न्युजिल्यान्ड र इरानबीच लस एन्जलस स्टेडियममा चलिरहेको खेलको पहिलो हाफ टुंगिदा दुवै टिम १–१ को रोमाञ्चक बराबरीमा रहेका छन् ।
काठमाडौँ — न्युजिल्यान्ड र इरानबीच लस एन्जलस स्टेडियममा चलिरहेको खेलको पहिलो हाफ टुंगिदा दुवै टिम १–१ को रोमाञ्चक बराबरीमा रहेका छन् । न्युजिल्यान्डले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो र यसक्रममा इलिज जस्टले गोल गरे ।
उनले त्यसका लागि इरानी पेनाल्टी एरियामा सबैभन्दा पहिले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिए र त्यसलाई पोस्टको दिशा दिए । इरान ३२ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । न्युजिल्यान्डको पेनाल्टी एरियामा पाएको बलमा रमनी रेजाइनले चलाखीपूर्ण गोल गरे ।
त्यस अगाडि इरानका मेहदी तारेमीले २४ औं मिनेटमा गरेको प्रहार न्युजिल्यान्डको पोस्टमा लागेको थियो । समूह जी को यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेलेका थिए ।
