२७ वर्षीय किलियन एम्बाप्पेले ६६ औं मिनेटमा फ्रान्सका लागि पहिलो गोल गर्न सफल भएका हुन् ।
फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले विश्वकप इतिहासमा १२ गोल गरिसकेका छन् र उनी विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीको मिरोस्लाभ क्लोसभन्दा ४ गोलले मात्र पछाडि छन् । २७ वर्षे फरवार्ड एमबाप्पेले फ्रान्सबाट भने ५६ गोल गरिसकेका छन् । फ्रान्सका लागि सर्वाधिक गोल गर्ने ओलिभर जिरुडभन्दा एमबाप्पे १ गोलले मात्र पछाडि छन् ।
जनवरीमा अफ्रिका कप अफ नेसन्स (काफ) को फाइनल खेलयता सेनेगलले खेलिरहेको यो पहिलो प्रतियोगिता हो । तनावले भरिएको फाइनलमा सेनेगलले मोरक्कोलाई १–० ले पराजित गरेको थियो । खेल दौरान आफूहरुविरुद्ध दिइएको एक पेनाल्टीमा सेनेगलले खेल्न नमान्दा खेल १७ मिनेट रोकिएको थियो । तर काफले मार्चमा त्यो निर्णण उल्टाउँदै मोरक्कोलाई विजेता घोषणा गरेको थियो । त्यसमा सेनेगलले अपिल गरेको छ ।
डिडियर डेसाम्प्सको फ्रान्सको प्रशिक्षक रुपमा यो अन्तिम प्रतियोगिता हुन सक्ने जनाइएको छ । कप्तानको रुपमा फ्रान्सलाई सन् १९९८ को विश्वकप जिताएका डेसाम्प्स सन् २०१२ यता फ्रान्सको प्रशिक्षक रहेका छन् र उनकै प्रशिक्षणमा फ्रान्स सन् २०१८ मा पुनः च्याम्पियन भएको थियो ।
फ्रान्सले सन् १९९८ आफ्नै भूमिमा आयोजित विश्वकप जित्दै पहिलो स्वाद चाखेको थियो । तर त्यसको चार वर्षपछिको अर्को संस्करणको पहिलो खेलमै नवप्रवेशी सेनेगलले टोलीलाई १–० ले पराजित गरेर सनसनी मच्चाएको थियो । यसलाई विश्वकपको सबैभन्दा ठूलो अप्रत्यासित नतिजाहरुमा लिइन्छ ।


