राष्ट्रिय विद्यालय क्रिकेटमा भीमसेन आदर्श गण्डकी च्याम्पियन

टस जितेर पहिले ब्याटिङ रोजेको भीमसेन आदर्शले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रनको बलियो योगफल खडा गरेको थियो । १ सय ६५ रनको लक्ष्य पछ्याएको स्याङ्जाको भगवती माध्यमिक विद्यालय १९ ओभरमा ९६ रनमै समेटिन पुग्यो ।

जेष्ठ २५, २०८३

दीपक परियार

Bhimsen Adarsh ​​Gandaki is the champion in the National School Cricket.

What you should know

पोखरा — नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालयले गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको उपाधि हात पारेको छ ।

सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा स्याङ्जाको भगवती माध्यमिक विद्यालयलाई ६८ रनको फराकिलो अन्तरले पराजित गर्दै भीमसेन आदर्श च्याम्पियन बनेको हो । ‍टस जितेर पहिले ब्याटिङ रोजेको भीमसेन आदर्शले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रनको बलियो योगफल खडा गरेको थियो ।

१६५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको स्याङ्जाको भगवती माध्यमिक विद्यालय १९ ओभरमा ९६ रनमै समेटिन पुग्यो । भगवती माविका लागि भुवन डुम्रेले सर्वाधिक ४९ रनको इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ४३ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यसबाहेक अनुजबाबु अर्यालले १३ रन र स्माइल भट्टराईले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । भगवती माविलाई सस्तैमा समेट्ने क्रममा भीमसेन आदर्शका बलर आयान भूर्तेलले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए ।

किफायती बलिङ गरेका सुशील भुसालले ४ ओभरमा २ मेडनसहित मात्र ७ रन खर्चेर २ विकेट लिए भने शैलेश काफ्लेले २ र रिदम रिजालले १ विकेट आफ्नो नाममा गरे । सुरुआती ओभरदेखि नै संकटमा परेको भगवती माविले पहिलो ओभरको पहिलो बलमै खाता नखोली पहिलो विकेट गुमाएको थियो । लगातार विकेट पतनको सिकार भएको स्याङ्जाको टोलीले ६ ओभरभित्रै २१ रन जोड्दा ५ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो, जसका कारण टोली सम्हालिन सकेन ।

भीमसेन आदर्शका लागि पंकज यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ५ चौका र ४ छक्काको मद्दतले ६७ रन बनाएका थिए । उनले प्लेयर अफ द म्याचको उपाधिसमेत जिते । शैलेश काफ्लेले अविजित ३० तथा सुशील भुसालले २० रनको योगदान दिए ।

विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले ट्रफी तथा मेडल प्रदान गरे । जितसँगै नवलपुरको भीमसेन आदर्शले राष्ट्रिय प्रतियोगितामा गण्डकीको प्रतिनिधित्व गर्नेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully