उनको इन्स्ट्राग्राममा पछ्याउनेहरू ५० हजारमुनिबाट ८३ लाख पुगिसकेको छ । २० घन्टासम्म ७५ लाख कटिसकेको थियो ।
What you should know
एटलान्टा — आखिरमा स्पेनले केप भार्डेका गोलरक्षक भोजिन्हाविरुद्ध गोल गर्नै सकेन । यी ४० वर्षीय गोलरक्षककै बहादुरीमा विश्वकपमा डेब्यु गरिरहेको केप भार्डेले स्पेन जत्तिको बलियो टिमलाई गोलरहित बराबरीमा रोकेको हो । भोजिन्हाले खेलपछि आफूलाई रोक्नै सकेनन् । भावुक भए, आँसु बगाए । विश्वकप २०२६ मा प्रवेश गर्दा ‘ला रोजा’ उपाधिकै लागि सबैभन्दा बलियो प्रत्याशी थियो ।
प्रशिक्षक लुइस डे लाले दाबी गरेका थिए, उनको टिम यस विश्वकपकै सबैभन्दा उत्कृष्ट हो । हुन पनि स्पेनी टिममा बालोन डी’अर विजेता रोड्री र पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि लागि भर्खर युरोपेली च्याम्पियन्स लिग जितेका फाबिन रुइज जस्ता खेलाडी थिए । टोलीमा युरो २०२४ को उपाधि जित्दाका खेलाडी पनि उत्तिकै थियो । तर उनीहरू कसैले पनि केप भार्डेले तेर्स्याएको रक्षाकवच तोड्न सकेनन् ।
दोस्रो हाफमा चोटमुक्त भएर मैदानमा उत्रेका बार्सिलोना स्टार लामिन यामलले पनि केही गर्न सकेनन् । भोजिन्हाको ‘क्लिन स्विप’ त्यस्तो प्रदर्शन हो, जसको चर्चा लामै समयसम्म सेलाउने छैन । खेलपछि पत्रकारबाट घेरिएका भोजिन्हाले भने, ‘म त एकदमै गर्व महसुस गरिरहेको छु । आफ्नो देशको प्रतिनिधित्व गरेरे खेल्नु जत्तिको सम्मान अरू केही हुन सक्दैन ।’
उनले थपे, ‘हामी एकदमै सानो देशबाट आएका छौं । हाम्रो विश्वकप छनोट पनि गाह्रै थियो, किनभने हाम्रो समूहमा क्यामरुन र लिबिया जस्ता टिम थिए । तर हामीलाई के थाहा थियो भने प्रशिक्षकले बनाएको योजनाअनुसार चल्ने हो भने हाम्रो छनोट हुन सम्भावना धेरै छ । यस्तै भयो, हाम्रो सपना पूरा भयो । आज हामीले विश्वकप फुटबलकै सबैभन्दा राम्रो टिम स्पेनविरुद्ध खेल्न पायौं । केप भार्डेको जनताका लागि हामी सबै खुसी छौं ।’
पूरा खेल अवधिमा भोजिन्हाले शृंखलाबद्ध रूपमा स्पेनी आक्रमण निस्तेज पारे । उनले मिखेल आयारजाबलको हेडर होस् वा फेरान टोरेसको कम उचाइको प्रहार अनि आयमेरिक लापोर्टेको हेडर सबै रोके । खेल सकिनेबित्तिकै उनी रुनुको पछाडि केप भार्डेले पाएको बराबरी मात्र कारण थिएन । यस पछाडि यो खेलको नतिजा आफ्नी आमा र बाजेबज्यैसँग आत्मसात् गर्न नपाउनु पनि हो ।
भोजिन्हाले भने, ‘म आज किन रोएँ भने मलाई बाजेबज्यै हुर्काएको हो । तर उनीहरूले यो सबै देख्न पाएनन्, किनभने उनीहरूले यो संसार छाडिसके । उनीहरूले मेरो लागि के मात्र गरेनन् र ? अनि मेरी आमा पनि यो खेल हेर्न आउन सकिनन्, किनभने भिसा नै मिलेन । हामीले भिसाको व्यवस्था नै गर्न सकेनौं । आमा भएको भए अझ बढी खुसी हुन्थिन् ।’ उनले केप भार्डेका आम जनताका लागि पनि आफू असाध्यै खुसी रहेको बताए ।
आफ्नो खेल जीवनमा भोजिन्हाले कहाँ–कहाँ मात्र खेलेनन्, आफ्नै देश केप भार्डेदेखि एङ्गोला, मोल्दोभा, साइप्रस, स्लोभाकिया र अहिले तत्कालका लागि पोर्चुगल । तय छ, अब उनलाई पछ्याउनेहरू धेरै हुनेछन् । त्यसैले त खेल सकिएको केही घण्टा पनि बितेको थिएन, उनको इन्स्ट्राग्राममा पछ्याउनेहरू ५० हजारमुनिबाट ८३ लाख पुगिसकेको छ । २० घन्टासम्म ७५ लाख कटिसकेको थियो । केप भार्डेका प्रशिक्षक बुबिस्टाले पनि आफ्ना सबैभन्दा अनुभवी खेलाडीको प्रशंसा गर्न कन्ज्युस्याइँ गरेनन् ।
विश्वकपमा डेब्यु गर्ने क्रममा भोजिन्हाले केप भार्डेका लागि ८९ ‘क्याप’ जिते । बुबिस्टाले भने, ‘उनी असाध्यै भावनात्मक भए । उनी असाध्यै अनुभवी खेलाडी हुन् र यो दिनसम्म आइपुग्न अनेक त्याग र तपस्या गरेका छन् । त्यसैले उनको आँखामा देखिएको आँसु स्वभाविक छ । उनले वास्तवमै असाध्यै उत्कृष्ट प्रदर्शन गरेका हुन् । मैदानमा उनी नै सबैभन्दा राम्रा खेलाडी रहे । मेरो विश्लेषणमा हाम्रो रक्षापंक्ति बेजोड रह्यो ।’
तस्बिर : एपी
