सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्यसहित दोस्रो तथा लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्यसहित तेस्रो स्थान हात पारे ।
What you should know
काठमाडौँ — बागमती प्रदेशले १६ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुदको एथलेटिक्सतर्फ सर्वाधिक ११ स्वर्ण, ७ रजत र ५ कांस्य पदक जितेर टिम च्याम्पियन ट्रफी उचालेको छ ।
एथलेटिक्समा २६ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्यसहित दोस्रो तथा लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्यसहित तेस्रो स्थान हात पारे । गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य जिते । स्वर्णविहीन कोशी प्रदेशले २–२ रजत र कांस्य हात पार्यो । मधेश प्रदेश पदकविहीन बन्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार ८ इभेन्टको फाइनल भयो । छात्र २०० मिटर दौडमा लुम्बिनीका भगवानदास लोहारले २२.६४ सेकेन्डबाट स्वर्ण जिते । छात्रामा लुम्बिनीकी गरिमा चौधरीले २७.३७ सेकेन्डबाट स्वर्ण जितिन् ।
छात्र ३००० मिटर दौडमा कर्णालीका अनिल शाही विजेता भए । उनले ९ मिनेट २०.१ सेकेन्डमा दौड पूरा गरे । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी अञ्जुली मल्ल पहिलो भइन् । अञ्जुलीले निर्धारित दूरी ११ मिनेट ०३.६ सेकेन्डमा पूरा गरिन् ।
छात्र ट्रिपलजम्पमा सुदूरपश्चिमका विक्रम नाथ विजेता भए । उनले १३.५५ मिटर जम्प गरे । छात्रामा ११.१० मिटर जम्प गरेकी बागमतीकी अनिशा थारु पहिलो भइन् । ४ गुणा १ सय मिटर रिलेको छात्रमा लुम्बिनी र छात्रामा बागमती प्रदेश शीर्षस्थानमा रहे ।
एथलेटिक्समा २ व्यक्तिगत र १ टिममा गरी तीन जुनियर राष्ट्रिय कीर्तिमान बनेको थियो । छात्र हाइजम्पमा बागमतीका अविनाश सुनारले १.८६ मिटर जम्प गर्दै कीर्तिमान कायम गरे ।
छात्रा ४ सय मिटर दौडमा बागमतीकी भगवती खड्काले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । भगवतीले एक कीर्तिमानीसहित ४ स्वर्ण जितिन् । भगवतीले ४०० मिटर दौडबाहेक ८०० मिटर दौड, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण जितेकी हुन् ।
छात्रा ४ गुणा ४०० मिटर रिलेमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदीप भण्डारीसम्मिलित गण्डकी टोलीले ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान बनाएको थियो ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको तेक्वान्दोमा बागमती प्रदेशले ५ स्वर्ण जित्यो । १२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा सुदूरपश्चिम र मधेशले २–२ स्वर्ण जिते । कर्णाली स्वर्णविहीन बन्दा कोशी, गण्डकी र लुम्बिनीले १–१ स्वर्ण हात पारे ।
कीर्तिपुरस्थित कभर्डहलमा भएको करातेमा कोशीले सर्वाधिक समान ३–३ स्वर्ण, रजत र कांस्य जित्यो । लुम्बिनीले ३ स्वर्ण र ५ कांस्य तथा सदूरपश्चिमले ३ स्वर्ण र ४ कांस्य हात पारे । बागमतीले २ र मधेशले १ स्वर्ण जित्यो । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
