पहिलो खेलमा ललितपुरले नुवाकोटलाई ३० रनले पराजित गर्दा दोस्रो खेलमा भक्तपुरले काठमाडौंलाई १ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।
What you should know
मकवानपुर — हेटौंडा–६ स्थित गौरीटार रंगशालामा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगितामा बुधबार ललितपुर र भक्तपुर विजयी भएका छन्।
पहिलो खेलमा ललितपुरले नुवाकोटलाई ३० रनले पराजित गर्दा दोस्रो खेलमा भक्तपुरले काठमाडौंलाई १ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।
पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । ललितपुरका सचिन लेखक ५७ रनमा अविजित रहे भने आदिल खानले २८, रानिम तिवारीले २२ तथा विवेक राना मगरले २० रन जोडे । नुवाकोटका गणेश गौतम र ईशान पुरीले समान २–२ विकेट लिए ।
जितका लागि १७९ रनको लक्ष्य पछ्याएको नुवाकोटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । नुवाकोटका दिनेश सुवेदीले ४७, अनुभव खनालले अविजित ४० तथा राजेश रिमालले २१ रन बनाए । ललितपुरका विवेक राना मगर र सारश खत्रीले समान २–२ विकेट लिए । यससँगै ललितपुरले प्रतियोगितामा दोस्रो जित दर्ता गर्दा नुवाकोटले लगातार तेस्रो हार बेहोरेको छ ।
दोस्रो खेलमा काठमाडौंले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनायो । काठमाडौंका कप्तान रित गौतमले सर्वाधिक ६४ रन बनाए भने नितेश कुमारले ३२ रन जोडे । भक्तपुरका सुवास खत्री र भूपेन्द्र आचार्यले समान ३–३ विकेट लिए भने सक्रिय प्रताप कार्कीले २ विकेट हात पारे ।
१३४ रनको लक्ष्य पछ्याएको भक्तपुरले अन्तिम ओभरसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा ९ विकेट गुमाएर १३६ रन बनाउँदै १ विकेटको जित निकाल्यो । भक्तपुरका रिङजिन लामाले ३७ रन तथा सक्रिय प्रताप कार्कीले २५ रनको योगदान दिए। काठमाडौंका सन्दीप पराजुलीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यो जितसँगै भक्तपुरले पनि प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ भने काठमाडौंले लगातार दोस्रो हार बेहोरेको छ। बुधबारका खेलपछि ललितपुर र भक्तपुरले आफ्नो विजयी यात्रा कायम राख्दा नुवाकोट र काठमाडौं भने दबाबमा परेका छन् ।
