मार्की खेलाडी समेत रहेका रोहितको नेतृत्वमा गत वर्ष लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै एनपीएलको उपाधि जितेको थियो ।
काठमाडौं — च्याम्पियन कप्तान रोहित पौडेलसहित ७ खेलाडीलाई लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि ‘रिटेन’ गरेको छ । मार्की खेलाडी पनि रहेका रोहितको नेतृत्वमा गत वर्ष लुम्बिनीले सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै एनपीएलको उपाधि जितेको थियो ।
रोहितसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेश गौतमलाई लुम्बिनीले बिहीबार ‘रिटेन’ गरेको जनाएको छ । साथै टोलीले सुमित महर्जन, दुर्गेश गुप्ता, आदिल खान र समीर अलीलाई रिलिज गरेको छ । विवेक यादव घाइते भएपछि टोलीले उनको स्थानमा प्रतियोगितामा सुमितलाई खेलाएको थियो ।
लुम्बिनीबाट गत वर्ष नामिबियाका रुबेन ट्रम्पलमन र जेजे स्मिट, अस्ट्रेलियाका डी’आरसी शर्ट, श्रीलंकाका निरोशान डिकवेला र मोभिन सुवासिंघा, इटालीका ड्राका तथा अफगानिस्तानका गुल्बदिन नैब खेलेका थिए ।
रोहितले फाइनलमा ह्याट्रिक विकेट लिएका थिए भने ट्रम्पलमन ३ रनमा ३ विकेट लिदै प्लेयर अफ द फाइनल बनेका थिए । ट्रम्पलमन नै प्लेयिर अफ द सिरिजमा चुनिएका थिए भने नेपाली खेलाडीतर्फ उत्कृष्ट बन्दै रोहितले ओमोडा कार जितेका थिए ।
