प्लेयर्स टु वाच : केभिन डी ब्रुएना

राम्रो ड्रिब्लिङ स्किल र सटिक क्रस उनका प्रमुख विशेषता हुन् ।

असार १, २०८३

कान्तिपुर संवाददाता

Players to watch: Kevin De Bruyne

काठमाडौँ — ८ वर्षअघिको जस्तो गोल्डेन पुस्ताले भरिएका खेलाडी नभए पनि बेल्जियमको आशा अनुभवी खेलाडी केभिन डी ब्रुएनामा रहेको छ । ३४ वर्षे उनी आफ्नो चौथो तथा सम्भवतः अन्तिम विश्वकप खेलिरहेका छन् ।

बेल्जियम २०१४ को विश्वकप क्वाटरफाइनल पुग्दा उनी टोलीका प्रमुख सदस्य थिए । २०१८ को रुस विश्वकपमा बेल्जियमले तेस्रो स्थान हात पार्दा डी ब्रुएना ड्रिम टिममा छानिएका थिए । २०२२ को कतार विश्वकपमा पनि उनी बेल्जियमको टोलीमा थिए ।

डी ब्रुयनाले २०१० मा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका हुन् । त्यसयता एट्याकिङ मिडफिल्डर उनले बेल्जियमबाट १ सय १९ खेल खेल्दै ३७ गोल गरेका छन् । सेन्ट्रल मिडफिल्डको भूमिका पनि उत्तिकै राम्रो निभाउने उनी ‘बक्स टु बक्स’ र ‘फल्स ९’ बाट पनि खेल्ने गर्छन् ।

राम्रो ड्रिब्लिङ स्किल र सटिक क्रस उनका प्रमुख विशेषता हुन् । प्रिमियर लिगको टोली म्यानचेस्टर सिटीमा १० वर्ष बिताउनेक्रममा डी ब्रुयनाले २ सय ८५ खेलमा १ सय ८ गोल गरेका थिए । त्यसक्रममा उनले सिटीलाई ६ पटक प्रिमियर लिग च्याम्पियन, दुई पटक एफए कप र एक पटक च्याम्पियन्स लिग च्याम्पियन बनाएका थिए । 

उनी २०२५ को सिजनको सुरुआतमा इटालियन टोली नेपोली लागेका थिए, जहाँ उनले १८ खेलमा ५ गोल गरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully