यू–१६ क्रिकेट : अनिलको शतकमा रेडियन्स विजयी 

माथिल्लो मूलपानीमा पुलिस स्कुलले द सेलिब्रेसन सहशिक्षा विद्यालयलाई ६४ रनले हरायो । १३८ रनको लक्ष्य पछ्याएको सेलिब्रेसन १४.५ ओभरमा ७३ रनमै अलआउट भयो ।

जेष्ठ २०, २०८३

कान्तिपुर संवाददाता

U-16 Cricket: Anil's century leads Radiance to victory

काठमाडौँ — तेस्रो एसियन ई–लर्निङ जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तरस्कुल क्रिकेट प्रतियोगितामा नेपाल पुलिस स्कुल, जेम्स स्कुल, त्रियोग उमावि, रेडियन्ट रिडर्स, केएमसी र एन्जल्स हार्ट नेसनल विजयी भएका छन् ।

माथिल्लो मूलपानीमा पुलिस स्कुलले द सेलिब्रेसन सहशिक्षा विद्यालयलाई ६४ रनले हरायो । १३८ रनको लक्ष्य पछ्याएको सेलिब्रेसन १४.५ ओभरमा ७३ रनमै अलआउट भयो । पुलिसका सुनिल ठाकुर र सागर सिंहले २–२ विकेट लिए ।

टस जितेको पुलिस १८ ओभरमा १३७ रनमा समेटिएको थियो । सुनिल ठाकुरले सर्वाधिक ३९ रन बनाए । सेलिब्रेसनका कृष्ण हमालले ४ विकेट लिए । जितसँगै समूह ‘जी’मा पुलिसले पहिलो खेलबाट दुई अंक जोडेको छ ।

सोही मैदानमा जेम्सले अक्षरिकालाई १२५ रनले हरायो । जेम्सले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनायो । कप्तान सुदिश पौडेलले ३६ रन बनाए । जवाफमा १५० रनको लक्ष्य पछ्याएको अक्षरिका १०.५ ओभरमा २४ रनमै समेटियो । जेम्सका प्रचेत नाखोटिया र स्वराज चौलागाईंले ३–३ विकेट लिए ।  

तल्लो मूलपानी मैदानमा त्रियोगले क्रिएटिभ एकेडेमीलाई २ रनले हरायो । ११९ रनको लक्ष्य पछ्याएको क्रिएटिभ १९.१ ओभरमा ११६ रनमा अलआउट भयो । संयोग अर्यालले ४३ र पीयूषराज भट्टले ४१ रन बनाए । त्रियोगका आर्यन नेपालले ४ र साइमन्ड भण्डारीले ३ विकेट लिए । यसअघि त्रियोग १८.३ ओभरमा ११८ रनमा समेटियो । दीप गुरुङले २६ रन बनाए । 

अर्को खेलमा रेडियन्ट रिडर्सले नेक्सस स्कुललाई ४८ रनले हरायो । रेडियन्टले अनिल गुरुङको अविजित शतकमा २० ओभरमा १ विकेट गुमाएर १७४ रन बनाएको थियो । अनिलले ७३ बलमा १३ चौका र १ छक्कासहित अविजित १०० रन बनाए ।

जवाफमा नेक्सस २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमा सीमित भयो । रेडियन्टका समीर चौधरीले ३ विकेट लिए । लगातार दोस्रो हारसँगै नेक्सस समूह चरणबाट बाहिरिएको छ

कीर्तिपुरस्थित त्रिवि मैदानमा केएमसीले हिमालयन ह्वाइटहाउसलाई ६ विकेटले हरायो । ९० रनको लक्ष्य केएमसीले १३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान विधान सापकोटा ४८  र अमित कुमार दासले ३२ रन जोडे ।

यसअघि हिमालयनले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । केएमसीका अमितकुमार दासले ३ विकेट लिए । लगातार दोस्रो हारसँगै हिमालयन बाहिरिएको छ ।

अर्को खेलमा एन्जल्स हार्ट नेसनलले ज्ञान मन्दिरमाथि १४७ रनको जित पायो । एन्जल्स हार्टले १४ ओभरमा २ विकेट गुमाएर १७३ रन बनाएको थियो । कप्तान सन्दीप साउदले ६० बलमा १४ चौका र ४ छक्कासहित अविजित १२६ रनको विस्फोटक इनिङ्स खेले ।

जवाफमा ज्ञान मन्दिर ७.५ ओभरमै २६ रनमा अलआउट भयो । सन्दीप साउद र नीरव गर्बुजाले २–२ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका सन्दीप एन्जल्स हार्टको जितमा नायक बने ।

कान्तिपुर

Link copied successfully