नेपाललाई सेमिफाइनलमै झट्का

सन् २०२१ यता नेपाली महिला टोलीले बंगलादेशले हराउन सकेको छैन

जेष्ठ २१, २०८३

हिमेश

Nepal suffers a setback in the semifinals

What you should know

गोवा, भारत — नेपाली महिला फुटबलको उपाधिविहीन यात्रामा बुधबार थप झट्का त्यतिबेला लागेको छ, जतिबेला राष्ट्रिय टोली महिला साफ च्याम्पियनसिपको फाइनल पनि पुग्न सकेन ।

प्रतियोगिताको इतिहासमा यसअघि सन् २०१६ मै मात्र नेपाल सेमिफाइनलमा रोकिएको थियो । यसपल्ट त्यस्तै अवस्था दोहोरिएको छ । जवाहरलाल नेहरु स्टेडियममा भएको अन्तिम चारको खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भयो ।

पूरा खेल अवधिमा नेपालले लगातार आक्रमण बुनेको थियो । नेपालका दुई प्रहार पोस्टमा लागेर फर्किएको थियो, त्यसैले भाग्यले पनि नेपाललाई साथ दिएन । त्यसपछि खेलको अन्त्यतिर भुटानी रेफ्री ओम चोकीलाई लिएर उत्तिकै गुनासो पनि होला । तर यति भन्दा भन्दै नेपालले जति अवसर सिर्जना गरे पनि त्यसको फाइदा लिन सकेन । यस्तोमा प्रशिक्षक नवीन न्यौपानेले पनि स्वीकारे, ‘हामीले मौका त जति अवसर सिर्जना गर्‍यौं, बलमाथि नियन्त्रण हाम्रै बढी रह्यो तर, गोल भने निस्कनै सकेन ।’

उनको दाबी थियो, प्रतियोगितामा नेपालको प्रदर्शनमा सुधार भइरहेको थियो तर अन्त्यमा नेपाली टिमको आक्रमण निर्णायक हुन सकेन । अझ भनौं, नेपाली टिममा जित्ने बानीको कमी थियो, त्यसका लागि चाहिने जुझारुपन अभाव देखिन्थ्यो । यसको ठीक विपरीत बंगलादेशको प्रदर्शन पनि सन्तोषजनक रहेन तर दुईपल्टको डिफेन्डिङ च्याम्पियनले लगातार तेस्रोपल्ट फाइनल यात्रा तय गर्न सफल रह्यो । बंगलादेशी प्रशिक्षक पिटर बटलर माने, आफ्नो टिममा जित्ने भोक थियो ।

‘पछिल्लो समय बंगलादेशी महिला फुटबलका लागि केही पनि राम्रो रहेन भन्दा हुन्छ । हामी विवादमै मात्र परिरह्यौं । तर मलाई आफ्ना खेलाडीप्रति विश्वास थियो, जतिबेला चाहिएको थियो, उनीहरूले निर्णायक ढंगले खेले । मलाई लाग्छ, बंगलादेशी टिमले विषम परिस्थितिमा पनि फाइनल प्रवेश गरेर प्रमाणित गरेको छ, यो टिममा च्याम्पियन हुने गुण छ । नेपालविरुद्धको यो खेल उत्तिकै गाह्रो हुनेमा म विश्वस्त पनि थिएँ ।’

बंगलादेशको पुनरामगन

दोस्रो हाफको अतिरिक्त समयमा प्रीति राईको आत्मघाती गोलमा बंगलादेशले एक गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन जित रचेको हो । सुरुमा सागोरिकालाई त्यस गोलको श्रेय दिइए पनि पछि त्यसलाई आत्मघाती गोल मानिएको छ । खेल अतिरिक्त समयतिर अग्रसर रहेको बेला प्रीतिसँग डिफ्लेक्ट हुँदै गोल भएको हो । त्यस अगाडि पहिलो हाफको इन्ज्युरी समयमा रितु पोर्नाचक्माले बंगलादेशका लागि बराबरी गोल फर्काइन् । नेपालले गीता रानाको गोलमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । गीताले २३ औं मिनेटमा गरेको गोलमा नेपालले खेलमा अग्रता बनाएको थियो ।

दीपा शाहीको कर्नरमा बंगलादेशी डिफेन्सले क्लियर गर्न नसकेको बललाई गीताले पोस्टको दिशा दिएकी थिइन् । खेलको ३६ औं मिनेटमा प्रीति राईको प्रहार पोस्टमा लागेर फर्केपछि नेपाल थप अग्रता लिन चुकेको थियो । यस्तै ४२ औं मिनेटमा रेखा पौडेलको हेड पोस्टको केही दूरीबाट बाहिरिएको थियो । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै रेखाको प्रहार पोस्टमा लाग्न पुग्यो । यस्तै ७८ औं मिनेटमा सागोरिकाको शक्तिशाली प्रहारमा नेपालकी गोलरक्षक एन्जिला सुब्बाले उत्कृष्ट बचाउ गरिन् ।

यो नतिजाले पछिल्लो समय नेपालमाथि बंगलादेश हाबी हुने क्रम जारी रह्यो । नेपालको बंगलादेशसँग यो तेस्रो हार हो । त्यसमध्ये दुई हार यसै प्रतियोगिताको दुई फाइनलमा निस्केको थियो । सन् २०२१ यता नेपालले बंगलादेशले हराउन सकेको छैन । बंगलादेशको नेपालविरुद्ध अपराजित रहेको खेलसंख्या ७ खेल पुगेको छ । यसमा तीन जितबाहेक चार बराबरी रहेको छ । सन् २०२४ को फाइनल खेलयता बंगलादेशले पहिलो पटक नेपालमाथि लगातार दोस्रो खेलमा जित दर्ता गरेको छ ।

चोकीको निर्णयप्रति असन्तोष

प्रतियोगिताको पछिल्लो संस्करणमा नेपालले भारतसँग सेमिफाइनल खेल्दा पनि रेफ्री भुटानकी ओम चोकी थिइन् । यसपल्ट पनि उनले नै खेल चलाइन् । सम्भवतः उनले बंगलादेशको दोस्रो गोल अगाडि गरेको निर्णयमा नेपालले असन्तोष मात्र होइन, गुनासो पनि पोख्न सक्नेछ । सागोरिकाको प्रहार अगाडि विमला विक र समीक्षा घिमिरेको टाउको जुधेको थियो । यसक्रममा दुवै खेलाडी घाइते भएर मैदानमा ढलेका थिए ।

विमलालाई त खेलपछि अस्पताल पनि लगिएको थियो । ‘त्यो स्थितिमा मलाई लाग्छ, रेफ्रीले खेल रोक्नुपर्ने थियो । तर त्यस्तो भएन र रेफ्रीले बंगलादेशलाई एडभान्डेज दियो । फुटबलमा गोल र जित हारभन्दा पनि कसैको पनि जीवन महत्त्वपूर्ण हुन्छ । तर रेफ्रीले त्यही निर्णयका कारण बंगलादेश गोल गर्न सफल रह्यो । मलाई पनि थाहा छैन, नेपालको महत्त्वपूर्ण खेलमा तिनै रेफ्री नै किन पर्छ ?,’ नेपालका प्रशिक्षक न्यौपानेले गुनासोसहित प्रश्न गरे ।

उनको निचोड थियो, ‘यस्तो भएता पनि यो नै हाम्रो हारको प्रमुख कारण रहेन । हामी फाइनल पुग्न सकेनौं, किनभने हामीले जति अवसर सिर्जना गरे पनि गोल गर्न सकेनौं । मलाई के पनि लागेको छ भने नेपाली महिला फुटबलको भविष्य राम्रो छ, तर यसका लागि उत्तिकै राम्र्रो लगानी चाहिन्छ । लगानी नै एक मात्र उपाय हो । बंगलादेशले प्रतियोगिताको सहभागिता जनाउनु अघि थाइल्यान्डमा अभ्यास गरेको थियो ।’

विमलालाई शल्यक्रिया आवश्यक

अन्तिम समयमा घाइते भएकी डिफेन्डर विमला बिकलाई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएको छ । खेल सकिने बित्तिकै उनलाई गोवाको भिक्टोर अस्पताल लगिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता तथा नेपाली टिमका प्रमुख सुरेश शाहका अनुसार त्यहाँको चिकित्सकले शल्यक्रिया आवश्यकता रहेको बताएको छ ।

शल्यक्रिया भने बिहीबारमात्र हुनेछ । तर यसका लागि एसियाली फुटबल महासंघ (एएफसी) का चिकित्सकसँग थप छलफल गरिनेछ । भिक्टोर अस्पतालका चिकित्सकका अनुसार विमलाको नाकको एउटा हड्डी र नली भाँचिएको छ ।

खेलको अन्त्यतिर विमला र समीक्षा घिमिरेको एक आपसमा टाउको जुधेको थियो । त्यसक्रममा दुवै मैदानमै लडेका थिए । तर रेफ्री ओम चोकीले भने खेल रोकेकी थिइनन् र त्यसमै बंगलादेशले निर्णायक गोल गरेको हो ।

हिमेश

Link copied successfully