दीपेन्द्र, सन्दीप र कुशल लंका प्रिमियर लिगमा

एलपीएल खेले बापत सन्दीपले २० हजार डलर तथा दीपेन्द्र र कुशलले १५ हजार डलर पारिश्रमिक पाउने छन् ।

जेष्ठ १८, २०८३

विनोद पाण्डे

Dipendra, Sandeep and Kushal in the Lanka Premier League

काठमाडौँ — नेपालका ट्वान्टी–२० कप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने र कुशल भुर्तेलले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन् । तर राष्ट्रिय टोलीबाट व्यस्त हुनुपर्ने भएकाले उनीहरुले एलपीएलका सुरुआती खेल गुमाउने भएका छन् ।

एलपीएलको आइतबार भएको ड्राफ्टबाट जाफ्ना किंग्सले दीपेन्द्र र सन्दीपलाई तथा कोलम्बो क्याप्सले कुशललाई लिएको हो । एलपीएल खेले बापत सन्दीपले २० हजार डलर तथा दीपेन्द्र र कुशलले १५ हजार डलर पारिश्रमिक पाउने छन् । जाफ्नाका कप्तान भानुका राजापाक्छे र कोलम्बो क्याप्सका कप्तान कुशल मेन्डिस हुन् । 

नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले गेल गालन्ट्स हेरिरहेका छन् । सन् २०२० मा सुरु भएको एलपीएलको यो छैटौं संस्करण हो । जाफ्ना किंग्सले सन् २०२०, २०२१, २०२२, २०२४ मा गरी चार पटक एलपीएल जितिसकेको छ । २०२० मा भने टोलीले जाफ्ना स्टेलियन्सको नाममा खेलेको थियो । २०२५ मा प्रतियोगिता आयोजना भएको थिएन् । 

यसपटकको एलपीएल जुलाई १७ देखि अगस्ट ८ सम्म हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोली जुलाईमा नेदरल्यान्ड्स भ्रमणमा विश्वकप क्रिकेट लिग २ खेल्न जानेछ । नेपालले जुलाई २१ मा नामिबिया, जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग खेल्ने कार्यक्रम रहेकाले दीपेन्द्र, सन्दीप र कुशलले एलपीएलको सुरुआती खेल गुमाउने छन् । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully