पीएसजीले शनिबार भएको फाइनलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो ।
What you should know
पेरिस — लगातार दोस्रो वर्ष युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ लक्ष्य बनाएको छ, युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता लगतै तेस्रो पटक जित्ने । कतारी लगानी र स्पेनी प्रशिक्षक लुइस एनरिकेको बुद्धिमताका कारण पीएसजी अबको सिजन सबै प्रकारको युरोपेली क्लब फुटबलमा नयाँ कीर्तिमान बनाउन सक्षम देखिन्छ ।
पीएसजीले शनिबार भएको फाइनलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो । त्यस अगाडि निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । यस खेलपछि के पनि प्रस्ट भएको छ भने अबको दिनमा युरोपेली क्लब फुटबलमा र्पीएसजीको प्रभुत्व कायम रहन सक्नेछ । टिमले उपाधि जिते लगतै क्लबका अध्यक्ष नासिर अल खेलाफिले भनेका छन्, ‘पक्कै पनि हामीले टिमलाई अझै बलियो बनाउने छौं र त्यसका लागि बजारमा जाने छौं ।’
यो अरू युरोपेली क्लबका लागि चेतावनी पनि रहनेछ, किनभने कतारले सक्दो पैसा खन्याएको टिमले आफू चाहेको खेलाडी किन्न सक्षम पनि छ । पीएसजीले आफ्नो आर्थिक क्षमताकै कारण ज्लाटन इब्रामोभिच, नेयमार, केयलिन एमबापे र लियोनल मेसी जस्ता खेलाडी किनेको थियो । तर पछिल्लो समय क्लबको रणनीति भने फेरिएको छ, उसले नयाँ र युवा खेलाडीको बढी जोड दिएको छ ।
अहिले पीएसजीको स्थिति त्यस्तै रहेको छ, जस्तो रियल म्याड्रिडले कुनै समय च्याम्पियन्स लिगमा कायम राखेको थियो । आर्सनलविरुद्ध पीएसजीले जुन टिम सुरुमा उतारेको थियो, त्यसको औसत उमेर २५.८ वर्ष मात्रै थियो । त्यसमध्ये पनि सुरुआती ११ खेलाडीमा दस जना त यसअघि उपाधि जित्दा फाइनल खेल्ने नै थिए । यसको अर्थ के पनि रह्यो भने एनरिकले अहिले त्यस्तो बलियो टिम बनाएको छ, जसले लामो समय लगातार राम्रो खेल्न सक्नेछ ।
फाइनलको उत्कृष्ट खेलाडी घोषित भिटिन्हाले भनेका छन्, ‘खास भन्ने हो भने यो नै हाम्रो उद्देश्य हो, हामी सफलताका लागि भोको छौं । सबैलाई लाग्छ, फेरि जित्न पाए हुन्थ्यो । कहिले पनि हार सामना गर्नु नपरे हुन्थ्यो । मलाई लाग्छ, खेलाडीमा यस्तो भावना आउनुमा प्रशिक्षक एनरिककै दोसा छ । मलाई अझ के पनि लाग्छ भने उनले हामीलाई अझै धेरै जित्नका लागि प्रेरित गरिरहने छन् ।’
एनरिके आफ्ना खेलाडीप्रति कहिलेकाहीं सख्त पनि हुने गर्छन् । यसैक्रममा उनले आफ्नो गोलरक्षक जियानलुगी डोनारुमालाई सिजनको सुरुमा बेचे र उनको स्थानमा माटेभेयी सफनोभलाई टिममा ल्याए । उनले पीएसजीका रूपमा त्यस्ता खेलाडीको समूह बनाएका छन्, जसलाई आफ्नो स्टारडमको खार्स अथै छैन्, बरु टिमको भलाईका लागि सक्दो योगदान दिन तत्पर छन् ।
फाइनलपछि आर्सनल प्रशिक्षक मिखेल आर्टेटाले पनि पीएसजीको खुलेरै प्रशंसा गरेका छन् । उनको अनुसार पीएसजीले अहिले त्यस्तो खेल प्रदर्शन गरिरहेको छ, जुन उनले यसअघि देखेका छैनन् । त्यसैले त काई हाभर्टेजको गोलले आर्सनलले अग्रता लिएपनि पीएसजी खेलमा फर्कन सफल रह्यो । उसका लागि ओसमन डेम्बेले नै पेनाल्टीबाट बराबरी गोल गरेका थिए ।
