साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध पछिल्लो खेलमा प्राप्त २–० को जितमा एक गोल रेनुकाको नाममा रह्यो।
What you should know
गोवा, भारत — नेपाली महिला फुटबलमा त्यस्ता खेलाडी छन्, जसले चाहेभन्दा बढी चर्चा पाए । तिनका नामै किन लिनु ? धेरै योगदान गरेर चुपचाप बस्ने पनि छन् । जस्तो कि रेनुका नगरकोटे । तिनको भने नामै लिनुपर्छ । यस्तो किनभन्दा डर छ, उनी प्रायः गुपचुप रहन चाहन्छिन् ।
नेपाली फुटबलमा को कत्तिको छ भनेर आखिरमा चर्चा नै हुनैपर्छ । अहिले नै तिनको चर्चा किन आवश्यक छ भने रेनुकाले भर्खरै नेपालका लागि पहिलो गोल गरिन्, यही गोवा भूमिमा जारी महिला साफ च्याम्पियनसिपमा ।
लिग चरणका दुवै खेल जितेर नेपाल अपेक्षाअनुसार सेमिफाइनल पुगिसकेको छ । श्रीलंकाविरुद्ध पछिल्लो खेलमा प्राप्त २–० को जितमा एक गोल रेनुकाको नाममा रह्यो । खेलले एक घण्टा छुँदा पेनाल्टी एरियाबाहिरबाट रेनुकाले एकाएक प्रहार गरेको चिप बलले केही उचाइ लिएर पोस्टभित्र गोलमा परिणत भयो, श्रीलंकाली गोलरक्षक हेरेको हेर्यै भइन् ।
जतिबेला बल पोस्टमा प्रवेश गरिसकेको थियो, त्यसपछि मात्र नेपाली खेलाडीले पनि गोल भएको चाल पाए । रेनुका जस्तो स्वभावकी छन्, गोल पनि लगभग उस्तै रह्यो । धन्न, त्यो स्थितिमा उनले कसैलाई पास दिइनन् । नत्र भनिन्छ, उनलाई बल पाउने बित्तिकै पास दिन हतार हुन्छ । आफैले गोल गर्न रुचि नै राख्दिनन् । खेलपछि मिक्स जोनमा कुराकानी गर्दा उनको तर्क थियो, ‘मेरो पूरा ध्यान नै टिममा मात्र हुन्छ, त्यसैले व्यक्तिगत गोल भइरहेको थिएन ।’
जे हुन्छ, एक दिन हुनु नै पर्छ । त्यसैले रेनुकाले पनि गोल गरिन् । नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेयता १६ वर्षपछि यो गोलको उपलब्धि हात परेको हो । स्वभाविक थियो, उनी खुसी थिइन् । सायद यो गोलमा नेपालका प्रशिक्षक नवीन न्यौपाने बढी खुसी रहे । पोस्टम्याच कन्फ्रेन्समा सबैभन्दा पहिले न्यौपानेले रेनुकालाई नै बधाई दिए । उनको पनि एउटै खाले भनाइ थियो, रेनुका नेपाली टिमका लागि कति महत्त्वको खेलाडी हो, सबैलाई थाहा छ तर उनी चर्चामा आउन इच्छा राख्दिनन् ।
यतिबेला साँच्चै उनको खेल जीवन एकपल्ट फर्केर हेर्दा मज्जा नै आउँदो हो । रेनुकालाई नेपाली फुटबलको दोस्रो पुस्ताको खेलाडीभन्दा हुन्छ । पहिलो पुस्ता त्यो थियो, जसले सन् १९८६ देखि १९९९ सम्म खेले । दोस्रो पुस्ताका खेलाडी भनेको सन् २०१० को दक्षिण एसियाली खेलकुदको महिला फुटबलमा सहभागी भएका हुन् । त्यसबीच १० वर्ष महिला फुटबलका लागि अँध्यारा दिन रहे, खासै केही पनि भइरहेको थिएन ।
यही बेला हो, रेनुकाले फुटबल खेल्न थालेको । भर्खर किशोर उमेर चलिरहेको थियो, २०१० कै पहिलो साफ च्याम्पियनसिपमै डेब्यु अवसर पाइन् । दिन थियो, २०१० को डिसेम्बर १८ । स्थान बंगलादेशको कक्सबजार । पाकिस्तानविरुद्धको खेल । त्यो खेल नेपालले १२ गोलले जितेको थियो । रेनुकाले जत्तिकै राम्रो खेले पनि उनी नियमित टिममा परिरहिनन् । कारण भने अनेक रहे । चोटका कारण कुनै बेला उनको खेल जीवनमाथि नै प्रश्न उठेको थियो ।
अरू कुनै बेला प्रशिक्षकले उनलाई टिममा राख्न मन पराएनन् । सिधैभन्दा अनन्त थापा हुँदा रेनुकाले कमै मात्र मौका पाइन् । त्यसैले उनले नेपालका लागि खेलेको खेलसंख्या उनीपछि आएकाको भन्दा धेरै बढी छैन । ठ्याक्कै भन्दा उनको पहिलो गोल ६२ खेलमा आएर मात्र सम्भव भएको थियो । यसबीच उनको खेल जीवनका खास–खास मोड भने असाध्यै महत्त्वपूर्ण छन् ।
त्यसमध्ये पहिलो मोड हो, सन् २०१६ मा मलेसियाविरुद्ध नेपालले सातदोबाटोमा खेलेको खेल । त्यो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल किन यति धेरै महत्त्वको हो भने त्यो नै नेपालले आफ्नो भूमिमा खेलेको महिलाको पहिलो प्रतिस्पर्धा थियो । प्रशिक्षक थिए, कुमार थापा । उनले कप्तानी भूमिकामा रोजेका थिए यिनै रेनुकालाई । त्यस अर्थमा रेनुका नेपाली भूमिमा कप्तानी गर्ने पहिलो भाग्यमानी खेलाडी रहिन् । अहिले श्रीलंकाविरुद्धको खेलमा उनले गरेको कप्तानी २० औं रह्यो । त्यसबीच सजना राना, निरु थापा, एन्जिला सुब्बा र सावित्रा भण्डारी पनि कप्तान भए ।
उनीहरूको बीचबीचमा चाहिएका बेला रेनुका कप्तान भइरहिन् । गाह्रोसाह्रो पर्दा कप्तानी गर्न उनी कहिल्यै चुकिनन् । अझ भन्दा ‘उफ’ पनि भनिनन् । पछिल्लो समय नेपाली टिमको कप्तान को ठीक भन्ने पनि विवाद चल्दा एन्जिलाले एउटा मीठो भनाइ अगाडि आएको थियो । उनी भन्थिन्, ‘हाम्रो असली कप्तान त रेनुका दिदी हुनुहुन्छ ।’ मैदानमा औपचारिक रूपमा जसले आर्मब्यान्ड लगाएको भए पनि खास कप्तान धेरै हदसम्म रेनुका नै हुन् ।
नेपालले अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको यसपल्ट ४० वर्ष पुग्दै छ । यसबीच नेपालबाट खेलेका खेलाडीमध्ये सबैभन्दा उत्कृष्ट को रह्यो भन्ने प्रश्न उठ्न सक्छ । यसको उत्तर सजिलो हुने छैन, तर त्यसको एउटा सम्भावित जवाफ रेनुका हुनसक्छ । केही नभए पनि सर्वकालीन ११ उत्कृष्ट खेलाडीको एउटा टिम बनाउने हो भने त्यसको मिडफिल्डमा रेनुका कुनै पनि स्थितिमा छुट्ने छैनन्, यत्ति त पक्का छ । त्यसको कप्तानी पनि उनलाई दिनुपर्छ, किनभने उनी नेपाली महिला फुटबलकी ‘असली कप्तान’ हुन् ।
