सन् २०१८ देखि अमेरिकामा बस्दै आएका २९ वर्षीय अश्विनराज पोखरेल कोकाकोलाका ‘लिड सुपरभाइजर’ का रूपमा डलास रंगशालामा कार्यरत छन्, जहाँ विश्वकपका सबैभन्दा धेरै खेल हुँदैछन्
What you should know
काठमाडौँ — रातो रङको आकर्षक कोकाकोला टी–सर्ट लगाएका एक दाह्रीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङ्टनस्थित विशाल एटी एन्ड टी स्टेडियमभित्र व्यस्त देखिन्छन् । २०२६ फिफा विश्वकपका लागि ‘डलास स्टेडियम’ नाम दिइएको उक्त रंगशालाभित्रका उनका तस्बिर र भिडियो पछिल्ला तीन सातादेखि सामाजिक सञ्जालमा भाइरल छन् । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोडिएकामा उनी नेपालीहरूका लागि गर्व बनेका छन् ।
ती युवा हुन् २९ वर्षीय अश्विनराज पोखरेल । सन् २०१८ देखि अमेरिकामा बस्दै आएका पोखरेल विश्वकपमा कोकाकोलाका ‘लिड सुपरभाइजर’ का रूपमा डलास रंगशालामा कार्यरत छन् । विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानडाका १६ वटा रंगशालामध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो ।
फिफा विश्वकपको २३ औं संस्करण सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा सुरु भइसकेको छ ।
विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको तयारीमा नेपालीहरू जोडिएको यो पहिलो अवसर भने होइन । सन् २०२२ को कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए । त्यसले परिश्रम, त्याग र पीडाका अनेक कथा पनि उजागर गरेको थियो ।
तर पोखरेलका लागि विश्वकप कुनै एउटा गौरवको विषयभन्दा पनि बढी आफ्नो दैनिक कामको हिस्सा हो । काठमाडौंबाट विश्व फुटबलको महाकुम्भसम्मको उनको यात्रा नेपाल र अमेरिकामा विभिन्न पेसा र संघर्षको निरन्तरता हो । हालै ‘द पोस्ट’ सँगको कुराकानीमा पोखरेलले विद्यालय पढ्दाताका सन् २०१४–१५ मा ‘हाइलाइट्स नेपाल’ का लागि भिडियो अपलोड गर्ने गरेको सम्झिए ।
‘त्यसपछि नयाँ सडकमा रहेको हाम्रो परिवारको थोक व्यापारमा चीनबाट सामान आयात गर्ने काममा सहयोग गर्थें,’ उनले भने, ‘पछि ट्राभल तथा टुरिजम क्षेत्रमा काम गरें । त्यसपछि एजुकेसन कन्सल्टेन्सी सञ्चालन गरें । सन् २०१८ मा अमेरिका आएँ । यहाँ आएपछि बिजनेस म्यानेजमेन्टमा स्नातक र बिजनेस एनालिटिक्समा स्नातकोत्तर अध्ययन पूरा गरें । विभिन्न कामका क्रममा अमेजनमा पनि सुपरभाइजरको रूपमा काम गर्ने अवसर पाएँ ।’
पछिल्लो एक वर्षदेखि उनले ‘आशफाइनान्सेज्’ नामक प्लाटफर्म पनि सञ्चालन गरिरहेका छन् । यो प्लाटफर्मले अमेरिकामा आउने नेपालीहरूलाई शिक्षा, करियर, खर्च व्यवस्थापन तथा दैनिक जीवनका उपयोगी जानकारी प्रदान गर्ने काम गर्छ । ‘पहिलो पटक अमेरिका आउने धेरै नेपाली विभिन्न प्रकारले ठगिने गरेका छन्,’ पोखरेल भन्छन्, ‘उनीहरूलाई सही जानकारी र मार्गदर्शन दिनका लागि यो प्लाटफर्म सुरु गरेको हुँ ।’
