६१ वर्षको उमेरमा बेलायतमा हाइल्यान्ड, ब्राइटन, एडिनबरा, लन्डनसहित सिड्नी म्याराथन दौडिसकेका भोला खनालले २ वर्षभित्र विश्वका सबै प्रमुख म्याराथन दौडिने लक्ष्य राखेका छन् ।
What you should know
काठमाडौं — स्कटल्यान्डको पर्थ पार्कमा श्रीमती ज्ञानमालासँग भोला खनाल फुर्सदका बेला प्रायः डुल्न निस्किरहन्थे । पार्कमा मानिसहरू सधैंजसो दौडिरहेको देखेपछि यसबारे उनी कौतूहल भए । पार्कमा प्रत्येक शनिबार ३–४ सय मान्छे जम्मा भएर ५ किलोमिटर दौडिने गरेको पाएपछि उनीहरू पनि जोडिए ।
सुरुवातमा उनले केही अप्ठयारो अनुभव गरे सुनाए । बिस्तारै अभ्यस्त भइसकेपछि अरूहरूसँगै चाल मिलाउन थाले । यसक्रममा उनले के थाहा पाए भने अरुको चालमा भन्दा आफ्नो गतिमा दौडिदा आनन्द आउने रहेछ । त्यसपछि भोला छेउछाउ नहेरी आफू मात्र दौडिनतिर लागे ।
२८ वर्षदेखि स्कटल्यान्डमा बस्दै आएका उनी ५ वर्षदेखि ‘पार्क रन’ गरिरहेका छन् । पार्क रन युरोपमा निकै चल्तीमा छ । लण्डनबाट सुरू भएको पार्क रन अहिले विश्वका धेरै ठाउँमा आयोजना हुन्छन् । यही यात्राले उनलाई दौडको रस पसायो । दौडिँदा आनन्द आउने, फिटनेस पनि हुने भयो । त्यसपछि दौड कसरी राम्रो गर्न सकिन्छ भन्नेतर्फ लागेको उनले सुनाए । त्यसपछि उनले न्युट्रिसन र शरीरको विषयमा अध्ययन गर्दा भेज खाना बढी शक्तिवर्धक हुने र बढी दौडिन सकिने पत्ता लगाए । यसपछि उनलाई शाकाहारी बन्न धेरै समय लागेन ।
विभिन्न स्थानका पार्क रन २० पटकभन्दा बढी दौडिएपछि उनी १० किलोमिटर दौडतिर लागे । पार्क रन ५ किलोमिटरको हुन्थ्यो, १० किलामिटरमा ‘अपग्रेड’ हुन मन लागेपछि उनले अनलाइनमा सर्च गर्न थाले । यही क्रममा एडिनबरामा पहिलो पटक १० किलोमिटर दौडिए । १० किलोमिटर पनि १५ वटा जति गरिसकेपछि उनी हाफ म्याराथनतर्फ लागे । स्कटल्यान्डकै डन्डीमा उनले ट्रेल हाफ म्याराथन गरे । ४ वटा हाफ म्याराथन गरेपछि उनी ‘फुल’ म्याराथनतर्फ लागे । स्कटल्यान्डको हाइल्यान्डमा उकालो–ओरालो धेरै भएको लक नेस म्याराथनमा पहिलो पटक दौडिए । यो म्याराथनले उनलाई धेरै कुरा सिकायो ।
त्यसयता उनले ८ वटा म्याराथन दौडिए । दुई वर्षअघि पोखरा म्याराथनमा दौडिएका उनले त्यसपछि ब्राइटन म्याराथन, एडिनबरा म्याराथन, लन्डन म्याराथन दौडिए । उनी ६ सातामा यी ३ म्याराथन दौडिए । यसले उनको आत्मविश्वास झन बढायो, धेरै रेस नगरी पनि म्याराथन गर्न सकिन्छ भन्ने उनले बुझेका थिए ।
केही समयपछि उनी भिगन बने । विभिन्न अध्ययनले भिगनहरू दौडमा अगाडि देखाएपछि उनी पनि भिगन बनेका थिए । उनले दही, दुध, घिउ (दुधजन्य पदार्थ) पिउन र खान छाडे । अहिले उनी आफूलाई ‘भिगन म्याराथन रनर’ भनेर चिनाउँछन् ।
