पुरुष ५० केजी तौल समूहमा लुम्बिनीका बिशन थापा मगरले कर्णालीका सुरज यादव तथा कोशीका बादल लिम्बूले सुनिल बिष्टलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।
What you should know
काठमाडौँ — वादोरियो कराते डो संघको आयोजनामा पाँचौं राष्ट्रिय वादोरियो कराते प्रतियोगिता आइतबार सुरु भएको छ ।
पुरुष ५० केजी तौल समूहमा लुम्बिनीका बिशन थापा मगरले कर्णालीका सुरज यादव तथा कोशीका बादल लिम्बूले सुनिल बिष्टलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।
पुरुष ५५ केजी तौल समूहमा लुम्बिनीका कृष्ण चिढी र कोशीका अरुण लिम्बू फाइनलमा प्रवेश गरेका छन् । कृष्णले शिवराम मदै र अरुणले बागमतीका समीर घलानलाई पराजित गरे । ४५ केजी तौल समूहमा सुदूरपश्चिमका रोशन श्रेष्ठले स्वर्ण, मधेसका रिजन बुढा मगरले रजत तथा लुम्बिनीका सुमन पञ्चभैया र गण्डकीका सन्देश रोकाले कास्य पदक जितेका छन् ।
महिला ४५ केजी तौल समूहमा लुम्बिनीकी सुसियन गुरुङ स्वर्ण, कोशीकी गरिता राजवंशी रजत तथा बागमतीकी ओसिका शर्मा र कर्णालीकी सुमना तोलाङ्गी कांस्य पदक जित्न सफल भए ।
महिला ४५ केजीमाथि गण्डकीकी करुणा गदालले स्वर्ण, बागमतीकी मनसुला थापाले रजत तथा लुम्बिनीकी ममता थापा क्षेत्री र मधेशकी स्मृति सुनारले कांस्य पदक जितेका छन् ।
महिला ५० केजी तौल समूहमा मधेशकी अनु मोक्तानले बागमतीकी प्रास्ना केसीलाई पराजित गर्दै स्वर्ण जितिन् । गण्डकीकी मनिषा कार्की र कोशीकी अर्पणा मगर कांस्य पदक जिते ।
महिला ५५ केजी तौल समूहमा मधेशकी सलिना तुलाधरले लुम्बिनीकी दुर्गा पौडेल र कर्णालीकी सलिना पहरीले कोशीकी रिस्ता तामाङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।
पुरुष ६० केजी तौल समूहमा बागमतीका बरदान मोक्तान र कोशीका अंकित लिम्बू फाइनलमा पुगेका छन् । बरदानले सुदूरपश्चिमका अजय मङ्ग्राती र अंकितले अनुप उपरकोटीलाई पराजित गरेका हुन् ।
महिला ६० केजी तौलमा मधेशकी सन्जिता तामाङले स्वर्ण, लुम्बिनीकी जस्मिन कुँवरले रजत तथा कर्णालीकी रोजिना तामाङ र बागमतीकी रञ्जना चाम्लिङले कांस्य पदक जितेका छन् ।
एकल काता पुरुषतर्फ लुम्बिनीका आयुष खनालले स्वर्ण, मधेशका अश्विन पुन मगरले रजत तथा गण्डकीका विवेक मगर र कोशीका इन्द्रप्रसाद राजवंशीले कांस्य पदक जितेका छन् ।
महिला एकल कातातर्फ लुम्बिनीकी श्रेया थापा मगरले स्वर्ण, गण्डकीकी प्रशंसा पहरीले रजत तथा मधेशकी स्मृति थापा र बागमतीकी सुमिना तामाङले कांस्य पदक जितेका छन् ।
वादोरियो कराते प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले उद्घाटन गरेकी थिइन् ।
प्रतियोगितामा सातै प्रदेशका गरी १ सय ५० खेलाडीको सहभागिता रहेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जानकारी गराए ।
संघका प्रमुख प्रशिक्षक हरिशरण केसीका अनुसार हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रिय प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो । प्रतियोगितामा १४ इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ।
आयोजकका अनुसार प्रतियोगिताका बाँकी प्रतिस्पर्धा सोमबार हुनेछ । राष्ट्रियस्तरको यस प्रतियोगिताले करातेको विकास, खेलाडीको प्रतिभा पहिचान तथा प्रदेशस्तरीय खेलकुद प्रतिस्पर्धालाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।
