राष्ट्रपति रनिङ सिल्ड :  विवादले हुन नसकेको उसु खेल बल्ल सुरू

त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहलमा हुने तय भएको उसुको प्रतिस्पर्धा निर्णायक मनोनयनसम्बन्धमा भएको विवादका कारण सञ्चालन सुरू भएको थिएन ।

जेष्ठ २१, २०८३

ध्रुव तुलाधर

Presidential Running Shield: Wushu competition, which was postponed due to controversy, finally begins

What you should know

काठमाडौँ — विवादका कारण १६ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत उसुको प्रतिस्पर्धा बिहीबार अपरान्ह मात्र सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहलमा हुने तय भएको उसुको प्रतिस्पर्धा निर्णायक मनोनयनसम्बन्धमा भएको विवादका कारण सञ्चालन सुरू भएको थिएन ।  

राष्ट्रपति रनिङ सिल्ड औपचारिक रूपमा बुधबार सुरू भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । उसुको खेल बुधबार नै सुरू हुनुपर्ने थियो ।   

उसु खेलस्थलमा पुग्दा त्यहाँ रहेका केही खेलाडी अन्योलको स्थितिमा थिए । दोस्रो दिनसम्म पनि उनीहरूलाई खेल हुन्छ कि हुँदैन थाहा थिएन । कोही सुतिरहेका थिए, कोही मोबाइलमा व्यस्त थिए भने केही खेलाडी अभ्यास गर्दै थिए ।

उसुमा छात्रछात्राको १२ इभेन्टमा प्रतिस्पर्धा हुनुपर्ने थियो । सातै प्रदेशका खेलाडीको सहभागिता थियो ।

समयमै किन सुरू भएन खेल ?

लामो समयदेखि उसु खेलमा विवाद कायम छ । दुई संघ अस्तित्वमा छ । एउटा राष्ट्रिय मान्यताप्राप्त (जनक बर्तौला नेतृत्व) र अर्को अन्तर्राष्ट्रिय मान्यताप्राप्त (वीरबहादुर तामाङ नेतृत्व) उसु संघ रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नेक्रममा दुई संघबाट हुने प्रत्यक्ष असर उसुका राष्ट्रिय खेलाडीहरूले भोग्दै आएका छन् ।

अहिले राष्ट्रपति रनिङ सिल्ड खेल्न आएका विद्यार्थी खेलाडीले पनि त्यही नियति भोग्नुपरेको छ ।

यस प्रतियोगितामा निर्णायकहरू को को राख्ने भन्ने सम्बन्धमा विवाद निस्किएको हो । उसु टेक्निकल कमिटीले छानेका निर्णायकहरू राखेर खेलाउनुपर्ने अडानमा राष्ट्रिय मान्यताप्राप्त संघ छ । तर अर्को पक्षबाट ५ जना निर्णायक राख्नुपर्ने जिकिर भएपछि विवाद सुरु भएको छ । उनीहरू सुदूरपश्चिममा हालै सम्पन्न उसु टेक्निकल कोर्समा भाग लिएका निर्णायक भएको जनाइएको छ ।

ती ५ जना राख्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दबाब दिएपछि बिहीबारै उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामा (योञ्जन) ले राजीनामा नै दिएका छन् ।

परिषद्मा राजीनामा बुझाएका लामाले भने, ‘प्राविधिक पक्षमा हस्तक्षेप गरियो । अयोग्य व्यक्ति राखेर प्रतियोगिता सञ्चालन गर्न सक्दिनँ भनेर मैले अडान राखें, उहाँ (सदस्यसचिव) ले त्यसो भए राजीनामा दिनुस् भन्नुभयो, मैले पनि राजीनामा दिएँ ।’

उसु टेक्निकल कमिटीबाट प्रतियोगिता खेलाउन मनोनीत निर्णायकहरूले पनि हस्ताक्षर संकलन गरेका थिए । कमिटीबाट मनोनीतबाट मात्र प्रतियोगिता सञ्चालन हुनुपर्ने र अन्थया गरिए खेल सञ्चालन नगर्ने भनी दुई दर्जन निर्णायकले हस्ताक्षर गरेका छन् ।  

त्यस्तै विभिन्न प्रदेशका उसु प्रशिक्षक तथा व्यवस्थापकले निर्णायक मनोनयन विवादका कारण खेल सुरु हुन नसक्दा प्रत्यक्ष मार खेलाडीमा परेको जनाउँदै तत्काल खेल सञ्चालन गर्न माग गरेका थिए ।

हाललाई छलफलको माध्यमबाट तत्कालको विवाद समाधान गरी खेल सञ्चालन गरिएको राखेपका सूचना अधिकारीले जानकारी गराए ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा सातै प्रदेशबाट समान ९८ जनाका दरले कुल ६ सय ८६ खेलाडी विभिन्न ६ खेलमा प्रतिस्पर्धी छन् । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २–२ तथा कराते, तेक्वान्दो र उसुमा १२–१२ विधा प्रतिस्पर्धा हुने तालिका छ ।  

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully