जित्ने लय गुमाएको महिला फुटबल : समस्या मैदानभित्र कि बाहिर ?

सन् १९८६ देखि अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको नेपालले एउटै प्रतियोगिता जित्न सकेको छैन, अब त खेलमा गोलसंख्यामा पनि कमी आउन थालेको छ।

जेष्ठ २२, २०८३

हिमेश

Women's football losing its winning streak: Is the problem on or off the field?

What you should know

गोवा, भारत — नेपाली महिला फुटबल टोलीले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । यसपालिको साफ च्याम्पियनसिप पनि अपवाद हुन सकेन । अझ यसपल्ट त नेपाल सेमिफाइनलमै रोकियो । त्यसको अर्थ नेपालले आफ्नो सदाबहार उत्कृष्ट दोस्रो टिमको छवि पनि गुमाएको छ । वुमन्स साफ च्याम्पियनसिप इतिहासमा नेपाल सेमिफाइनलमै रोकिएको यो दोस्रो पटक मात्र हो । यसअघि सन् २०१६ पछि पहिलो पटक अन्तिम चारमै रोकिएको थियो । 

त्यसैले नेपाली महिला राष्ट्रिय टिमको यसपालिको भारत भ्रमण विश्लेषण गर्ने हो यसलाई असफल मान्नुपर्ने हुन्छ । यसको असर टिममा कति धेरै थियो भने खेलपछि खेलाडीहरूले जवाहरलाल नेहरु स्टेडियम छाड्दा सबैको शिर झुकेको थियो । कोही पनि एक आपसमा बोलिरहेका थिएनन् । विशेषतः प्रशिक्षक नवीन न्यौपाने स्तब्ध जस्तै देखिए । अरू बेला अलिकति लजाएर जहिल्यै मुहारमा हाँसो देखाउने ‘भलाद्मी प्रशिक्षक’ न्यौपाने पनि अवाकजस्तै थिए । 

यस्तोमा प्रश्न हुन्छ, भयो के त ? सन् १९८६ देखि नेपालले अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको हो भने अब यसले चार दशक छुने क्रममा छ । अहिलेसम्म यस अवधिमा नेपालले एउटै प्रतियोगिता जित्न सकेको छैन । अधिकांश समय टिमको नियति भन्नु नै फाइनल पुगेर हार्नु मात्र रहेको छ । सम्भवतः पछिल्ला तीन संस्करण घरमै हुँदा नेपालसामु उपाधि जित्ने बलियो अवसर थियो । अझ काठमाडौंमै भएका दुई संस्करण नेपालले जित्नुपर्ने नै थियो । 

तर नेपाल निर्णायक नकआउट चरणको खेलमा लगातार पराजित छ । अब भने के लाग्न थालेको छ भने यसले टिममा एक प्रकारको दबाब सिर्जना गर्न थालेको छ । यो मानसिक र शारीरिक दुवै खाले रहेको छ । अब भने उपाधि जित्न नसक्ने ‘जिंक’ ले नेपाली टिमलाई नै पिरोल्न थालेको छ । प्रत्येक प्रतियोगिताअघि टिमको एउटै दाबी रहने गरेको छ, नेपाल उपाधि जित्नका लागि आएको हो । अब सायद यो मानसिकताबाट मुक्त हुनु आवश्यक छ । 

प्रत्येक चरणका लागि नयाँ लक्ष्य हुनुपर्ने देखिन्छ । भारत उड्नु अगाडि नेपालको तयारी नै कहाँ राम्रो रह्यो र ? घरेलु फुटबल विवादका कारण टिमको तयारी नै ठीकसँग भएन भन्दा हुन्छ । यसमा दोष धेरै हदसम्म फुटबलको सर्वोच्च निकाय एन्फाको संस्थापन पक्षको पनि रह्यो । तर विरोधी पक्षले पनि महिला टिमको तयारीमा बाधा पुग्नु हुन्न र प्रशिक्षण कार्यक्रम सुमधुर हुनुपर्छ भनेर कहिल्यै भनेनन् । सायद नेपाली फुटबल मैदानी खेलमा भन्दा बढी मैदानबाहिरको राजनीतिमा केन्द्रित हुन थालेको छ । 

नेपाली महिला टिमका खेलाडीलाई अनौपचारिक रूपमा कुराकानी गर्ने हो भने सबैले यो तथ्यमा असन्तोष जनाउन थालेका छन् । धेरैको एउटै भनाइ छ, फुटबल राजनीति आफ्नो ठाउँमा छ, तर त्यसको असर हाम्रो खेलमा किन त ? भारत उड्नुअघि नेपालले कुनै मैत्रीपूर्ण खेल पनि खेलेन । अझ थाइल्यान्डमै भएको फिफाको एउटा औपचारिक प्रतियोगिता पनि गुमाएको थियो । यो तथ्यमा नेपाली खेलाडीले हाकाहाकी निराशा व्यक्त गरेका थिए । 

पछिल्लो पाँच वर्षमा नेपाली टिमको वास्तविक कप्तान को हुन् भनेर पनि अन्योल छाउन थालेको छ । अझ भनौं, कप्तानी विवादले पनि टिममा असर परे देखिन्छ । यो यस्तो मुद्दा हो, जसको समाधान जतिसक्दो चाँडै गर्नुपर्छ । अब त्यस्तो खेलाडीलाई कप्तान नबनाऔं, जसको सुरुआती ११ मा स्थान निश्चित नहोस् । अहिलेका कप्तान एन्जिला सुब्बाले सन् २०२२ मा पहिलो पटक टिमको नेतृत्व पाएकी थिइन्, जतिबेला प्रशिक्षक कुमार थापाले उनलाई यो अवसर साफ च्याम्पिनयसिपमै दिएका थिए । 

त्यसपछि विवादास्पद स्थितिमा प्याट्रिक डे वाइल्डले कप्तानी भूमिका सावित्रा भण्डारीलाई दिए । जति बेला एन्जिला र सावित्रा भएनन्, कप्तान कसलाई दिने भन्ने काम सजिलो छ, किनभने टिममा अनुभवी रेनुका नगरकोटेका रूपमा एउटा खेलाडी छँदै छ । यहाँनिर यी तीनै खेलाडीको न आलोचना आवश्यक छ न त तिनले टिममा पुर्‍याएको योगदानप्रति शंका छ । कुरा यत्ति हो, कप्तान तिनै खेलाडी हुनुपर्छ, जो निर्विवाद रूपमा पहिलो रोजाइको खेलाडी हुनुपर्छ । 

वर्तमान टिम संरचनामै फर्कने हो भने यसको अग्रपंक्ति र रक्षापंक्तिबारे पनि पुनर्विचार आवश्यक छ । पछिल्लो समय जहाँ नेपाली टिमको डिफेन्समा केही खास–खास कमजोरी देखिन थालेका छन्, त्यहीं अग्रपंक्तिले गोल निकाल्न बिर्सिए जस्तो देखिन्छ । धेरैले प्रश्न गर्न थालेका छन्, गोल कता हरायो ? यसपल्टको साफमा नेपालको कमजोर प्रदर्शनको एउटा ठोस कारण सावित्राको अनुपस्थिति प्रशिक्षक न्यौपानेले स्पष्ट रूपमै मानेका छन् । 

तिनै प्रशिक्षक न्यौपानेको नेतृत्वमा नेपालले ७ खेल खेलेको छ । त्यसमा ४ हार रहेको छ अनि तीन जितमात्रै । राष्ट्रिय टिमको प्रदर्शनमा जितमाथि हारको प्रतिशत बढेको स्थिति हो यो । यसबीच नेपालले ७ गोल गरेको छ, त्यहीं ९ गोल खाएको छ । यसले तथ्यले पनि भन्छ, टिममा पक्कै केही समस्या छ । प्रशिक्षक न्यौपानेले पनि लाचारी देखाएका छन्, गोल नै हुन सकिरहेको छैन । 

नेपाली टिम गोवाबाट फर्किनेबित्तिकै आलोचना मात्र गरेर समाधान हुने चाहिँ केही होइन । नेपाली महिला फुटबलमा धेरै ठूलो कायापलट पनि आवश्यक छैन । फुटबलको दर्शनले के भन्छ भने यो खेलको विकासका लागि कुनै अचुक उपाधि कोहीसँग छैन, न हुनेछ । सबैभन्दा पहिले आधारभूत तथ्यमै ध्यान दिनुपर्छ । जस्तो एकेडेमीको स्थापनादेखि नियमित प्रतियोगिता, ग्रासरुट लेभलको फुटबलमा जोड दिनेदेखि ठूला प्रतियोगिता अगाडि ठोस तयारी आवश्यक छ । 

धेरै अघि होइन, सन् २०२५ मै फर्कने हो भने त्यतिबेला नेपालले प्रशिक्षक डे वाइल्डको नेतृत्वमा एसिया कप छनोटमा बबाल फुटबल खेलेको थियो, त्यो आक्रामक थियो अनि आकर्षक पनि । तास्केन्दमा त्यही टिमको प्रदर्शन राम्रो थियो भने अहिले लगभग उही टिम किन केही सुस्त देखियो त ? सन् २०२४ को वाफ च्याम्पियनसिपमा पनि नेपाली टिमको प्रदर्शन धेरै हदसम्म राम्रो थियो । 

सायद ठीक अहिले नेपाली टिममा ‘विनिङ मेन्टालिटी’ अभाव देखिन्छ, जुन धेरै हदसम्म पछिल्लो समय बंगलादेशी टिमले विकास गरेको छ । बंगलादेशी प्रशिक्षक पिटर बटलरले गोवामै ठीक भनेका छन्, ‘विवाद भइरहन्छ, तयारीमा कमजोरी पनि हुनसक्छ, चारैतर्फको माहोल खराब हुनसक्छ तर टिममा हामी जित्छौं, जसरी पनि जित्नुपर्छ भन्ने भावना चाहिन्छ ।’ सबैभन्दा पहिले नेपाली टिममा यही भावना फर्काउने कि ? अनि दुई वर्षपछि हुनेसाफ च्याम्पियनसिपका लागि अहिल्यै तयारी सुरु गर्ने ?

हिमेश

Link copied successfully