मधेसको आक्रामक ब्याटिङमा कर्णालीको दोस्रो हार, सुदूरपश्चिमको लगातार तेस्रो जित

यू–१९ महिला राष्ट्रिय प्रतियोगितामा कर्णालीले मधेशसँग ९ विकेटले पराजयपछि लगातार दोस्रो हार बेहोरेको छ भने सुदूरपश्चिमले तेस्रो जित हात पार्दै शीर्षमा उक्लिएको छ।

जेष्ठ २५, २०८३

ज्योति कटुवाल

Karnali's second defeat in Madhes' aggressive batting, Sudurpaschim's third consecutive win

What you should know

सुर्खेत — घरेलु टोली कर्णाली प्रदेशले यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ।

सोमबार कालुङचोक मैदानमा भएको खेलमा मधेश प्रदेशले कर्णालीलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।

यता, सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जितसहित उपाधि दाबेदारी बलियो बनाएको छ। पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ४ विकेट गुमाएर १०३ रन बनाएको थियो। जवाफमा मधेसले ९.१ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित हात पारेको हो।

कर्णालीका लागि कप्तान तिर्सना विश्वकर्माले अविजित ४९ रनको उत्कृष्ट पारी खेलिन्। उनले ६५ बलमा ३ चौका प्रहार गरिन्। उमा चौधरीले ३३ बलमा ४ चौकासहित २९ रन जोड्दै कप्तानलाई साथ दिइन्। दुवैले चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। कर्णालीको सुरुआत भने निकै कमजोर रह्यो।

ओपनर सरिता विष्ट १ रनमा रनआउट भइन् भने अर्की ओपनर सोविता शाही शून्यमै आउट भइन्। शिखा दुवाडी पनि ५ रनमा फर्किएपछि संकटमा परेको कर्णालीलाई तिर्सना र उमाले सम्हालेका थिए। मधेसका लागि ओपनर सना प्रविन र अलिशा यादवले आक्रामक ब्याटिङ गर्दै जितको आधार तयार पारे। सनाले २१ बलमा ९ चौकासहित अविजित ४४ रन बनाइन् भने अलिशाले ३३ बलमा ८ चौका र १ छक्काको मद्दतमा ४७ रन जोडिन्। दुवैले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे। अलिशालाई आठौं ओभरमा समीक्षा बिसीले एलबीडब्लू आउट गरिन्।

सुदूरपश्चिमको लगातार तेस्रो जित
वीरेन्द्रनगरस्थित मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५ विकेट गुमाएर १४१ रन बनाएको थियो। उसका लागि ओपनर अञ्जी पाठकले ७६ रनको उत्कृष्ट पारी खेलिन् भने आशना चौधरीले २४ रन योगदान गरिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

१४२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका ओपनरहरूले नै जितको आधार तयार पारे। सावित्री धामी र करुणा विष्टले पहिलो विकेटका लागि १३२ रनको साझेदारी गरे। प्लेयर अफ द म्याच सावित्री धामीले ४५ बलमा ११ चौका र १ छक्कासहित अविजित ७६ रन बनाइन्। करुणा विष्टले ४० बलमा ४ चौकासहित ४५ रनको योगदान दिइन्। सुदूरपश्चिमले लक्ष्य १७.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।

प्रतियोगितामा यसअघि कोशीलाई ८९ रन र बागमतीलाई पराजित गरिसकेको सुदूरपश्चिमले लगातार तेस्रो जितसँगै ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा आफ्नो पकड बलियो बनाएको छ। मधेसले लगातार दोस्रो जितसँगै ४ अंक जोडेको छ भने कर्णाली लगातार दोस्रो हारपछि दबाबमा परेको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully