इरानले दुई पटक पछाडि रहेको स्थितिबाट खेलमा फर्कदै मंगलबार विश्वकप २०२६ मा न्युजिल्यान्डलाई २–२ को बराबरीमा रोकेको छ ।
काठमाडौँ — इरानले दुई पटक पछाडि रहेको स्थितिबाट खेलमा फर्कदै मंगलबार विश्वकप २०२६ मा न्युजिल्यान्डलाई २–२ को बराबरीमा रोकेको छ । लस एन्जलस स्टेडियमको यो नतिजापछि दुवै टिम समान एक एक अंकमा समूह जी को शीर्ष दुई स्थानमा रहे । यसै समूहमा बेल्जियम र इजिप्ट पनि समान एक एक अंकमा छन् ।
न्युजिल्यान्डका लागि इजिल जस्टले दुई गोल गरे । न्युजिल्यान्डले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो र यसक्रममा जस्टले गोलको खाता खोले । उनले त्यसका लागि इरानी पेनाल्टी एरियामा सबैभन्दा पहिले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिए र त्यसलाई पोस्टको दिशा दिए ।
इरान ३२ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । न्युजिल्यान्डको पेनाल्टी एरियामा पाएको बलमा रमनी रेजाइनले चलाखीपूर्ण गोल गरे । त्यस अगाडि इरानका मेहदी तारेमीले २४ औं मिनेटमा गरेको प्रहार न्युजिल्यान्डको पोस्टमा लागेको थियो । जस्टले ५४ औं मिनेटमा न्युजिल्यान्डका लागि दोस्रो गोल गरे ।
मैदानको मध्य भागबाट सुरु भएको आक्रमणलाई उनले सुन्दर गोलमा परिणत गरे । यसै क्रममा उनी विश्वकप इतिहासको एकै खेलमा दुई गोल गर्ने न्युजिल्यान्डका पहिलो खेलाडी पनि भए । तर त्यो अग्रता पनि लामो समय टिकेन् र इरानले खेलको ६३ औं मिनेटमा फेरि बराबरी गोल फर्काउन सफल रह्यो । अनमार्क रहेका मोहम्मद मोहेबीले सजिलै हेडिङबाट गोल गरे ।
