रोनाल्डोको पोर्चुगलविरुद्ध कंगोको बहादुरी

पहिलो हाफको इन्जुरी टाइमको पाँचौं मिनेटमा योएने बिसाले गोल गर्दै डीआर कंगोलाई पोर्चुगलविरुद्धको खेलमा १–१ को बराबरीमा ल्याएका हुन् ।

असार ४, २०८३

एएफपी

Congo's bravery against Ronaldo's Portugal

ह्युस्टन — ५२ वर्षयता पहिलो पटक विश्वकप खेलिरहेको डीआर कंगोले विश्व सुपर स्टार क्रिस्टियानो रोनाल्डो समावेश पोर्चुगललाई १–१ को बराबरीमा रोकेर विश्वकपमा अर्को अप्रत्याशित नतिजा निकालेको छ ।

रोनाल्डोसहित बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, भिटिन्हाजस्ता खेलाडी समावेश पोर्चुगलविरुद्ध बुधबार राती कंगोले जब्बर प्रदर्शन गर्दै बराबरीको नतिजा निकालेको हो । विश्वकप इतिहासमा टोलीको यो पहिलो अंक हो । यसअघि १९७४ मा जायरको नामबाट खेल्दा टोलीले ३ खेलमा १४ गोल बेहोर्दै घर फर्केको थियो । 

पोर्चगुलले डीआर कंगोविरुद्ध खेलको छैटौं मिनेटमै अग्रता लिएको थियो । पेड्रो नेटोको क्रसमा जाओ नेभासले हेडबाट सानदार गोल गरेका थिए । पोर्चुगलले पहिलो हाफमा बल अधिक समय आफ्नो नियन्त्रणमा राखे पनि अन्तिममा गोल खर्चन पुगेको थियो । 

पहिलो हाफको इन्जुरी टाइमको पाँचौं मिनेटमा योएने बिसाले गोल गर्दै डीआर कंगोलाई पोर्चुगलविरुद्धको खेलमा १–१ को बराबरीमा ल्याएका हुन् । मध्यान्तरसम्म खेल बराबरीको अवस्थामा रहेको थियो । दोस्रो हाफमा कंगोले उल्टै पोर्चुगललाई दबाब दिएको थियो । 

रोनाल्डोले खेलभरि एउटामात्र राम्रो अवसर पाएका थिए, त्यसमा उनले बाहिर हान्न पुगे । लियोनेल मेसीपछि ६ फरक विश्वकप खेल्ने खेलाडी बनेका रोनाल्डो विश्व फुटबलको सर्वाधिक गोलकर्ता हुन् । उनले पोर्चुगलबाट १ सय ४७ गोल गरेका छन्, तर कंगोसँगको खेल उनी र पोर्चुगलका लागि बिर्सनलायक बन्यो ।

एएफपी

Link copied successfully