महिला बास्केटबल : तीनै खेल जितेर सेमिफाइनलमा बुढानीलकण्ठ

बिहीबार आईएसले ग्रान्डी स्टार्ससँग र बुढानीलकण्ठले सुनसरीसँग प्रतिस्पर्धा गर्नेछन् ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

Women's Basketball: Budhanilkantha advances to semifinals after winning all three games

What you should know

काठमाडौं — बुढानीलकण्ठ नगरपालिकाले १० औं राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपको समूह चरणको तीनै खेल जितेर सेमिफाइनल तय गरेको छ ।

नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको समूह ‘बी’ मा रहेको बूढानीलकण्ठले ट्रेनिङ ग्राउन्डलाई ५७–५० ले हरायो । प्रतिस्पर्धात्मक खेलमा बूढानीलकण्ठले क्वाटरमा १४–१४, १२–८, १७–२३, १४–५ को प्रदर्शन गरेको थियो । बुढानीलकण्ठकी अनुशा मल्लले सर्वाधिक २७ स्कोर गरिन् । उनी प्लेयर अफ द म्याच घोषित भइन् ।

बुढानीलकण्ठ ६ अंक जोडेर समूहको शीर्षस्थानमा रह्‌यो । अर्को खेलमा ग्रान्डी स्टार्सले लुम्बिनी प्रदेशलाई ७७–६ स्कोरले हराएर समूह उपविजेता भएर सेमिफाइनलमा स्थान बनायो । ग्रान्डीकी वीनामनि योन्जनले सर्वाधिक १५ अंक जोडिन् । हीरा बोहरा प्लेयर अफ द म्याच घोषित भइन् ।

समूह ‘ए’ मा सुनसरी बास्केटबल एसोसिएसन र अन्नपूर्ण बास्केटबल एसोसिएसन विजयी भए ।

सुनसरीले आईएस नेपाललाई ३८–३६ स्कोरले हरायो । सुरुआती दुई क्वाटरमा आईएसले ४–३, १०–७ को अग्रता लिए पनि सुनसरीले तेस्रो क्वाटर १३–१३ को बराबरी गरेको थियो भने चौथो क्वाटर १५–९ ले आफ्नो पक्षमा पार्दै रोमाञ्चक जित रच्यो । सुनसरीकी हिमखेन लिम्बूले ८ अंक स्कोर गरिन् । सनिता लिम्बू प्लेयर अफ द म्याच भइन् ।

अर्को खेलमा अन्नपूर्णले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८–४१ ले हरायो । अन्नपूर्णले चार क्वाटरमा १५–९, ५–७, ९–९, १९–१६ को प्रदर्शन गरेको थियो । अन्नपूर्णकी निर्भया शर्माले २५ स्कोर गरिन् । उनी नै प्लेयर अफ द म्याच भइन् ।

समूह ‘ए’ बाट आईएस समूह विजेता र सुनसरी उपविजेता भएर सेमिफाइनल प्रवेश गरे । सेमिफाइनलमा बिहीबार आईएसले ग्रान्डी स्टार्ससँग र बुढानीलकण्ठले सुनसरीसँग प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर

Link copied successfully