तीन दिन चलेको प्रतियोगितामा इस्टपोल थप ६ रजत र ६ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो ।
काठमाडौँ — इस्टपोल उसु क्वान १२ स्वर्णसहित २४ पदक जितेर गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा भएको पाँचौ उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको ट्रफी जितेको छ ।
तीन दिन चलेको प्रतियोगितामा इस्टपोल थप ६ रजत र ६ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो ।
राष्ट्रिय खेलाडी तथा इस्टपोलका प्रमुख प्रशिक्षक विजय सिन्जालीले खेलाडीको निरन्तर मिहिने, लगनशीलता र अनुशासनका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए ।
प्रतियोगितामा अलकेमिस्ट उसु क्वान ६ स्वर्ण, १ रजत र ५ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो । टिमका प्रशिक्षक पासाङ शेर्पाले यस सफलताले खेलाडीको मनोबल अझ उच्च बनाएको बताए । मनमैजु उसु क्वान ५ स्वर्ण, ९ रजत र ८ कांस्यसहित तेस्रो स्थानमा रह्यो ।
पुरुष थाउलु विधामा अलकेमिस्ट उसु क्वानका पेमा ग्याल्बो लामा उत्कृष्ट खेलाडी घोषित भए भने महिलातर्फ थाउलुमा जोरपाटी उसु क्वानकी युमी अवाल उत्कृष्ट खेलाडी चुनिइन् ।
सान्डा पुरुषतर्फ दक्षिणकाली उसु क्वानका सागर गुरुङ र महिला सान्डातर्फ प्रज्ञा स्कुलकी दिया सलामी उत्कृष्ट खेलाडी चुनिए ।
प्रतियोगिताको पाँचौं संस्करणसम्म आइपुग्दा बाक्लो संख्यामा प्रतिभाशाली तथा उत्कृष्ट जुनियर खेलाडीको सहभागिता रहेको आयोजक जोरपाटी उसु क्वानका अध्यक्ष नारायण श्रेष्ठले बताए । उनले यस्ता प्रतियोगिताले युवा खेलाडी उत्पादन तथा उसु खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । प्रतियोगितालाई गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।