उनी ‘भिगन म्याराथन रनर’ क्लबको सदस्य पनि हुन् । भिगन भएर म्याराथन दौडिने थोरै रहेको उनले पाएका छन् । भिगन भएका कारण खानेकुराको सन्तुलन मिलाउन सुरूमा केही कठिन भएको उनले जनाए । खाना थपेर खान लागेपछि यो सन्तुलन मिल्दै गएको उनले बताए ।
उनलाई दौडन प्रेरणा दिने नेपाल रन युेकका संस्थापक पाण्डव महतो थिए । ‘महतोलाई क्यान्सर भएको थियो, क्यान्सरबाट जोगिएपछि दौड सुरु गर्नु भएको थियो, उहाँले धेरै म्याराथनमा दौडिसक्नु भएको छ । उहाँले ‘ग्रेट ब्रिटेन वारियर’ भन्ने पद पाइसक्नु भएको छ, उहाँसँगको भेटपछि मैले दौड बारे थप ज्ञान पाएको थिएँ । उहाँका कुरा सुनेर मलाई यस्तो पनि हुन्छ र ? जस्तो लागेको थियो । त्यसपछि मात्र दौडप्रति आकर्षित भएको हुँ,’ खनालले भने । 
उनको परिवारका सबैजसो सदस्यमा मधुमेहको समस्या छ । तर, उनलाई मात्र मधुमेह छैन । ‘दौडन सुरु गरेपछि मधुमेहबाट जोगिएको उनको अनुभव छ । १० वर्षयता मैले प्यारासिटामोल पनि खानु परेको छैन । प्राकृतिक फुडहरू खान्छु, प्रोसेस फुडहरू खाँदिन् । त्यसैले आफ्नो स्पीड बढाउन पनि सकिन्छ जस्तो लाग्छ,’ उनी आफ्नो अनुभव सुनाउँछन्, ‘तर अझै लामो समयसम्म दौडिन, एउटै लय हुन जरुरी भएकाले म स्पीड बढाउन खोज्दिन् । मलाई आफ्नो दौड जीवनको सफल पक्ष यही नै हो जस्तो लाग्छ ।’ ६५ वर्षभित्र ‘मेजर्स म्याराथन’ सबै दौडिएपछि ग्रेटवाल रन दौडिने उनको इच्छा छ । ७५ वर्षसम्म अन्य सानातिना दौडलाई निरन्तरता दिन चाहन्छन् उनी ।
गत वर्ष उनले बर्लिन म्याराथन पूरा गरेका थिए । यसपटक उनी अगस्टको अन्तिममा सिड्नी म्याराथन गर्दैछन् । सिड्नीबाट अक्टोबरमा डब्लिन म्याराथन, अमेरिकाको टेक्सासमा अर्बिन म्याराथनमा दौडिदै छन् । यसले विश्वका प्रमुख म्याराथनमा पुग्न सकिन्छ भन्ने उनको अनुमान छ । २ वर्षभित्र विश्वका सबै ७–८ प्रमुख म्याराथनमा दौडिने चाहना उनको छ । ४ घन्टाभित्र म्याराथन पूरा गर्ने लक्ष्यका साथ उनले तयारी गरिरहेका छन् । बोस्टन म्याराथनमा मापदण्ड धेरै भएकाले केहि अप्ठयारो हुनसक्ने उनले लख काटेका छन् । त्यसका लागि उनले म्याराथन स्पीडलाई १० मिनेट कम समयमा पूरा गर्न मिहिनेत गर्नु पर्नेछ । ३ घन्टा ५० मिनेटमा ‘फूल म्याराथन’ पूरा गरेमा उमेरका हिसाबले उनी प्रमुख म्याराथनहरूमा दौडिन पाउनेछन् ।
लन्डन म्याराथन उनले ४ घन्टा ३० मिनेटमा पूरा गरेका थिए । बर्लिनमा पनि उस्तै समयमा पूरा गरे । मौसमको प्रतिकुलताले उनलाई लक्ष्यमा पुग्न दिएन । बर्लिनमा उच्च आद्रता (ह्युमिडिटी)ले उनी चाडै गले । जसका कारण लन्डन म्याराथनमा समय सुधार्न सकेनन् । ‘लन्डन म्याराथन विश्वकै उत्कृष्ट म्याराथन हो, दौडका क्रममा सडकको दाँया बाँया उभिएर हेरिरहेकाहरूले धावकहरूलाई हौस्याइरहेका हुन्छन् । जसले दर्शकहरूकै बीचमा दौडिएको अनुभव हुन्छ,’ उनले लन्डन म्याराथन दौडिदाको अनुभव सुनाए । ‘म्याराथन रुटको १ मिटर पनि मान्छे नभएको ठाउँ हुँदैन्, त्यत्तिखेर सन्तोषी श्रेष्ठ र म सँगै दौडिएका थियौं । लन्डन म्याराथन निकै उत्साहप्रद हुन्छ, जो कोहिले दौडिन प्रेरित गरिरहेको हुन्छन् ।’
अघिल्लो महिना उनी कान्तिपुर हाफ म्याराथन दौडिन स्कटल्यान्डको पर्थबाट काठमाडौं आएका थिए । त्यसका लागि उनी २ दिन अघिमात्र नेपाल आइपुगेका थिए । मध्यपश्चिम र पश्चिम एसियामा जारी तनावबीचबाट पन्छिएर आउँदा उनको हवाई यात्रा लामो हुँदा निकै थकित थिए ।
कान्तिपुर हाफ म्याराथनमा दौडिएपछि उनले यहाँ ट्राफिक व्यवस्थापनमा धेरै सुधार्नु पर्ने औल्याएका छन् । दौडिरहेका बेला नजिकैबाट गाडी नजिकबाटै गुडिरहेको, धुँवा फालिरहदा समस्या हुने गरेको उनले सुनाए । कान्तिपुरबाहेक अन्य २ रेस दौडिएर उनी स्कटल्यान्ड फर्किएका थिए । आगामी दिनमा उनी नेपालमा भ्याली ट्रेलदेखि एभरेष्ट म्याराथन र जुम्ला अल्ट्रा रन दौडिन चाहन्छन् ।
उनले दौडन थालेको ४–५ वर्षमै उनले धेरै दौडिसकेका छन् । एकै वर्ष ७ वटासम्म म्याराथन दौडिएको उनले बताए । उमेरका हिसाबमा यो धेरै भएको जस्तो उनले ठानेका छ । स्पीड बढाउँदा पनि चोटको जोखिम हुन्छ, त्यही भएर आफ्नै लयमा दौडिन्छन् । नेपाल रनका ट्रेनर सन्तोष राईसँग अनलाइन क्लास लिएर आफ्नो दौड निरन्तर जाँच्ने पनि गर्छन् ।
स्कटल्यान्ड फर्किएपछि उनले सिड्नी म्याराथनको प्रशिक्षण सुरु गरिसकेका छन् । दौडका लागि प्रथमतः फोक्सो र मुटु बलियो हुनु पर्यो । शारीरिक हिसाबमा खुट्टा बलियो हुनु पर्यो । यसपछि इच्छाशक्ति भए उमेर मात्रैले खासै फरक नपार्ने उनी बताउँछन् । उनी प्रत्येक दिन कम्तिमा १५ किलोमिटर दौडिन्छन् । आइतबार २५ किलोमिटरसम्म दौडिने गरेको उनी बताउँछन् । घर परिवारमै उनले दौडको प्रभाव पारेका छन्, लगभग परिवारका सबै सदस्य हाफ म्याराथन दौडिन्छन् । उनका ज्वाई नरेश आचार्य च्यारिटीमार्फत सिड्नी म्याराथनसँगै दौडिरहेका छन् ।
म्याराथन ध्यान, योगभन्दा पनि कडा भएको खनालको अनुभव छ । म्याराथनले मानिसलाई मानसिक र शारीरिक रूपमा फिट राख्छ । उनी भन्छन्, ‘ध्यान गर्दा मनको एकाग्रता हुन्छ, दौड पनि दिमागको एकाग्रता नै हो, म दौडिरहेको छु भनेर अनुभव गर्नु पनि ध्यानकै एउटा रूप हो ।’
उनी कसैको सहारा लिएर दौडिनु नहुने र व्यक्तिगत रूपमा आफ्नै मनसँग, दिमागसँग छलफल गर्दै दौडिने हो भने त्यो राम्रो ध्यान हुने बताउँछन् ।