उनले बलिउड कलाकारहरूको प्रस्तुति रहेका ठूला कार्यक्रममा ‘इभेन्ट म्यानेजमेन्ट’ को अनुभव पनि सँगालिसकेका छन् । तर डलास स्टेडियममा कोकाकोलाको सुपरभाइजर बन्ने अवसर भने आफूले सपनामा समेत नसोचेको अनुभव भएको पोखरेल बताउँछन् ।
फेब्रुअरीमा उनले उक्त पदका लागि प्रकाशित विज्ञापन देखे । आवेदन दिएपछि विभिन्न चरणका छनोट प्रक्रिया र अन्तर्वार्ता पार गर्दै मे ८ मा ‘ओरियन्टेसन’ कार्यक्रममा सहभागी भए । ‘ओरियन्टेसनको दिनदेखि म अत्यन्त खुसी छु,’ उनले भने । ‘यति ठूलो प्रतियोगिताको हिस्सा बन्न पाउनु मेरो कल्पनाभन्दा बाहिरको कुरा हो ।’
पोखरेलका अनुसार उनको टोलीको मुख्य जिम्मेवारी स्टेडियममा आएका दर्शकलाई २० सेकेन्डभित्र कोकाकोलाका पेय पदार्थ उपलब्ध गराउनु हो । यो स्टेडियम विश्वकै सबैभन्दा मूल्यवान् खेलकुद टिम मानिने ‘डलास काउब्वायज’ को घरेलु मैदान पनि हो । फोर्ब्सका अनुसार सन् २०२५ मा ‘डलास काउब्वायज’ को मूल्य १३ अर्ब अमेरिकी डलर पुगेको छ । फोर्ब्सले यसलाई विश्वकै सबैभन्दा नाफामुखी खेलकुद फ्रेन्चाइजसमेत भनेको छ ।
‘यो रंगशाला मूलतः अमेरिकन फुटबलका लागि प्रयोग हुने हो,’ पोखरेलले भने । ‘विश्वकपका लागि यसलाई फुटबल रंगशालामा रूपान्तरण गरिएको छ । वर्षौंदेखि पेप्सीसँग सहकार्य गर्दै आएको स्टेडियममा अहिले कोकाकोलाले जिम्मेवारी सम्हालेकाले काम निकै व्यस्त छ ।’ कोकाकोलाको ब्रान्डिङ सुनिश्चित गर्नुका साथै उनले दर्शकबाट प्रतिक्रिया संकलन गर्ने जिम्मेवारी पनि सम्हालिरहेका छन् ।
‘अहिले म हप्तामा ४० देखि ५० घण्टासम्म स्टेडियममै बिताउँछु,’ उनले भने । ‘कामका क्रममा एक दिनमै २० देखि २५ किलोमिटरसम्म हिँड्नुपर्ने हुन्छ ।’ विश्वकप नजिकिँदै जाँदा अमेरिकाभरि उत्साह बढ्दै गएको उनको अनुभव छ । ‘रेस्टुरेन्टदेखि बजारसम्म विश्वकपकै चर्चा छ,’ उनले भने, ‘विश्वभरबाट समर्थकहरू आइरहेका छन् । उनीहरूको उत्साह अविश्वसनीय छ । खेल हेर्न हजारौं डलर खर्च गरिरहेको देख्दा कहिलेकाहीँ पत्याउनै गाह्रो हुन्छ । यति ठूलो प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्न पाउनु साँच्चै कल्पना बाहिरको विषय हो ।’
पोखरेलका अनुसार कोकाकोलासँगको उनको सम्झौता १५ जुलाईमा हुने सेमिफाइनल खेलसँगै समाप्त हुनेछ । ‘विश्वकपपछि केही समयका लागि म काठमाडौं जान्छु,’ उनले भने, ‘त्यसपछि अरू थप के गर्ने भन्ने निर्णय लिन्छु होला ।’
अश्विनको कथा कुनै सेलिब्रिटी बन्ने वा चर्चामा आउने कथा होइन । यो निरन्तर मिहिनेत, संघर्ष र अवसरको खोजी गर्दै नेपालबाट विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चसम्म पुगेका एक नेपालीको कथा हो । विश्वकपको चमकधमकबीच उनी मैदानमा होइन, पर्दापछाडि छन् । तर त्यो भूमिकाले पनि विश्व फुटबलको महाकुम्भ सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ ।
