‘नयाँ उज्वेकिस्तान’ को फुटबल गति

फुटबलको बढ्दो लोकप्रियतासँगै उज्वेकिस्तान विश्वकपमा पहिलो पटक सहभागी हुँदै छ र प्रशिक्षक कानाभारो तथा युवा खेलाडीहरूको जोश साथ मैदान उत्रँदै छ।

जेष्ठ २३, २०८३

एएफपी

The football momentum of the 'new Uzbekistan'

What you should know

तास्केन्द — उज्वेकिस्तानले यसपल्टको विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाउँदै छ । टोलीलाई समर्थकबाट दबाब छैन । विश्वकपमा छनोट भएयता उज्वेकिस्तानी खेलाडी सबै नायक भएका छन् । उनीहरूलाई माग निर्देशन दिने बालोन डी’अर विजेता तथा विश्व च्याम्पियन खेलाडी फाबिनो कानाभारो छन् । जुन १७ को पहिलो खेलमा उज्वेकिस्तानले कोलम्बियाको सामना गर्नेछ । खेल हुनेछ, मेक्सिको सिटीमा ।

यसबीच मध्य एसियाली देशमा अहिले फुटबलको लोकप्रियता बढ्दो छ । गत महिना राजधानी तास्केन्दमा भएको एउटा मैत्रीपूर्ण खेलका क्रममा २२ वर्षीय समर्थक अब्दुसइद रुजिमाटोभ भन्छन्, ‘पछिल्लो समय हामी एसियाकै सबैभन्दा उत्कृष्ट टिम रहेका छौं । राष्ट्रिय टिम मात्र होइन, उमेर समूहमा पनि हामी च्याम्पियन रहेका छौं ।’

उज्वेकिस्तानी टिमलाई प्रायः ‘ह्वाइट उल्भस’ भनिन्छ र यसले खेलेको प्रदर्शन खेल हेर्न पनि ३० हजार दर्शक राष्ट्रिय रंगशालामा आएका थिए । उज्वेकिस्तानले यू–२३, यू–२० र यू–१७ मा एसिया कप जितिसकेको छ । यस्तै राष्ट्रिय टिम पनि एसियाली फुटबलको शक्ति बनिरहेको छ । राष्ट्रपति साभ्कात मिर्जियोयेभले नयाँ नारा दिएका छन्, ‘नयाँ उज्वेकिस्तान’ । यससँग फुटबल पनि अगाडि बढिरहेको छ ।

राष्ट्रपतिले सोभियत संघको पूर्व देशलाई स्वतन्त्र र उदार बनाउन खोजिरहेका छन् । उनी सत्तामा आएको पनि एक दशक भइसकेको छ । उनले विदेशी लगानीलाई स्वागत गरेका छन् । सीमामा कडाइ गर्न छाडेका छन् । देशलाई विश्वस्तरमा चिनाउने प्रयास गरेका छन् । उज्वेकिस्तानको यसपल्टको विश्वकपमा छनोट हुनु पछाडि एउटा ठोस कारण छ, सहभागी देशको संख्या ३२ बाट ४८ पुग्नु ।

तर यो नै सबथोक पनि होइन । किनभने उज्वेकिस्तानको फुटबल स्तर वास्तवमै बढेको छ । अहिले उज्वेकिस्तानको फिफा वरीयता ५० औं स्थानमा छ । सरकारले नै युवा खेलाडी उत्पादन परियोजनामा लगानी गरिरहेको छ । दशक लामो सरकारको नीति नै फुटबल विकास रहेको छ । उज्वेकिस्तान देश आफैं पनि युवामय छ, किनभने तीन करोड ७० लाख जनसंख्यामध्ये एक तिहाई २० वर्षमुनिका छन् ।

तास्केन्दका ५७ वर्षीय चिकित्सक बेकमोर्ड खायाडारोभ भन्छन्, ‘हाम्रो राष्ट्रिय टिमको सबैभन्दा बलियो पक्ष भनेकै डिफेन्स छ । कानाभारो आफैं खेलाडी छँदा डिफेन्डर थिए । त्यसैले पनि उनले डिफेन्समा बढी जोड दिएका छन् । मलाई के विश्वास छ भने हाम्रो रक्षापंक्ति तोड्न सजिलो हुने छैन ।’ गत वर्ष उनलाई प्रशिक्षक पदमा नियुक्त गरिएको थियो । उनकै नेतृत्वमा सन् २००६ मा विश्वकप जितेको थियो ।

उनले अबको विश्वकपमा उज्वेकिस्तानको लक्ष्य यही हो भनेर भनेका पनि छैनन् । उनीको भनाइ छ, ‘उज्वेकिस्तान पहिलो पटक विश्वकप खेल्दै छ । त्यसैले खेलाडीमाथि अनावश्यक दबाब सिर्जना गर्नुहुन्न । मलाई लाग्छ, पूरा देशले आफ्ना खेलाडीलाई विश्वकपमा रमाएर खेल्न छुट दिएको छ ।’ तथ्यांक तयार पार्ने संस्था ओप्टाले उज्वेकिस्तान समूह चरण पारेर नकआउटमा पुग्ने प्रतिशत १२ मानेको छ ।

उज्वेकिस्तानले विश्वकप जित्ने बाजी भने २०००–१ रहेको छ । यही उज्वेकिस्तानले विश्वकप जित्छ भने त्यो सनसनीपूर्ण ‘अपसेट’ नतिजा हुनेछ । कानाभारोले भने सन् २०२७ को एसिया कपलाई प्रमुख लक्ष्य बनाएका छन् । उनी भन्छन्, ‘हामीले अबको विश्वकपमा राम्रो गर्न सक्यौं र बलियो अनुभव बटुल्न सक्यौं भने एसिया कपमा हामीले पेस गर्ने चुनौती दरिलो नै हुनेछ ।’

कोलम्बियापछि उज्वेकिस्तानले पोर्चुगल र कंगोको सामना गर्नेछ । यो समूह ‘के’ को खेल हो । उज्वेकिस्तानी टिमका सबैभन्दा स्टार खेलाडी हुन्, डिफेन्डर अब्दुकोडिर खुसानोभ । उनी म्यानचेस्टर सिटीबाट खेल्छन् । फरवार्ड एल्डोर सोमुरोडोभ र आक्रामक मिडफिल्डर अबोबेक फयजुलेभ दुवै विदेशी लिगमा खेल्छन् । बाँकी खेलाडी भने खासै चर्चा नहुने घरेलु लिगबाट खेल्छन् ।

विश्वकप छनोट र फुटबलको बढ्दो लोकप्रियतामा सरकार आफैं पनि खुसी छ । राष्ट्रपति मिर्जियोयेभले गत महिना खेलाडीसँगको भेटघाटमा भनेका थिए, ‘हाम्रा खेलाडी वास्तवमै देशका नायक हुन् । उनीहरूले देशको इतिहासमै नयाँ अध्याय थपेका छन् । उनीहरूले आम जनतालाई खुसी दिएका छन् । युवापुस्ताका लागि खेलाडी पछ्याउन लायक उदाहरण बनेको छ ।’

एएफपी

Link copied successfully