राष्ट्रिय महिला बास्केटबलमा बूढानीलकण्ठ र आईएसएको लगातार जित

कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको मंगलबार समूह ‘बी’ मा रहेको बूढानीलकण्ठले लुम्बिनी प्रदेशलाई ५४–२५ स्कोरले हरायो ।

असार २, २०८३

कान्तिपुर संवाददाता

Budhanilkantha and ISA win consecutively in national women's basketball

काठमाडौँ — बूढानिलकण्ठ नगरपालिका र आईएसए नेपालले १० औं राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपमा लगातार जित हात पाएका छन् ।

कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको मंगलबार समूह ‘बी’ मा रहेको बूढानीलकण्ठले लुम्बिनी प्रदेशलाई ५४–२५ स्कोरले हरायो । बूढानीलकण्ठले तीन क्वाटर आफ्नो पक्षमा पार्दा एक क्वाटरमा दुवैले समान अंक जोडेको थियो । बूढानीलकण्ठले २०–६, १४–१४, १०–३, १०–२ को प्रदर्शन गर्‍यो । बूढानीलकण्ठकी लोरिसा गौचन प्लेयर अफ द म्याच भइन् भने अनुशा मल्लले सर्वाधिक ११ अंक स्कोर गरिन् ।

अर्को खेलमा ग्रान्डी स्टार्सले ट्रेनिङ ग्राउन्डलाई ५५–३४ स्कोरले हरायो । अघिल्लो दिन बूढानीलकण्ठसँग पराजित ग्रान्डी स्टार्सले चार क्वाटरमा १५–६, ९–१४, १७–७, १४–८ स्कोर गरेको थियो । ग्रान्डीकी बीनामनी योन्जनले सर्वाधिक १४ स्कोर गरिन् । उनी प्लेयर अफ द म्याच भइन् । 

पहिलो खेलमा लुम्बिनीलाई पराजित गरेको ट्रेनिङ ग्राउन्डको पहिलो हार हो ।

समूह ‘ए’ मा रहेको आईएसए नेपालले अन्नपूर्ण बास्केटबल एसोसिएसनलाई ४८–२३ ले हरायो । आईएसए पहिलो क्वाटरमा ५–८ ले पछि परे पनि त्यसपछि तीन क्वाटरमा १४–६, १५–२, १४–७ ले स्कोर गर्दै खेल जितेको हो । सर्वाधिक १२ अंक स्कोर गरेकी आशा राजभण्डारी प्लेयर अफ द म्याच भइन् । आईएसएले लेट्स गो बास्केटबल एकेडेमीलाई हराएको थियो ।

अर्को खेलमा सुनसरीले लेट्स गोलाई ४१–३३ स्कोरले हरायो । सुनसरीले क्वाटरमा  १२–५, १४–१६, ५–८, १०–४ को प्रदर्शन गर्‍यो । १२ स्कोर गरेकी सुनसरीकी आस्था राई प्लेयर अफ द म्याच भइन् । उनले १२ अंक स्कोर गरिन् ।

नेपाल बास्केटबल संघले एक दशकपछि महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully