एसियन गेम्स ट्वान्टी-२० छनोटमा च्याम्पियन बन्यो नेपाल

सिंगापुरमा भएको प्रतियोगिताको फाइनल वर्षाले प्रभावित भएपछि नेपालले डक वर्थ लुइस पद्धतिका आधारमा हङकङमाथि १९ रनको जित हात पारेको हो ।

जेष्ठ २५, २०८३

विनोद पाण्डे

Nepal becomes champion in Asian Games Twenty20 qualifiers

What you should know

काठमाडौँ — नेपालले एसियन गेम्स पुरुष ट्वान्टी–२० छनोट प्रतियोगिताको उपाधि जितेको छ । सिंगापुरमा भएको प्रतियोगिताको फाइनल वर्षाले प्रभावित भएपछि नेपालले डक वर्थ लुइस पद्धतिका आधारमा हङकङमाथि १९ रनको जित हात पारेको हो । 

१ सय ८९ रनको लक्ष्य पाएको नेपालले सिंगा ओभल मैदानमा ११.३ ओभरमा २ विकेट गुमाई १ सय १४ रन बनाएको समयमा फाइनल खेल वर्षाले प्रभावित हुन पुगेको थियो । सो समयमा नेपाल डक वर्थ लुइस पद्धतिका आधारमा अगाडि भएपछि विजेता बनेको हो । 

खेल रोकिँदा रोहित पौडेल ३५ र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो १ सय खेल खेलिरहेका कप्तान दीपेन्द्रसिंह ऐरी ९ रन बनाई क्रिजमा थिए । पूर्व कप्तान रोहितले २४ बल खेली ३ चौका र १ छक्का तथा दीपेन्द्रले ४ बल खेली १ चौका प्रहार गरेका थिए ।

कुशल भुर्तेलले नेपाललाई पुनः उत्कृष्ट सुरुआत दिलाएका थिए । कुशलले आक्रामक इनिङ्स खेलिरहँदा तेस्रो ओभरको अन्तिम बलमा पहिलो पटक स्ट्राइकमा आएका आसिफ शेख शून्यमा आयुष शुक्लाबाट बोल्ड भए । यस प्रतियोगितामा दुई शतक बनाएका भुर्तेलले ४० बल खेली ८ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन बनाए । 

नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले र हङकङले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले समूहचरणमा चीनलाई २ सय २१ रनले र मलेसियालाई १ सय ६७ रनले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । नेपाल सेमिफाइलन पुगेसँगै सेप्टेम्बर–अक्टोबरमा जापानको नागोयामा हुने एसियन गेम्सलाई छनोट भइसकेको थियो । 

नेपालसहित हङकङ, मलेसिया र ओमानले एसियन गेम्समा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । 

Nepal becomes champion in Asian Games Twenty20 qualifiers

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय रन ८८ बनाएको हो । ओपनर अंशुमन रथले हङकङबाट सर्वाधिक ८० रन बनाए । उनले ४५ बल खेली समान ६ चौका र छक्का प्रहार गरे । रथ १६ औं ओभरमा आउट हुँदा हङकङले १ सय ५६ रन जोडिसकेको थियो । उनका ओपनर जोडी निजाकत खान २ रन बनाई शेर मल्लको बलमा आउट भए । 

पूर्व कप्तान बाबर हायत शून्यमा आउट भए पनि रथले शिव माथुरसँग तेस्रो विकेटमा ४८ र सहिद वासिफस“ग पा“चौं विकेटमा ३९ बलमा ८४ रनको साझेदारी गरे । वासिफले २८ बल खेली ७ चौका र ३ छक्का प्रहार गरी ५५ रन बनाए । 

कप्तान यासिम मुर्ताजा ९, नसरुल्ला राना ८ रनमा आउट भए । रथसहित निजाकत, माथुर र वासिफलाई आउट गरी शेरले नेपालबाट सर्वाधिक ४ विकेट लिए । उनले सोक्रममा ४ ओभरमा ३२ रन दिएका थिए । करण केसीले ४ ओभरमा ४५ रन खर्चेर २ र सन्दीप लामिछानेले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंहले ४ ओभरमा २८ रनमात्र खर्चे पनि कुनै विकेट लिन सकेनन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully