सेवाहरू प्रदान गर्दै आएको संस्था हो ।
अटिजम, एडीएचडी, बौद्धिक अपांगता तथा अन्य न्यूरोविकाससम्बन्धी अवस्थाका कारण सामाजिक अन्तरक्रिया तथा समूहगत गतिविधिमा सहभागी हुन कठिनाइ अनुभव गर्ने बालबालिकाहरूका लागि खेलकुदमा पहुँच अझै सीमित रहेको अवस्था आवश्यकतालाई सम्बोधन गर्न यो साझेदारी स्थापना गरिएको पूर्व कप्तान विराजले बताए ।
