न्यून स्कोरमा समेटिएको नेपालको नमिठो हार

१ सय १० रनको लक्ष्य पछ्याएको नेपाल क्वालालम्पुरस्थित कोलेज टुएन्कु जाफर ओभलमा केवल १३.३ ओभर खेली ४० रनमा अलआउट भयो । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा न्यून स्कोर हो ।

जेष्ठ २३, २०८३

विनोद पाण्डे

Nepal's bitter defeat, contained in a low score

What you should know

काठमाडौँ — नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा हङकङसँग नमिठो हार बेहोरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा हङकङले शनिबार नेपाललाई ६९ रनले पराजित गरेको हो । 

१ सय १० रनको लक्ष्य पछ्याएको नेपाल क्वालालम्पुरस्थित कोलेज टुएन्कु जाफर ओभलमा केवल १३.३ ओभर खेली ४० रनमा अलआउट भयो । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा न्यून स्कोर हो । 

सन् २०१९ मा पोखरामा भएको दक्षिण एसियाली खेलकुदमा बंगलादेशसँग र २०२३ मा मलेसियासँग बाङ्गीमा गरी दुवै पटक नेपाल ५० रनमा अलआउट भएको थियो, जुन नेपालको महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यसअघिको न्यून स्कोर थियो ।

नेपालले पहिलो दिनको खेलमा बुधबार चीनलाई ८ विकेटले र बिहीबार भुटानलाई ५१ रनले पराजित गरेको थियो । तर, हङकङसँगको हारपछि नेपाल समूह ‘डी’ को उपविजेता बनेको छ । नेपाललाई हङकङले समूहमा उछिनेको छ । नेपाल र हङकङ यसअघि नै क्वार्टरफाइनल पुगिसकेका थिए । 

नेपालले निकै खराब सुरुआत गरेको थियो । पहिलो ओभरमै ओपनर विन्दु रावल आफूले सामना गरेको पहिलो बलमै आउट भइन् । अर्का ओपनर सम्झना खड्काले पनि ३ रनमात्र बनाउन सकिन् । उपकप्तान पूजा महतोले पनि खाता खोल्न सकिनन् । शून्यमा आउट हुने तेस्रो खेलाडी थिइन्, रुबि पोदार । 

विन्दु, पूजा र रुबिपछि हङकङकी इक्रा सहरले कप्तान इन्दु बर्मालाई पनि आउट गरिन् । इन्दुले ६ रनमात्र बनाउन सकिन् । सहरले ४ ओभरमा ४ रनमात्र खर्चेर ४ विकेट लिइन् । सोनी पाख्रिन २३ बल खेली १२ र रुबिना क्षेत्री १२ बल खेली १० रनमा आउट भए । दुवैले समान २ चौका प्रहार गरेका थिए । 

सीता रानामगर र रिया शर्माले पनि १–१ रनमात्र बनाउन सके । मनीषा उपाध्याय नेपाली इनिङ्समा शून्यमा आउट हुने चौथो खेलाडी बनिन् । कविता कुँवर ८ बल खेली ४ रन बनाई अविजित रहिन् । सहरबाहेक हङकङबाट चान केरी र मारयम बिबीले २–२ विकेट लिए । 

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९ रन बनाएको थियो । कप्तान एवं ओपनर नताशा मिल्स ६ रनमै रन आउट भइन् । अर्की ओपनर मारिको हिलले २९ रन बनाइन् । उनले ३६ बल खेली ४ चौका प्रहार गरिन् । 

यास्मिन दासवानी ४२ रनमा अविजित रहिन् । उनले ४४ बल खेली २ चौका प्रहार गरेकी थिइन् । चान केरी ८ बल खेली १ छक्का प्रहार गरी ११ रनमा आउट भइन् । मारिना लाम्पल्घ १८ बल खेली २ चौका प्रहार गरी १८ रनमा अविजित रहिन् । नेपालबाट रुबिनाले ४ ओभरमा २० र रिया शर्माले ४ ओभरमा २७ रन खर्चेर १–१ विकेट लिइन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully