अमेरिका नकआउट चरणमा

अमेरिकाले विश्वकपमा लगातार दुई खेल जितेको ९६ वर्षयता यो पहिलो अवसर हो ।

असार ६, २०८३

एएफपी

America in the knockout stages

What you should know

सियाटल — अमेरिका विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । आयोजक अमेरिकाले शनिबार बिहान सियाटलमा समूह ‘डी’ को खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गरी अन्तिम ३२ मा प्रवेश गरेको हो ।  

नकआउट चरणमा स्थान पक्का गर्ने अमेरिका दोस्रो टोली हो । यसअघि समूह ‘ए’ बाट सहआयोजक मेक्सिको दोस्रो चरणमा पुगिसकेको छ । 

माउरिसिओ पोचेटिनोको अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई ४–१ ले पराजित गरेको थियो । अमेरिकाले विश्वकपमा लगातार दुई खेल जितेको ९६ वर्षयता यो पहिलो अवसर हो । अन्तिम खेलमा टर्कीएमाथि विजय हात पारेमा अमेरिका समूह विजेता बन्ने छ । 

सियाटल रंगशालामा ६५ हजार घरेलु दर्शकमाझ अमेरिकाले ११ औं मिनेटमा अग्रता लिएको थियो । फोलारिन बालोगुनले ६ यार्डबाट गरेको क्रसमा अस्ट्रेलियाका रक्षक क्यामरुन बुर्गेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । 

अमेरिकाबाट एलेक्स फ्रिम्यानले ४३ औं मिनेटमा दोस्रो गोल गरे । फ्रिकिकमा डिफ्लेक्ट भएर आएको बललाई उनले हेडबाट गोलपोस्टको दिशा देखाएका थिए । तर सहायक रेफ्रीले त्यसलाई अफ साइड करार दिए पनि भीएआरले त्यसलाई उल्टाएर गोल नै ठहर गरेको थियो । 

दोस्रो हाफमा अस्ट्रेलियाको प्रदर्शनमा केही सुधार भए पनि हाइड्रेसन ब्रेकअगाडि अमेरिका २–० ले नै अगाडि रहँदै आफ्नो अग्रतालाई कायम राखेको हो । 

पहिलो खेलमा टर्किएमाथि २–० को विजय हात पारेको खेलबाट अस्ट्रेलियाले आश्चर्यजनक रुपमा २ खेलाडी परिवर्तन गर्दै दुबै गोल गर्ने २० वर्षे नेस्टोरी इरानकुन्डा र मिडफिल्डर कोनोर मेटकाल्फको स्थानमा म्याथ्यु लेकी र निशान भेलुपिल्लीलाई प्लेयिङ ११ बाट खेलाइएको थियो, जुन महङ्गो निर्णय हुन पुग्यो ।

एएफपी

Link copied successfully