अनुभवी जर्मनीसामु उत्साही कुराकाओ

चारपल्टको विश्वकप विजेता जर्मनी अहिले आफ्नो पुरानो प्रतिष्ठा फर्काउने योजनामा रहनेछ, किनभने यसअघिका दुई संस्करणमा यो टिम लगातार पहिलो चरणबाटै बाहिरिएको थियो ।

जेष्ठ ३१, २०८३

रोयटर्स

An enthusiastic fight against experienced Germany

What you should know

बोस्टन — जर्मनीले विश्वकप २०२६ मा आइतबार कुराकाओको सामना गर्दा टोलीको एकमात्र विकल्प उपलब्ध हुनेछ र त्यो हो, ठूलो अन्तरको जित । चारपल्टको विश्वकप विजेता जर्मनी अहिले आफ्नो पुरानो प्रतिष्ठा फर्काउने योजनामा रहनेछ, किनभने यसअघिका दुई संस्करणमा यो टिम लगातार पहिलो चरणबाटै बाहिरिएको थियो । जर्मनीले सन् २०१४ मा अन्तिम पटक विश्वकप जितेको हो ।

यस्तोमा जर्मनीसामु पाँचौंपल्ट विश्वकप जित्ने अवसर हुनेछ । भलै, जर्मनी आफैंले आफूलाई उपाधिको दाबेदार मान्न सक्ने स्थिति छैन । यस्तोमा यसपल्टको प्रतियोगिताको सुरुमै कुराकाओको सामना गर्नु टोलीलाई सजिलो विकल्प बनेको छ । कुराकाओ त्यही टिम हो, जुन विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो । समूह ‘ई’ मा इक्वडेर र आइभरी कोस्ट पनि छन् । त्यसैले पनि जर्मनीलाई कुराकाओविरुद्ध जित नै आवश्यक हुनेछ ।

प्रशिक्षक जुलियन नागेल्समनको जर्मनी अहिले एक प्रकारको लयमा छ । किनभने टोलीले आफ्नो पछिल्ला ९ खेलमा कुनै हार बेहोरेको छैन । विश्वकप सुरु हुनु अघि खेलेका दुई मैत्रीपूर्ण खेलमा जर्मनीले फिनल्यान्डलाई ४–० र सह–आयोजक अमेरिकालाई २–१ ले हराएको थियो ।

कुराकाओ आफैंमा विश्व फुटबलका लागि नयाँ रहेको छ । टोलीका अधिकांस खेलाडी नेदरल्यान्ड्स वा युरोपको तल्लो डिभिजनका लिगमा खेल्ने गर्छन् ।

तर कुराकाओका भेट्रान प्रशिक्षक डिक एडभोकेट जर्मनीविरुद्धको खेललाई लिएर उत्साही छन् । उनी ७८ वर्षको भइसके र अब विश्वकपका सबैभन्दा पाका प्रशिक्षकको कीर्तिमान राख्ने क्रममा छन् । उनी भन्छन्, ‘पक्कै पनि यो समूहमा जर्मनी सबैभन्दा बलियो टिम हो । अझै पनि जर्मनी फुटबलको महाशक्ति देश हो । यत्तिको टिमविरुद्ध सुरुमै खेल्न पाउनु हाम्रो लागि सौभाग्य हो । यो खेलले हामी वास्तवमै कहाँ छौं भनेर प्रस्ट हुनेछ ।’

एडभोकेटलाई के राम्रोसँग थाहा छ भने दुई टिमबीच स्तरमा ठूलो अन्तर रहनेछ । फेरि अहिलेको जर्मन टिममा काइ हार्भेटेज, फ्लोरेन विर्टज र म्यानुयल नोया जस्ता खेलाडी छन् । यी खेलाडीहरू प्रतियोगितामा जर्मनीको उत्कृष्ट सुरुआत चाहन्छन् । जर्मन राष्ट्रिय टिमका निर्देशक तथा सन् १९९० को विश्वकप च्याम्पियन टिमका सदस्य रुडि भोलर भन्छन्, ‘हामी अहिले उपाधिको बलियो दाबेदार होइनौं, अरू नै ३–४ टिम बलिया छन् ।’

‘हामीलाई प्रतियोगिताको पहिलो खेल जित्नु कति महत्त्वको हुन्छ, त्यो प्रस्ट थाहा छ,’ उनले थपे, ‘हामी यहाँ राम्रो प्रदर्शनकै लागि आएका छौं र कडा प्रतिद्वन्द्वी साबित हुन चाहन्छौं । हाम्रो अहिलेको उद्देश्य भनेको समूह विजेता बनेर नकआउट चरण पुग्ने नै हो ।’ हुन पनि कुराकाओविरुद्ध जितबाहेक अन्य नतिजा आए जर्मनी एकाएक चर्को दबाबमा पनि पर्नेछ । जर्मन टिमका समर्थक चाहन्छन्, कम्तीमा पछिल्ला दुई विश्वकपको जस्तो प्रदर्शन नहोस् ।

भोलर भन्छन्, ‘पछिल्ला दुई मैत्रीपूर्ण खेलमा प्राप्त जितले हामीलाई उत्साहित बनाएको छ । हामी यही लय कायम राख्न चाहन्छौं । फेरि पहिलो खेल जित्दैमा हामी नकआउट चरण पुग्नेछौं भन्ने पनि हुन्न । हामीलाई आफ्नो समूह जित्नु नै छ । यो नै एकमात्र उद्देश्य हो । यो विषयमा टिमभित्र धेरै कुराकानी भएको छैन, तर यो नै एकमात्र विकल्प हो ।’

प्लेयर्स टु वाच

फ्लोरियन विटर्‌ज (जर्मनी)

An enthusiastic fight against experienced Germany

फ्लोरियन विर्ट्ज पहिलो पटक विश्वकपमा खेलिरहेका छन् । एसीएल चोटका कारण घोषित जर्मन टोलीमा भए पनि उनले २०२२ को विश्वकप गुमाएका थिए । २०२१ मा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेयता उनले निकै राम्रो प्रभाव पार्दै आएका छन् । तर जर्मन राष्ट्रिय टोलीबाट उनले आफ्नो पहिलो गोलका लागि २०२४ को मार्चसम्म कुर्नुपरेको थियो । जर्मनीले फ्रान्सविरुद्ध २–० को जित पाएको खेलमा विटर््जले सात सेकेन्डमै गोल गरेका थिए, जुन जर्मन इतिहासकै सबैभन्दा छिटो भएको गोल हो । त्यसयता उनले राष्ट्रिय टोलीबाट ४१ खेलमा ११ गोल गरिसकेका छन् ।

२०२० मा बायर लेभरकुसेनबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेपछि उनी जर्मन फुटबलको निकै ठूलो प्रतिभा बनेका थिए । उनी अहिले जर्मन फुटबलको सबैभन्दा राम्रा एट्याकिङ मिडफिल्डर मानिन्छन् । २०२३–२४ को सिजनमा लेभरकुसेनलाई अपराजित रहेर बुन्डेसलिगा उपाधि दिलाउँदा उनले ४९ खेलमा १८ गोल गरेका थिए । त्यसपछि २३ वर्षे उनी झन्डै १२ करोड युरोमा लिभरपुल गए, जसले उनलाई विश्वकै छैटौं महँगा खेलाडी बनाएको थियो । गत सिजनमा उनले लिभरपुलबाट ३३ खेलमा ५ गोल गरेका थिए ।

रोयटर्स

Link copied successfully