नेदरल्यान्ड्स अघि नेपाली क्रिकेट टोली जर्सी जाने

क्यानले जनाए अनुसार नेपाल र जर्सीबीच जुलाई १३ र १५ मा दुई एक दिवसीय खेल हुनेछ ।

जेष्ठ २०, २०८३

विनोद पाण्डे

Nepali cricket team to visit Jersey before Netherlands

काठमाडौँ — नेपालले विश्वकप क्रिकेट लिग २ का खेलहरु खेल्न नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एक दिवसीय खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले जनाए अनुसार नेपाल र जर्सीकाबीच जुलाई १३ र १५ मा दुई एक दिवसीय खेल हुनेछ । 

क्यानका अनुसार नेपालले जर्सीको एनसीसी ग्रानभिलमा तयारी क्याम्प पनि गर्नेछ । १८ वर्षपछि नेपाली क्रिकेट टोली जर्सी जान लागेको हो । नेपालले २००८ मा ब्रिटिश टापु जर्सीमा विश्व क्रिकेट लिग डिभिजन ५ प्रतियोगिता खेलेको थियो र सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएसँगै यात्रा टुंगिएको थियो । 

नेपालका महबुब आलमले जर्सीमै समूह चरणमा मोजम्बिकविरुद्धको खेलमा सबै १० विकेट लिएका थिए । आईसीसीका प्रतियोगितामा पहिलो पटक कुनै खेलाडीले १० विकेट लिएको त्यो पहिलो अवसर थियो ।

नेपालले नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग लिग २ को २–२ खेल्ने तालिका रहेको छ । नेपालको लिग २ मा दोस्रो अन्तिम शृंखला हो । नेपालले नेदरल्यान्ड्समा जुलाई २१ मा नामिबियासँग पहिलो खेल खेल्ने छ । त्यसपछि नेदरल्यान्ड्सविरुद्ध जुलाई २३ मा, नामिबियाविरुद्ध जुलाई २७ मा र नेदरल्यान्ड्सविरुद्ध जुलाई २९ मा खेल्ने छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully