नेपाली फुटबलमा एउटा तथ्यमा विश्वास हुँदा आइतबार हुने श्रीलंकाविरुद्धको खेलमा आफूअनुकूल नतिजा निकाल्न गाह्रो हुने छैन।
What you should know
गोवा — नेपालले महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गर्दा रोजाइको प्रतिद्वन्द्वी को हुनेछ ? भारत कि बंगलादेश । प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा आइतबार नेपालले श्रीलंकाको सामना गर्दा यही प्रश्न प्रमुख रहनेछ । यहाँनिर के बिर्सनुहुन्न भने नेपाल समूह ‘ए’ बाट अझै सेमिफाइनल पुगेको छैन । भुटानसम्मिलित समूहमा सबै खाले सम्भावना खुला नै छ ।
तर नेपाली फुटबललाई एउटा अर्को के तथ्यमा विश्वास हुनुपर्छ भने श्रीलंकाविरुद्ध आफूअनुकूल नतिजा निकाल्न गाह्रो हुने छैन । यस्तो नभएमा त्यो स्वीकार गर्न अयोग्य नतिजा हुनेछ । अहिलेका लागि यो समूहमा भुटान दुई खेलबाट ३ अंकसहित अगाडि छ । एक खेल खेलेको नेपालसँग पनि ३ अंक छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई १–० ले हराएको थियो । गीता रानाको ‘भाग्यमानी’ गोलबाट नेपालले जित निकालेको थियो ।
भुटानविरुद्धको यो जित एक प्रकारले संघर्षपूर्ण रह्यो । त्यसपछि भुटानले श्रीलंकालाई सजिलै ४–० ले हराएको थियो । श्रीलंका भने अंकविहीन छ । यस्तोमा यही श्रीलंकामाथि नेपालले जित त अपेक्षा गर्न नै सक्छ । नेपाली प्रशिक्षक नवीन न्यौपोनले पनि भुटानविरुद्ध आफूले सोचेजस्तो जित हात नपरे पनि धेरै चिन्ता नलिन भनेका थिए । उनको तर्क थियो, गोवाको मौसमसँग अभ्यस्त हुनु अगाडि नै नेपालले पहिलो खेल खेल्नुपरेको थियो ।
अब भने टिमले पाँच दिनको आराम र प्रशिक्षण दुवै पाइसकेको छ । आइतबार नै लिग चरणको सबै खेल सकिनेछ । त्यस दिन दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेश र भारत पनि भिड्ने छन् । त्यसै नतिजाले समूह ‘बी’ को विजेता निर्धारण गर्नेछ । अहिलेका लागि दुवै टिम सेमिफाइनल पुगिसकेका छन् । दुवैले माल्दिभ्सलाई हराएको थियो । त्यस अगाडि नेपालको सिधा नजर श्रीलंकाविरुद्धको खेलमै केन्द्रित हुनुपर्नेछ ।
यही खेलमा नेपालसामु प्रयोगको मौका पनि हुनसक्ने छ । सम्भवतः पहिलो हाफमा नेपालले जोखिम उठाउने छैन र सक्दो चाँडै अग्रताको प्रयास गर्नेछ । यो स्थिति तयार हुने हो भने नेपालले आफ्ना नयाँ खेलाडीलाई विश्वास गरेर फेरिएको टिम उतार्न सक्छ । यति गर्न प्रशिक्षक न्यौपानेले कन्ज्युस्याइँ पनि गर्नुहुन्न । त्यसैले नेपालका लागि श्रीलंकाविरुद्धको सुरुआती आधा घण्टाको खेल अगाडि बढ्ने हो, त्यो अर्थपूर्ण हुन्छ ।
१० खेल, १० जित
महिला फुटबलमा नेपालका लागि श्रीलंका त्यस्तो टिम रहेको छ, जुन टिमविरुद्ध जति खेलियो, सबैमा जितमात्र हात परेको छ । नेपालले तीन प्रतियोगितामा गरेर अहिलेसम्म श्रीलंकाको दसपल्ट सामना गरेको छ । सबै १० खेलमा जित पनि हात पारेको छ । नेपालले दक्षिण एसियाली खेलकुदको महिला फुटबलमा तीनपल्ट श्रीलंकाको सामना गरेको छ । नतिजा छ ८–१, ४–० र १–० ।
वुमेन्स साफ च्याम्पियनसिपमा भने छपल्ट खेलेको छ । ती खेलमा श्रीलंकामाथि जितको अन्तर ३–०, ३–०, १–०, ४–०, ६–० र ६–० छ । त्यस अर्थमा नेपालले यो प्रतियोगितामा श्रीलंकासँग एकै गोलसमेत खाएको छैन । श्रीलंकासँग नेपालको पछिल्लो भेट एक वर्षअगाडि महिलाको एसिया कप छनोटमा भएको थियो । तास्केन्दमा भएको त्यस खेलमा नेपाल ८–० ले विजयी रहेको थियो ।
त्यसैले अहिलेसम्मको स्थिति भनेको १० खेल, १० मै नेपालको जित । अनि श्रीलंकामाथि समग्रमा ४४ गोल । प्रतियोगिताको इतिहासमा श्रीलंका दुईपल्ट सेमिफाइनल पुगेको छ । तर सन् २०१६ यता श्रीलंकाको यात्रा लिग चरणबाट अगाडि बढ्न सकेको छैन । यस्तोमा सम्भवतः नेपाललाई अबको खेलमा पक्कै गाह्रो हुने छैन, इतिहास नेपालकै पक्षमा छ । तर नेपाली टिमले कूटनीतिक भाषामा भन्ने नै छ, श्रीलंकाविरुद्धको खेल सजिलो लिने छैनौं ।
बंगलादेशको संघर्ष
समूह ‘बी’ को पहिलो खेलमा भारतले माल्दिभ्सलाई सजिलै ११–० ले हराएको थियो । माल्दिभ्सका लागि यो अस्वीकार्य नतिजा थियो । तर यही टिमले बंगलादेशविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेको थियो । भलै, त्यो खेलमा ४–२ ले पराजित रह्यो । एक प्रकारले यो माल्दिभ्स टिमको उत्कृष्ट पुनरागमन जस्तै थियो । बंगलादेशी मिडियाले त्यस खेललाई लिएर आफ्नो टिमको आलोचना पनि गरेको छ ।
उनीहरूको तर्क छ, माल्दिभ्समाथि हात परेको जित सन्तोषजनक रहेन । अहिलेका लागि भारत र बंगलादेश दुवै टिम समान ३ अंकमा छ । गोल अन्तरमा भारत अगाडि छ र सम्भवतः भारतसामु समूह जित्ने अनुकूल स्थिति छ । यस्तोमा नेपालको सम्भावित सेमिफाइनल प्रतिद्वन्द्वी हुनसक्छ, बंगलादेश । त्यसैले लिग चरणको अन्तिम दिनका दुई खेल वास्तवमै रोमाञ्चक रहनेछ, नतिजा महत्त्वको दृष्टिकोणले ।
