श्रीलंकामाथि विजय हात पारेको नेपालले सेमिफाइनलमा बंगलादेशसाग खेल्दै
What you should know
गोवा, भारत — फुटबलमा इतिहास फेरि दोहोरिन्छ भनिन्छ, अनि यो पुनरावृत्ति आफूअनुकूल बनाउन पनि सकिन्छ । नेपालले वुमन्स साफ च्याम्पियनसिपमा यस्तै बदलाको अवसर पाएको छ । पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेश विजयी रहेको थियो र दुवै अवसरमा नेपाललाई घरमै हराएको थियो ।
अब नेपालले यसपल्टको प्रतियोगिताको पहिलो सेमिफाइनलमा यही बंगलादेशको सामना गर्नेछ र त्यसमा जित निकालेर आफ्ना सबै पीडा भुल्न सक्छ । अन्तिम लिग खेलमा पाँचपल्टको विजेता भारतले बंगलादेशलाई ३–० ले हराएपछि यो रोमाञ्चक समीकरण तयार भएको हो । भारतले जवाहरलाल स्टेडियममा प्राप्त जितमा प्यारी सासा, लिन्डा कोम र माल्भिकाले गोल गरिन् । कोन्डाको गोल भने पेनाल्टीबाट भएको हो ।
यससँगै भारत लिग चरणका दुवै खेल जितेर शीर्षमा रह्यो । बंगलादेश भने तीन अंकमा दोस्रो स्थानमा रह्यो । समूहको अर्को टिम माल्दिभ्सको चुनौती भने यसअघि नै समाप्त भइसकेको छ । दोस्रो सेमिफाइनलमा भारतले भुटानको सामना गर्नेछ । प्रशिक्षक नवीन न्यौपानेले भारत र बंगलादेश दुवै बलियो र समान स्तरका प्रतिद्वन्द्वी रहेको हुनाले आफ्नो टिमका लागि सेमिफाइनलमा कुन टिमको सामना गर्दा राम्रो भन्ने नहुने दाबी गरे ।
उनले पछिल्लो समय टिमबाट पर्याप्त गोल निस्कने काम नभइरहेको मान्दै भने, ‘लिग चरणका हामीले जसरी खेलेका छौं, त्यतिले पक्कै पुग्ने छैन । हामीले गोलको संख्या बढाउनुपर्नेछ । मलाई के पनि लाग्छ भने अहिले टिम यसैतर्फ अग्रसर रहेको छ ।’ नेपाल समूह ‘ए’ विजेताका रूपमा सेमिफाइनल पुगेको हो । नेपाल आफ्ना दुवै खेलमा विजयी रहे र दुई खेलबाट अधिकतम ६ अंक बटुलेर शीर्ष स्थानमा रह्यो । नेपालले दुवै खेलमा ‘क्लिन सिट’ पनि राखेको छ । भुटान भने तीन अंकमा दोस्रो स्थानमा रह्यो र नेपालको दोस्रो जितसँगै यो टिम पनि स्वतः सेमिफाइनल पुग्यो । श्रीलंका भने दुवै खेल हारेर शून्य अंकमा रह्यो र उनको प्रतियोगितामा चुनौती सकिएको छ ।
रश्मिको सात खेलपछि गोल
रश्मिकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोलको खाता खोलिन् । लगातारको आक्रमण निराशाजनक रूपमा खेर गएपछि उनको गोल निस्केको हो । सरु लिम्बूले मिलाएको पासमा अनमार्क रहेकी रश्मिले सजिलै गोल गरिन् । नेपालका लागि उनको यो पाँचौं गोल रह्यो । उनले सात खेलपछि फेरि गोलको लय समातेकी हुन् । खेलपछि मिडियासँग प्रस्तुत हुने क्रममा प्रशिक्षक न्यौपानेले उनको
प्रशंसा पनि गरे । उनको विश्लेषण थियो, नेपालले दोस्रो खेलमा आइपुग्दा चाहिँदो आक्रमण बुन्न सफल रह्यो ।
