१९३० पछिको त्यो दुई गोल

अमेरिकी टिममा बालोगनको उपस्थिति सामान्य मान्न सकिँदैन । उनी अमेरिकाले वर्षौंको प्रतीक्षापछि पाएको नम्बर ९ खेलाडी हुन् ।

जेष्ठ ३१, २०८३

विनयज्योति सापकोटा

Those two goals after 1930

What you should know

काठमाडौँ —  

विश्वकपमा शनिबार बिहान अमेरिका र पाराग्वेबीचको खेलमा एक अमेरिकी खेलाडी ह्याट्रिक सम्भावनाबाट थोरैले बाहिर रहन पुगे । उनले अमेरिकाका लागि ९५ वर्षपछि विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी बन्ने अवसर गुमाए । तर जे गुमाए त्यसभन्दा धेरै त उनको प्रदर्शनबारे चर्चा छ । ड्रिब्लिङ, पोस्ट एटेम्ट, एकुरेसी र कटब्याकमा उनको भूमिका पाराग्वेलाई ४–१ ले हराउन महत्वपूर्ण रह्यो ।

ती खेलाडी हुन्, फ्लोरिन बालोगन ।

अमेरिकी टिममा बालोगनको उपस्थिति सामान्य मान्न सकिँदैन । उनी अमेरिकाले वर्षौंको प्रतीक्षापछि पाएको नम्बर ९ खेलाडी हुन् । भलै, उनी २० नम्बर जर्सी लगाउँछन् तर उनको स्थान वास्तविक स्ट्राइकर नै हो । उनको उपस्थितिका कारण अमेरिकाले विश्व फुटबलमा प्रभाव पार्न सक्ने फुटबल पण्डितहरूले बताउन थालिसकेका छन् । यसका केही कारण पनि छन् । उनी उत्तर अमेरिकी महादेशका उत्कृष्टमध्येका एक स्ट्राइकर हुन् । उनको गोल गर्ने शैलीले नै प्रशिक्षक माउरिसियो पोचेटिनोको ध्यान खिचेको थियो । त्यसैले उनले आफ्नो आक्रमणको केन्द्र नै बालोगनलाई बनाए । त्यो किनभने, युरोपको शीर्ष पाँचमध्ये एकमा उनले २० गोल गरेका छन् । जुन अमेरिकी खेलाडीले हत्पती गर्दैनन् ।

यस विश्वकपमा अहिलेसम्म १२ गोल भएको छ । त्यसमध्ये दुई गोल उनका नाममा छ । पाराग्वेविरुद्ध पहिलो हाफमा पेस र प्रवेश दुवै प्रयोग गरे । दायाँ खुट्टाको उनको पावरफुल शट पाराग्वेका गोलकिपर ओर्लान्डो जिलका लागि संकट बनिरहेको थियो । उनले पहिलो हाफको सुरुमै गरेको गोल भने असफसाइड भयो । गोल नभए पनि उनको मिहिनेत तारिफयोग्य रह्यो । खेलको सातौं मिनेटमा वेस्टन म्याकेनीले दिएको पास लिन बालोगन सही स्थान र पोजिसनमा थिए । तर पाराग्वेका डिफेन्डर ओमार आल्डरिटबाट डिफ्लेक्ट भएर आत्मघाती गोल हुन पुग्यो । के थाहा, उनको नाममा फिफा विश्वकप २०२६ को पहिलो ह्याट्रिक हुन सक्थ्यो । खेलमा उनले ३५ औं मिनेटमा पहिलो गरे अनि दोस्रो हाफको इन्ज्युरी समयमा दोस्रो गोल गरेर आफूलाई सिद्ध गरे । उनको दुई गोल अमेरिकाका लागि यस अर्थमा महत्पूर्ण छ कि कुनै पनि अमेरिकी खेलाडीले सन् १९३० यता विश्वकपको एकै खेलमा दुई गोल गरेकै छैनन् ।

बालोगन २४ वर्षका भए । उनी मोनाको क्लबबाट फ्रान्सको लिग खेल्छन् । त्यसो तर अमेरिकाबाट युरापेको शीर्ष ५ लिग खेल्ने कमै खेलाडीमा पर्छन् बालोगन । अमेरिकाको ब्रुकलिनमा उनी नाइजेरियन दम्पत्तीबाट जन्मिएका हुन् । तर, इंग्ल्यान्डबाट उमेर समूहको खेल खेलेका उनले सन् २०२३ यता भने अमेरिकाबाटै खेलिरहेका छन् । उनको ओरिजिन नाइजेरियन हो ।

तर उनले नाइजेरिया र इंग्ल्यान्डबाट खेल्ने कुरा नकार्दै अमेरिका रोजेका थिए । आफ्नो मनको कुरा सुनेर अमेरिकाबाट खेल्ने निर्णय गर्दा उनी आर्सनलबाट लोनमा फ्रान्सको रिम्समा खेलिरहेका थिए । त्यहाँबाट उनले एकै सिजन २१ गोलसमेत गरेका थिए । यो सन् २०२३ मा हो । तत्कालै उनी अमेरिकाको टोलीमा प्रमुख स्ट्राइकर बने ।

यता, इंग्ल्यान्डको टिममा ह्यारी केन, इभान टोनी र ओली वाटकिन्स जस्ता फरवार्ड हुँदा उनलाई अवसर पाउन पनि गाह्रो पर्नेवाला थियो । त्यसैले पनि बालोगनले अमेरिका रोजेको हुन सक्छन् । त्यसपछि मोनाकोले तीन करोड खर्चिएर उनलाई अनुबन्ध गर्‍यो । मोनाकोबाट उनले ३१ गोल गरिसकेका छन् ।

पाराग्वेविरुद्धको खेलमा पहिलो गोल गर्दा क्रिस्टियन पुलिसिचले पास उपलब्ध गराएका थिए । ‘कप्तान अमेरिका’ उपनाम पाएका पुलिसिचको प्रदर्शनले पनि बालोगनलाई सहज बनाएको छ । अहिले अमेरिकी टिममा पोचेटिनोको प्रभाव स्पष्ट रूपमा देखिएको छ ।

के अमेरिका विश्वकपको सरप्राइज टिम बन्न सक्छ ? यसबारे पोस्टम्याच कन्फ्रेन्समा प्रशिक्षक पोचेटिनो भन्छन्, ‘अहिल्यै केही बताउन सकिँदैन । जितमा हाई हाई हुन्छ र हारमा सबै समस्या मात्रै देखिन्छ । यद्यपि क्वाटरफाइनल वा सेमिफाइनल पुग्यो भने त्यो हुनसक्छ । हामी त्यही चाहन्छौं ।’

विनयज्योति

Link copied successfully