प्रदेशस्तरीय महिला छनोट क्रिकेट : बाराको जित

खेलमा ओपनरद्वय प्रतिमा र अलिसाले अर्धशतकीय इनिङ खेल्दै अविजित ५१ तथा ४५ रन बनाउँदै बारालाई जित दिलाएकी छन् ।

जेष्ठ १८, २०८३

विद्यानन्द राम

Provincial level women's selection cricket: Bara wins

राजविराज — सप्तरीमा सञ्चालित मधेश प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा राष्ट्रिय खेलाडीद्वय प्रतिमा साह र अलिसा यादवको उत्कृष्ट साझेदारीले बाराले सहज जित निकालेको छ ।

पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय, राजविराजको मैदानमा सप्तरी क्रिकेट संघले आयोजना गरेको खेलमा बाराले रौतहटलाई १० विकेटले हराएको हो ।  

खेलमा ओपनरद्वय प्रतिमा र अलिसाले अर्धशतकीय इनिङ खेल्दै अविजित ५१ तथा ४५ रन बनाउँदै बारालाई जित दिलाएकी छन् । टस जितेर बाराले रौतहटलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । ब्याटिङमा उत्रिएको रौतहटले निर्धारित २० ओभरको खेलमा १६ ओभर ५ बलमै सबै विकेट गुमाएर १०९ रन बनायो । रौतहटका लागि चान्दनी खातुनले सर्वाधिक २६ रन बनाइन् भने भुमी सिंहले १३ रनको योगदान दिइन् । प्रतीक्षा सिंह र मोनिका साहले समान १२/१२ रन बनाउँदा अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ बाराकी मञ्जु खड्काले ३ विकेट हात पारिन् । प्रियंका यादवले २ तथा प्रतिमा साह, आरुषी गुप्ता, निर्मला कुशवाहा र बिनिसा लामिछानेले समान १–१ विकेट लिए । ११० रनको लक्ष्य पछ्याएको बाराले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै १४ ओभर ४ बलमै कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी बाराकी प्रतिमा ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनलाई संघका सदस्य धर्मेन्द्र चौधरीले १००० नगदसहित ट्रफी प्रदान गरे । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully