‘असली कप्तान’ रेनुका

साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध पछिल्लो खेलमा प्राप्त २–० को जितमा एक गोल रेनुकाको नाममा रह्यो।

जेष्ठ १९, २०८३

हिमेश

The 'real captain' Renuka

What you should know

गोवा, भारत — नेपाली महिला फुटबलमा त्यस्ता खेलाडी छन्, जसले चाहेभन्दा बढी चर्चा पाए । तिनका नामै किन लिनु ? धेरै योगदान गरेर चुपचाप बस्ने पनि छन् । जस्तो कि रेनुका नगरकोटे । तिनको भने नामै लिनुपर्छ । यस्तो किनभन्दा डर छ, उनी प्रायः गुपचुप रहन चाहन्छिन् ।

नेपाली फुटबलमा को कत्तिको छ भनेर आखिरमा चर्चा नै हुनैपर्छ । अहिले नै तिनको चर्चा किन आवश्यक छ भने रेनुकाले भर्खरै नेपालका लागि पहिलो गोल गरिन्, यही गोवा भूमिमा जारी महिला साफ च्याम्पियनसिपमा ।

लिग चरणका दुवै खेल जितेर नेपाल अपेक्षाअनुसार सेमिफाइनल पुगिसकेको छ । श्रीलंकाविरुद्ध पछिल्लो खेलमा प्राप्त २–० को जितमा एक गोल रेनुकाको नाममा रह्यो । खेलले एक घण्टा छुँदा पेनाल्टी एरियाबाहिरबाट रेनुकाले एकाएक प्रहार गरेको चिप बलले केही उचाइ लिएर पोस्टभित्र गोलमा परिणत भयो, श्रीलंकाली गोलरक्षक हेरेको हेर्‍यै भइन् ।

जतिबेला बल पोस्टमा प्रवेश गरिसकेको थियो, त्यसपछि मात्र नेपाली खेलाडीले पनि गोल भएको चाल पाए । रेनुका जस्तो स्वभावकी छन्, गोल पनि लगभग उस्तै रह्यो । धन्न, त्यो स्थितिमा उनले कसैलाई पास दिइनन् । नत्र भनिन्छ, उनलाई बल पाउने बित्तिकै पास दिन हतार हुन्छ । आफैले गोल गर्न रुचि नै राख्दिनन् । खेलपछि मिक्स जोनमा कुराकानी गर्दा उनको तर्क थियो, ‘मेरो पूरा ध्यान नै टिममा मात्र हुन्छ, त्यसैले व्यक्तिगत गोल भइरहेको थिएन ।’

जे हुन्छ, एक दिन हुनु नै पर्छ । त्यसैले रेनुकाले पनि गोल गरिन् । नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेयता १६ वर्षपछि यो गोलको उपलब्धि हात परेको हो । स्वभाविक थियो, उनी खुसी थिइन् । सायद यो गोलमा नेपालका प्रशिक्षक नवीन न्यौपाने बढी खुसी रहे । पोस्टम्याच कन्फ्रेन्समा सबैभन्दा पहिले न्यौपानेले रेनुकालाई नै बधाई दिए । उनको पनि एउटै खाले भनाइ थियो, रेनुका नेपाली टिमका लागि कति महत्त्वको खेलाडी हो, सबैलाई थाहा छ तर उनी चर्चामा आउन इच्छा राख्दिनन् ।

यतिबेला साँच्चै उनको खेल जीवन एकपल्ट फर्केर हेर्दा मज्जा नै आउँदो हो । रेनुकालाई नेपाली फुटबलको दोस्रो पुस्ताको खेलाडीभन्दा हुन्छ । पहिलो पुस्ता त्यो थियो, जसले सन् १९८६ देखि १९९९ सम्म खेले । दोस्रो पुस्ताका खेलाडी भनेको सन् २०१० को दक्षिण एसियाली खेलकुदको महिला फुटबलमा सहभागी भएका हुन् । त्यसबीच १० वर्ष महिला फुटबलका लागि अँध्यारा दिन रहे, खासै केही पनि भइरहेको थिएन ।

यही बेला हो, रेनुकाले फुटबल खेल्न थालेको । भर्खर किशोर उमेर चलिरहेको थियो, २०१० कै पहिलो साफ च्याम्पियनसिपमै डेब्यु अवसर पाइन् । दिन थियो, २०१० को डिसेम्बर १८ । स्थान बंगलादेशको कक्सबजार । पाकिस्तानविरुद्धको खेल । त्यो खेल नेपालले १२ गोलले जितेको थियो । रेनुकाले जत्तिकै राम्रो खेले पनि उनी नियमित टिममा परिरहिनन् । कारण भने अनेक रहे । चोटका कारण कुनै बेला उनको खेल जीवनमाथि नै प्रश्न उठेको थियो ।

अरू कुनै बेला प्रशिक्षकले उनलाई टिममा राख्न मन पराएनन् । सिधैभन्दा अनन्त थापा हुँदा रेनुकाले कमै मात्र मौका पाइन् । त्यसैले उनले नेपालका लागि खेलेको खेलसंख्या उनीपछि आएकाको भन्दा धेरै बढी छैन । ठ्याक्कै भन्दा उनको पहिलो गोल ६२ खेलमा आएर मात्र सम्भव भएको थियो । यसबीच उनको खेल जीवनका खास–खास मोड भने असाध्यै महत्त्वपूर्ण छन् ।

त्यसमध्ये पहिलो मोड हो, सन् २०१६ मा मलेसियाविरुद्ध नेपालले सातदोबाटोमा खेलेको खेल । त्यो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल किन यति धेरै महत्त्वको हो भने त्यो नै नेपालले आफ्नो भूमिमा खेलेको महिलाको पहिलो प्रतिस्पर्धा थियो । प्रशिक्षक थिए, कुमार थापा । उनले कप्तानी भूमिकामा रोजेका थिए यिनै रेनुकालाई । त्यस अर्थमा रेनुका नेपाली भूमिमा कप्तानी गर्ने पहिलो भाग्यमानी खेलाडी रहिन् । अहिले श्रीलंकाविरुद्धको खेलमा उनले गरेको कप्तानी २० औं रह्यो । त्यसबीच सजना राना, निरु थापा, एन्जिला सुब्बा र सावित्रा भण्डारी पनि कप्तान भए ।

उनीहरूको बीचबीचमा चाहिएका बेला रेनुका कप्तान भइरहिन् । गाह्रोसाह्रो पर्दा कप्तानी गर्न उनी कहिल्यै चुकिनन् । अझ भन्दा ‘उफ’ पनि भनिनन् । पछिल्लो समय नेपाली टिमको कप्तान को ठीक भन्ने पनि विवाद चल्दा एन्जिलाले एउटा मीठो भनाइ अगाडि आएको थियो । उनी भन्थिन्, ‘हाम्रो असली कप्तान त रेनुका दिदी हुनुहुन्छ ।’ मैदानमा औपचारिक रूपमा जसले आर्मब्यान्ड लगाएको भए पनि खास कप्तान धेरै हदसम्म रेनुका नै हुन् ।

नेपालले अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको यसपल्ट ४० वर्ष पुग्दै छ । यसबीच नेपालबाट खेलेका खेलाडीमध्ये सबैभन्दा उत्कृष्ट को रह्यो भन्ने प्रश्न उठ्न सक्छ । यसको उत्तर सजिलो हुने छैन, तर त्यसको एउटा सम्भावित जवाफ रेनुका हुनसक्छ । केही नभए पनि सर्वकालीन ११ उत्कृष्ट खेलाडीको एउटा टिम बनाउने हो भने त्यसको मिडफिल्डमा रेनुका कुनै पनि स्थितिमा छुट्ने छैनन्, यत्ति त पक्का छ । त्यसको कप्तानी पनि उनलाई दिनुपर्छ, किनभने उनी नेपाली महिला फुटबलकी ‘असली कप्तान’ हुन् ।

हिमेश

Link copied successfully