महिला साफ च्याम्पियनसिपमा नेपालले बुधबार बंगलादेशविरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै।
What you should know
गोवा, भारत — नेपालले महिला साफ च्याम्पियनसिप फुटबलमा बुधबार जवाहरलाल नेहरु स्टेडियममा हुने पहिलो सेमिफाइनलमा दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्नेछ । नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेलमध्ये एक रहनेछ । नेपाल यही खेलमा रोकिन्छ भने त्यो प्रतियोगिताको इतिहासमै टिमको सबैभन्दा खराब प्रदर्शनमध्ये एक हुनेछ । सन् २०१६ मा एकपल्ट मात्र नेपाल सेमिफाइनलमा रोकिएको थियो । अब यस्तै प्रदर्शन सह्य रहने छैन ।
प्रतियोगिताका बाँकी संस्करणमा भने नेपाल उपविजेता रहेको छ । त्यस अर्थमा नेपाल छपल्ट प्रतियोगिताको दोस्रो राम्रो टिममा दरिएको छ । यसपल्ट फाइनल पुग्न नसकेको यो छवि पनि मेटिनेछ । होइन, फाइनल पुग्छ भने नेपालसामु एउटा अर्को अवसर बन्ने छ, पहिलो पटक कुनै ठूलो उपाधि जित्ने । त्यसैले त प्रशिक्षक नवीन न्यौपानेले नेपाली महिला फुटबलकै लागि ‘निकै ठूलो’ खेल रहेको बताएका छन् ।
सेमिफाइनलको अघिल्लो दिन नेपालले बेम्बोलिम एथलेटिक स्पोटर््स ग्राउन्डमा बिहानी समयमा अभ्यास गरेको थियो । प्रशिक्षणपछि मिडियासामु प्रस्तुत हुने क्रममा प्रशिक्षक न्यौपानेले नेपाली टिम सेमिफाइनलका लागि पूर्णतः तयार रहेको दाबी गर्दै भने, ‘नेपाल महिला फुटबलका लागि सेमिफाइनल ठूलो होइन, निकै ठूलो खेल रहेको छ । हाम्रो टिम यो खेलका लागि शारीरिक र मानसिक रूपमा तयार छ, खासै केही ठूलो समस्या छैन । हामी यो खेललाई लिएर उत्साही पनि छौं ।’
नेपाल प्रतियोगिताको पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशको हातबाट पराजित थियो । त्यसैले नेपालसामु यी दुई फाइनलमा बेहोरेको हारको बदला लिने अवसर हुनेछ । तर प्रशिक्षक न्यौपानेले भने फुटबलमा बदला भन्ने नै नहुने दाबी गरे । उनले भने, ‘हाम्रो मनमा बदला भन्ने भावना छैन । हाम्रो एक मात्र उद्देश्य प्रतियोगिताको उपाधि जित्ने हो र सेमिफाइनल त्यसअघिको खुड्किलो हो ।’
बंगलादेशी टिमले भने मंगलबारको प्रशिक्षण कार्यक्रम रद्द गरेको थियो । बंगलादेशी खेलाडी सेउली अजामकी आमाको निधन भएको हुनाले टिम प्रशिक्षण कार्यक्रममा सहभागी भएन । त्यसबाहेक पछिल्लो समय बंगलादेशी महिला टिम आफैंमा विवादमा परेको छ । तर प्रशिक्षक न्यौपानेले बंगलादेशलाई बलियो प्रतिद्वन्द्वी रहेको माने । त्यो विवादमा आफूहरूको कुनै रूचि नरहेको उनको दाबी छ ।
उनले भने, ‘बाहिर बंगलादेशी टिमबारे जस्तै हल्ला चले पनि बलियो टिम हो । हामी बंगलादेश कमजोर रहेको मान्ने पक्षमा छैनौं । मलाई लाग्छ, बंगलादेश प्राविधिक रूपमा सबल टिम छ । हाम्रो ध्यान यही टिमविरुद्धको खेलमा केन्द्रित छ । हामीले बंगलादेशविरुद्धको खेलमा आफूलाई बलियो रूपमा प्रस्तुत गर्नुपर्नेछ । यसअघिको खेलको तुलनामा राम्रो खेल्नुपर्नेछ ।’ त्यसको अर्थ नेपालले शतप्रतिशतभन्दा बढी योगदान दिएर खेल्नुपर्नेछ ।
कम्बोडियाबाट अघिल्लो दिन मात्र गोवा आइपुगेकी प्रीति राईले प्रशिक्षणमा सहभागी भइन् । उनले बंगलादेशविरुद्ध सुरुदेखि खेल्ने अपेक्षा गरिएको छ । उनी आएपछि नेपाली टिमको मध्यपंक्ति प्रीतिसँगै रेनुका नगरकोटेले सम्हाल्ने छन् । प्रशिक्षणका क्रममा नेपाली टिमले पेनाल्टी शुटआउटको पनि अभ्यास गरेको थियो । सम्भवतः नेपालको नजर सम्भावित टाइब्रेकरतर्फ पनि छ ।
तर यही बेला पेनाल्टी विशेषज्ञ रहेकी अञ्जना रानामगरले अस्वस्थ महसुस गरेकी छन् । उनी प्रशिक्षणमा सहभागी नै भइनन् । सञ्चो नभएकै कारण हीराकुमारी भुजेल पनि प्रशिक्षणमा आइनन् । अर्कोतर्फ बंगलादेशले लिग चरणको आफ्नो खेलपछि प्रशिक्षक पिटर बलटरले नेपालविरुद्धको खेल रोमाञ्चक हुने बताएका थिए । बुधबार नै प्रतियोगिताको दोस्रो सेमिफाइनल हुनेछ । त्यसमा कीर्तिमान पाँचपल्टको विजेता भारतले भुटानको सामना गर्नेछ ।
५ वर्षयता पहिलो जितको खोजी
पछिल्लो समय बंगलादेशी महिला फुटबल कति बलियो भएको छ भन्ने वास्तविकता एउटा तथ्यले स्थापित गर्छ । यो हो, नेपालले यो दक्षिण एसियाली प्रतिद्वन्द्वीलाई सन् २०२१ यता हराउन सकेको छैन । त्यो भनेको नेपाल बंगलादेशमाथि जित निकाल्न असफल रहेको ५ वर्ष भयो । अहिलेसम्म यी दुई टिमबीच १३ खेल भएको छ । त्यसमध्ये नेपाल ६ खेलमा विजयी छ । यी सबै जित सुरुआती १० वर्षमा निस्केको थियो ।
सन् २०१० मा नेपाल र बंगलादेशबीच पहिलो खेल भएको थियो, दक्षिण एसियाली खेलकुदमा । त्यसपछि सन् २०२१ सम्म नेपाल बंगलादेशविरुद्ध लगातार अपराजित रह्यो । अझ सुरुआती ४ खेलमा त बंगलादेश नेपालविरुद्ध एउटै गोल गर्न पनि सक्षम भएको छैन । त्यसपछि भने नेपालले बंगलादेशलाई हराउनै सकेन । उसले गरेको प्रगतिमा डाह गर्ने कामबाहेक अरू केही गर्न सकेन ।
दुई टिमबीच पछिल्ला ६ खेलमा बंगलादेश दुईपल्ट विजयी छ । दुवै जित पछिल्लो साफ च्याम्पियनसिपको फाइनलमा प्राप्त भएको हो । सन् २०२४ मा बंगलादेशले दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाललाई हराएयता दुई टिमबीच पहिलो पटक खेल हुन लागेको हो । यसबीच बंगलादेश एसिया कपमा छनोट हुन सफल रह्यो, तर नेपालले त्यस्तो उपलब्धि नजिक पुगेर पनि आत्मसात् गर्न सकेन ।
‘सेल्फ डिस्ट्रक्सन मोड’ मा बंगलादेश
बंगलादेशी महिला टिमले पछिल्लो ५ वर्षको समयमा तय गरेको यात्रा असाध्यै लोभलाग्दो छ । त्यो विवाद र अन्योलले घेरिएको पनि छ । अझ पछिल्लो समय बंगलादेशी महिला फुटबलले उल्टो बाटो हिँडिरहेको आरोप त्यहाँको मिडियाले लगाइरहेको छ । त्यसका लागि उनीहरूले प्रयोग गरेको शब्द हो, ‘सेल्फ डिस्ट्रक्सन मोड’ अर्थात आफैंले आफ्नो फुटबल खराब गर्ने काम ।
अहिलेको टिममा पुराना र नयाँ खेलाडीबीच स्पष्ट फाटो रहेको मानिन्छ । टिमबाट केही सिनियर खेलाडी फालिएका छन्, तर टिममा स्पष्ट एकता छैन भनिन्छ । त्यसमाथि टिम व्यवस्थापक खालिद महमुद पनि लगातार विवादमा परिरहेका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले समेत उनको खराब व्यवहारलाई लिएर बंगलादेशी फुटबल संघसामु आपत्ति जनाइएको बताइएको छ ।
त्यसले अहिले के भन्न सुरु भएको छ भने बंगलादेशी महिला फुटबललाई कसैले हराउन सक्छ भने त्यो अरू कसैले होइन, आफैंले हो । लिग चरणको अन्तिम खेलमा भारतविरुद्ध बंगलादेशको हारमा प्रदर्शन गतिलो रहेन । त्यसमा खेलाडीबीच आपसी तालमेल देखिएको थिएन र खास–खास खेलाडीले खेललाई बेवास्ता गरेर खेलेको स्पष्ट देखिएको थियो ।
