युरोपेली पावरहाउस नेदरल्यान्ड्स र एसियाली बादशाह जापान आमनेसामने

नेदरल्यान्ड्स फिफा वरीयताको आठौँ स्थानमा छ । अनि १८औँ स्थानमा छ जापान । एउटा युरोपको पावरहाउस । अर्को एसियाको बादशाह ।

जेष्ठ ३१, २०८३

अभय बस्नेत

European powerhouse Netherlands and Asian king Japan face off

What you should know

काठमाडौं — फिफा विश्वकप २०२६ मा आइतबार दुई धुरन्धर टोलीबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’को पहिलो खेलमा युरोपेली पावरहाउस नेदरल्यान्ड्स र एसियाली बादशाह जापान नेपाली समयअनुसार बिहान पौने २ आमनेसामने हुँदैछन् । यो खेल अमेरिकाको टेक्ससस्थित अर्लिङ्टनको एटी एन्ड टी स्टेडियम हुँदैछ । 

नेदरल्यान्ड्स फिफा वरीयताको आठौँ स्थानमा छ । अनि १८औँ स्थानमा छ जापान । एउटा युरोपको पावरहाउस । अर्को एसियाको बादशाह । त्यसैले आइतबार राति पौने २ बजेबाट सुरु हुने यी दुई टोलीबीचको भिडन्त रोचक हुने अनुमान छ ।

सन् १९७४, १९७८ र २०१० गरी तीन पटकको विश्वकप उपविजेता हो डच टोली । यसपटक छनोट चरणमा पनि यो टोली अपराजित रह्यो । खेल सुरु हुनुअघि भने प्रशिक्षक रोनाल्ड कोम्यानको टोली चोटका कारण संकटमा छ । डिफेन्डर जुरिन टिम्बर, मिडफिल्डर जाभी सिमोन्स र जर्डी स्काउटन जस्ता खेलाडीहरू टोलीबाहिरै हुने भइसकेका छन् । 

टिम्बरको स्थानमा लुट्सारेल गेर्ट्रुइडालाई टोलीमा समावेश गरिसकिएको छ । कप्तान भर्जिल भान डाइकको नेतृत्वमा रहने डच टोलीमा फ्रेन्की डी जोङ र कोडी गाक्पो जस्ता स्टार खेलाडीहरूको उपस्थिति रहनेछ । लगातार आठौँ विश्वकप खेलिरहेको ‘सामुराई ब्लु’ को लय पनि कम छैन । 

मैत्रीपूर्ण खेलहरूमा ब्राजिल र इङ्ल्यान्ड जस्ता विश्वविजेता टोलीलाई पराजित गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । प्रशिक्षक हाजिमे मोरियासुको टोलीमा पनि चोटको समस्या छ । स्टार विङ्गर काओरु मितोमा, ताकुमी मिनामिनो र कप्तान वातारु एन्डो टोलीमा हुने छैनन् । 

एन्डोको अनुपस्थितिमा को इताकुराले कप्तानीको सम्हाल्ने छन् भने आक्रमणको कमान फेयेनर्डका प्रभावशाली स्ट्राइकर अयासे उएडाको हातमा हुनेछ । हेड–टू–हेडमा भने नेदरल्यान्ड्स अगाडि छ । यसअघि भएका ३ भेटमा नेदरल्यान्ड्सले २ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ । 

विश्वकपमा भने यी २ टोलीको यो दोस्रो भेट हो । यसअघि सन् २०१० को विश्वकपमा नेदरल्यान्ड्सले जापानलाई १–० ले पराजित गरेको थियो । करिब ९४ हजार दर्शक क्षमताको स्टेडियममा डच टोलीको नियन्त्रित खेल शैली र जापानको फास्ट ‘ट्रान्जिसन’ फुटबलबीचको यो भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

समूह ‘एफ’ मा यी २ टोलीका साथै स्वीडेन र ट्युनिसिया पनि छन् । 'नकआउट' चरणको बाटो तय गर्नका लागि दुवै टोली आजको खेलमा स्पष्ट ३ अंक बटुल्ने दाउमा हुनेछन् ।

अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।

Link copied successfully