प्रतियोगिताको क्वाटरफाइनल शनिबार हुनेछ । डीएभी स्कुलले केएमसी स्कुलसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौँ — तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ स्कुल क्रिकेटको समूह चरणको खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगिताको क्वाटरफाइनल शनिबार हुनेछ । डीएभी स्कुलले केएमसी स्कुलसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछ । शनिबारै दोस्रो क्वाटरफाइनल खेल अपी र सैनिक आमाविबीच हुनेछ । आइतबार मोक्षदाले जेम्स स्कुल तथा नेपाल पुलिस स्कुलले रत्नराज्य माविविरुद्ध खेल्नेछन् ।
शुक्रबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा रत्नराज्यले संस्कृतिलाई ९१ रनले हराएको थियो । सोही मैदानमा मोक्षदा र क्लिन्टन स्कुलबीच वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडे । दुई खेलमा एक जित र एक बराबरीसहित ३ अंक जोडेको मोक्षदा पनि अगाडि बढेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सैनिक आमाविले क्रिएटिभ एकेडेमीलाई १० विकेटले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । दुवै खेल जितेको सैनिक ४ अंकसहित क्वाटरफाइनल पुगेको हो ।
सोही मैदानमा डीएभी स्कुलले रेडियन्ट रिडर्सलाई १ सय ७८ रनले पराजित गरेको हो । डीएभी दुई जितसहित समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा पुग्यो ।
तल्लो मूलपानी क्रिकेट मैदानमा जेम्सले लिभरपुललार्ई १० विकेटले हराएर समूह ‘जी’ को विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनायो । सोही मैदानमा नेपाल पुलिस स्कुलले पिक प्वाइन्ट एकेडेमीलाई डकवर्थ–लुइसका आधारमा ४९ रनले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । समूह ‘एच’ मा दुई खेलमा ४ अंकसहित समूह विजेताका रूपमा पुलिस अगाडि बढ्यो ।
