विश्वकप यात्राको पहिलो खेल र पहिलो अंकको खोजीमा क्यानडा

टोरन्टो स्टेडियममा फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा शुक्रबार राति क्यानडाले बोस्निया–हर्जेगोभिनालाई स्वागत गर्दैछ ।

जेष्ठ २९, २०८३

सुवास रोकाया

Canada in search of first game and first point of World Cup journey

What you should know

काठमाडौँ — क्यानडाको टोरन्टोस्थित टोरन्टो स्टेडियम शुक्रबार राति एउटा ऐतिहासिक क्षणको साक्षी बन्दैछ । पुरुष विश्वकप फुटबलको इतिहासमा क्यानडाको माटोमा आयोजना हुन लागेको पहिलो र ऐतिहासिक खेल यसै स्टेडियममा हुँदैछ । क्यानडा विश्वकप इतिहासको पहिलो अंकको खोजीमा बोस्निया–हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्नेछ । खेलअघि हुने विशेष उद्‌घाटन समारोहले क्यानडामा विश्वकपलाई भव्यरुपमा स्वागत गर्नेछ । 

टोरन्टो स्टेडियममा फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा आज राति क्यानडाले बोस्निया–हर्जेगोभिनालाई स्वागत गर्दैछ । पुरुष विश्वकप इतिहासमा क्यानडाले आयोजना गर्न लागेको यो नै  पहिलो खेल हो । सह-आयोजक क्यानडा पहिलो ऐतिहासिक घरेलु विश्वकप यात्रामा पहिलो अंकको खोजीमा छ । युरोपेली धरातलबाट उदाएको बोस्निया हर्जेगोभिना आत्मविश्वास र धैर्यको नयाँ परिभाषा लिएर मैदानमा उत्रदैछ ।

क्यानडा, जसले सह-आयोजकका रूपमा स्वतः विश्वकप प्रवेश पाएको हो, यसपटक अपेक्षाको भारी बोकेर उभिएको छ । यसअघि खेलेका २ विश्वकपमा उसले कुनै पनि अंक जोड्न सकेको छैन । ६ खेलमा लगातार हारको तीतो अनुभवबीच प्रशिक्षक जेसी मार्सको नेतृत्वमा क्यानडाले सन् २०२६ मा कुनै खेल हारेको छैन । लगातार ८ खेलमा अपराजित क्यानडाको ठूलो अस्त्र रक्षात्मक मजबुती हो । पछिल्ला ८ खेलमध्ये ६ खेलमा क्लिनसिट राख्नुले टोलीको अनुशासन र सन्तुलित खेलशैलीको प्रमाण पेश गर्छ । 

कप्तान अल्फोन्सो डेभिसले चोटका कारण यो खेल गुमाउने सम्भावना छ । क्यानडाका लागि विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी डेभिसको उपस्थितिले टिमलाई पक्कै पनि दबाब दिनेछ । तर, गोलकिपर म्याक्सिम क्रेपो र स्ट्राइकर जोनाथन डेभिड, साइल लारिन र जोनाथन ओसोरियो जस्ता अनुभवी खेलाडीहरू क्यानडाको भरोसा बन्नेछन् । विशेषतः जोनाथन डेभिड आफ्नो ४०औं अन्तर्राष्ट्रिय गोल गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गर्ने लक्ष्यमा छन् ।

अर्कोतर्फ, बोस्निया–हर्जेगोभिनाको यात्रा संघर्ष, धैर्य र अप्रत्याशित सफलताले भरिएको छ । इटाली र वेल्सजस्ता बलिया राष्ट्रहरूलाई पेनाल्टीमा पराजित गर्दै विश्वकपमा स्थान बनाउनु उसका लागि गर्वको विषय हो । सन् २०१४ मा विश्व कपमा डेब्यू गरेको बोस्निया–हर्जेगोभिनाका लागि यो दोस्रो विश्वकप सहभागिता हो । २०१४ मा केवल १ अंकले पछि पर्दा उ नकआउट चरणमा पुग्न चुकेको थियो । प्रशिक्षक सर्जे बार्बारेजको नेतृत्वमा बोस्नियाले पछिल्ला ८ खेलमा अपराजित यात्रा कायम राखेको छ । उसको रक्षात्मक संरचना अत्यन्त मजबुत देखिएको छ ।

आक्रमणतर्फ उसको खेल अझै संयमित र दोस्रो हाफमा केन्द्रित देखिन्छ । पानामाविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका निकोला काटिच आज पनि निर्णायक बन्न सक्छन् । यद्यपि, टोलीका मुख्य स्ट्राइकर हारिस ताबाकोभिच र कप्तान एदिन जेकोको फिटनेसलाई लिएर चिन्ता कायमै छ । अन्तिराष्ट्रिय फुटबलमा २ टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् । टोरन्टो स्टेडियममा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेलमा कसले बाजी मार्ला ?

सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Link copied successfully