उनले भने, ‘पहिलो खेलको तुलनामा आज हाम्रो प्रदर्शन राम्रो रह्यो । पक्कै पनि धेरै गोल निस्केन सकेको छैन, जित भनेको जित नै हुन्छ । आजको खेलमा हामीले धेरै गोलका अवसर सिर्जना गर्न सफल रह्यौं । यसका लागि भने खुसी छुं । अहिले हाम्रा खेलाडीले गोवाको मौसमअनुसार आफूलाई अनुकूल बनाइसकेका छन् । म रश्मि र बिर्सना चौधरीको खेलबाट प्रभावित रहें । अनि म पहिलो गोलका लागि रेनुकालाई बधाई दिन पनि चाहन्छुं ।’
श्रीमानलाई समर्पित डेब्यु गोल
नेपालका लागि २० खेलमा कप्तानी गरिरहेकी रेनुका लागि यो खेल किन पनि विशेष रह्यो भने उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरिन् । उनले ६० औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको चिप प्रहार सुन्दर गोलमा परिणत भएको थियो । यो धेरै हदसम्म श्रीलंकाली खेलाडीका लागि अनपेक्षित रह्यो तर रेनुकाका लागि अपेक्षित । पछिल्लो समय घरेलु फुटबलमा उनले यस्तै स्थितिबाट केही गोल गरेकी थिइन् ।
‘मैले यस्तो गोलको अपेक्षा गरिरहेको थिएँ, त्यसैले स्वाभाविक रूपमा खुसी छु । जुनसुकै घटनाका लागि एउटा दिन चाहिँदो रहेछ, आज त्यो अवसर पाएको छु । म यो गोल आफ्ना श्रीमान्लाई समर्पित गर्न चाहन्छु,’ उनले भनिन् । नेपाली महिला फुटबलको दोस्रो पुस्ताका सदस्य मान्न मिल्ने रेनुका अहिलेको राष्ट्रिय टिमकी सबैभन्दा अनुभवी खेलाडी हुन् । २०१० मै नेपालका लागि डेब्युको अवसर पाएकी रेनुकाले पहिलो गोलका लागि भने ६२ औं खेल कुर्नु परेको थियो ।
रेनुकालाई श्रीमान्ले उनलाई पहिलो गोल कहिले आउने भनेर लगातार प्रश्न गरिरहने हुनाले पनि यो अवसर उनैलाई समर्पित गरिएको थियो । उनका श्रीमान् अभिषेक लामा आफैं पनि रेनुकाको खेलको प्रशंसक रहँदै आएका छन् । यसै खेलबाट सेन्ट्रल मिडफिल्डर बिर्सना चौधरीले डेब्यु गरिन् । उनी दीपा शाहीको स्थानमा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेकी हुन् ।
खेलपछि बिर्सनाले भनिन्, ‘नेपालका लागि डेब्यु गर्न पाउँदा स्वाभाविक रूपमा खुसी छु । मलाई के लाग्छ भने अझै मैले धेरै मिहिनेत गर्नुपर्छ । यसको कारण के हो भन्दा राष्ट्रिय टिमका लागि खेल्नु उमेर समूहमा खेल्नु जस्तो हुन्न । राष्ट्रिय टिममा परिसकेको हुनाले कुनै न कुनै दिन नेपालका लागि खेल्नेमा मलाई पूरा विश्वास थियो । डेब्युका लागि पर्खिनुपरेको जस्तो लागेन ।’
श्रीलंकाको दाबी, सुधारिएको खेल
श्रीलंकाली प्रशिक्षक टीजीडीके समरसिंघेले पनि आफ्नो टिमको प्रदर्शनमा सुधार आइरहेको र यो खुसीको उपलब्धि रहेको बताइन् । उनले भनिन्, ‘पछिल्लो एसिया कप छनोटमै हाम्रो टिम नेपालसँग आठ गोलले पराजित रहेको थियो । अब हारमा गोल अन्तर कम भएको छ । अहिलेको टिम युवा र नयाँ दुवै छ, त्यसैले हामीले यसबाट धेरै आस गर्न सक्छौं । अब चाँडै श्रीलंकामा महिला लिग सुरु हुनेछ । त्यसले श्रीलंकाली महिला फुटबललाई अझ अगाडि बढाउनेछ ।’
