नेपाल र मलेसिया समूह ‘ए’ को तथा हङकङ र ओमान समूह ‘बी’ को क्रमश: विजेता र उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
What you should know
काठमाडौँ — नेपालले एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा शुक्रबार हङकङले ओमानलाई १ सय ५४ रनले पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।
नेपाल र मलेसिया समूह ‘ए’ को तथा हङकङ र ओमान समूह ‘बी’ को क्रमश: विजेता र उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपालले ओमान र मलेसियाले हङकङसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । दुवै सेमिफाइनल आइतबार हुनेछ ।
नेपालले समूह ‘ए’ को विजेता बन्नेक्रममा आइतबार पहिलो खेलमा चीनलाई २ सय २१ रनले र दोस्रो खेलमा बिहीबार मलेसियालाई १ सय ६७ रनले पराजित गरेको थियो । आफ्नै घरेलु क्रिकेटर खेलाई रहेको ओमानले समूह चरणको पहिलो दुई खेलमा सिंगापुरलाई ७ रनले र बहराइनलाई २० रनले पराजित गरेको थियो ।
तर हङकङसँग शुक्रबार ओमानको केही लागेन । अंशुमन रथले १ सय ४० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा १ विकेट गुमाई २ सय ८७ रन बनाएको थियो । ४१ बलमा शतक पूरा गरेका रथले ५६ कुल बलको इनिङ्समा १३ चौका र १० छक्का प्रहार गरे ।
उनका ओपनिङ जोडी निजाकत खानले ७६ रन जोडेका थिए । निजाकतले ४५ बल खेली ६ चौका र ४ छक्का प्रहार गर्दै रथसँग पहिलो विकेटमा १५ ओभर भित्र १ सय ९५ रन जोडेका थिए । बाबर हायत १९ बलमा ७ चौका र ५ छक्का प्रहार गरी ६३ रनमा अविजित रहे । उनले १६ बलमा अर्धशतक पूरा गरेका थिए ।
जवाफमा आएको ओमानले ८ विकेट गुमाई १ सय ३३ रनमा बनाउन सक्यो । हङकङबाट इहसान खानले ४ ओभरमा १२ रनमात्र खर्चेर ४ विकेट लिए ।
