नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल

मलेसियामा भइरहेको एसियन गेम्स महिला ट्वान्टी–२० छनोटको तेस्रो स्थानको खेलमा चीनले आइतबार नेपाललाई डकवर्थ लुइस पद्धतिमा ५ विकेटले पराजित गर्‍यो ।

जेष्ठ १७, २०८३

विनोद पाण्डे

Nepali women's cricket team fails to qualify for Asian Games

What you should know

काठमाडौँ — नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदमा छनोट हुन असफल भएको छ । मलेसियामा भइरहेको एसियन गेम्स महिला ट्वान्टी–२० छनोटको तेस्रो स्थानको खेलमा चीनले आइतबार नेपाललाई डकवर्थ लुइस पद्धतिमा ५ विकेटले पराजित गर्यो । 

चीनले टस जितेपछि ब्याटिङका लागि निमत्याइएको नेपालले १.४ ओभरमा ७ रन बनाउदा ३ विकेट गुमाएको अवस्थामा वर्षाले खेल बिथोलिएको थियो । वर्षा रोकिएपछि खेल ७–७ ओभरमा छोट्याइएको थियो । नेपालले निर्धारित ७ ओभरमा ५ विकेट गुमाई ५० रन बनाएको थियो । 

त्यसपछि चीनलाई ७ ओभरमा ४३ रनको लक्ष्य दिइएको थियो । अन्तिम बलमा २ रन बनाउनु पर्ने अवस्थामा काई युझीले चौका प्रहार गर्दै चीनलाई विजय दिलाइन् । चीनले तोकिएको ७ ओभरमा ४५ रन बनायो । 

चीनस“ग नेपाल पहिलो पटक पराजित भएको हो । यसै प्रतियोगिताको समूहचरणमा नेपालले चीनलाई पराजित गरेको थियो । २०१० यता नेपाली महिला क्रिकेट टोलीले एसियाली खेलकुदमा निरन्तर सहभागिता जनाउदै आएको थियो । 

कप्तान एवंम ओपनर मिन्गिउई झुले १३ बलमा ३ चौका प्रहार गर्दै १८ रन बनाएर चीनको विजय आधार तयार पारिन् । युझी १३ बलमा ११ रन बनाएर अविजित रहिन् । नेपालबाट रिया शर्माले २ ओभरमा ३ रनमात्र दिएर २ विकेट लिइन् । 

पुजा महतो १, सम्झना खड्का ५, रुबि पोदार शुन्यमै आउट भएका थिए । वर्षा रोकिएपछि सोनी पाख्रिन पनि ५ रनमा आउट भइन् । कप्तान इन्दु बर्माले ८ बल खेली १ चौकासहित ११ रन बनाइन् । 

कविता कु“वरले १० बलमा अविजित २२ रन बनाएपछि नेपालको स्कोर हेर्न लायक बनेको थियो । कविताले समान १ चौका र छक्का प्रहार गरिन् । रुबिना क्षेत्री ४ बल खेली ३ रनमा अविजित रहिन् । चीनकी मा रुइकेले २ ओभरमा ५ रनमात्र खर्चेर २ तथा मिन्गिउई झु र झाओ यिहानले १–१ विकेट लिइन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully