टस हार्दै नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चीन ९२ रनमै अलआउट हुनपुग्यो ।
What you should know
काठमाडौँ — एसियन गेम्स क्वालिफायर्समा नेपालले पहिलो खेलमा चीनविरुद्ध २२१ रनको फराकिलो जित निकालेको छ । टस हार्दै नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चीन ९२ रनमै अलआउट हुनपुग्यो ।
नेपालले चीनविरुद्ध पहिला ब्याटिङका लागि बोलाइएपछि निर्धारित २० ओभरमा २ विकेट गुमाई ३ सय १३ रन बनाएको थियो । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुई पटक ३ सय रन माथि स्कोर बनाउने पहिलो टोली बनेको छ । चीनको हानजाउमा २०२३ मा भएको एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध यसअघि ३१४–३ को स्कोर बनाएको थियो । नेपालको यो दुबै स्कोर ट्वान्टी–२० अन्तर्राष्ट्रियको उच्च स्कोरमा दोस्रो र तेस्रो नम्बरमा पर्छ । जिम्बावेले २०२४ मा नैरोबीमा गाम्बियाविरुद्ध ३४४–४ को स्कोर बनाएको थियो, जुन ट्वान्टी–२० अन्तर्राष्ट्रियको उच्च स्कोर हो । जर्मनी, इंग्ल्यान्डले पनि १–१ पटक ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ३ सय माथिको स्कोर बनाएका छन् ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १२९ रनको पारी खेले । मात्र ४३ बल खेलेका उनले १६ छक्का र ५ चौका प्रहार गरे । भुर्तेलको ट्वान्टी–ट्वान्टी करिअरमा यो सर्वाधिक स्कोरसमेत हो । आजको खेलमा भुर्तेलले ६ छक्कासमेत प्रहार गरेका छन् । उनी नेपालका लागि एकै ओभरमा ६ छक्का हान्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि दीपेन्द्रसिंह ऐरीले मंगोलिया र कतारविरुद्ध ६ छक्का प्रहार गरेका थिए ।
यस्तै कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे । मल्लले अविजित ४७ बलमा ८५ रन बनाए । उनले त्यसक्रममा ८ चौका र ५ छक्का हिर्काए ।
कप्तान पौडेलले पनि आक्रामक पारी खेल्दै १७ अर्धशतक बनाए । अविजित रहेका पौडेलले मात्र २१ बलमा ७ छक्का र ५ चौकाको सहयोगमा ६९ रन बनाए । ओपनर आशिफ शेख भने १० बलमा १ छक्का र १ चौकाको सहयोगमा ११ रन बनाउँदै आउट भएका थिए ।
कुशलद्वारा एकै ओभरमा ६ छक्का प्रहार
कुशल भुर्तेल एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । उनले चीनविरुद्ध खेलको नवौं ओभरमा चेन झोउ युईलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । कुशलले नवौं ओभरको पहिलो ५ बलमा लगातार छक्का प्रहार गरेका थिए । त्यसपछि झोउले छैटौं बल वाइड फाल्न पुगेका थिए । छैटौं लिगल बलमा कुशलले फेरि छक्का प्रहार गरेका थिए । नेपालका दीपेन्द्रसिंह ऐरीले २०२४ मा कतारविरुद्ध ओमानमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । दीपेन्द्रले चीनको हानजाउमा २०२३ मा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध पनि दुई फरक ओभरमा गरेर लगातार ६ छक्का प्रहार गरेका थिए ।
कुशल दुई शतक बनाउने नेपालको पहिलो
कुशल भुर्तेल चीनविरुद्ध १ सय २९ रन बनाएपछि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी बनेका छन् । पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १–१ शतक प्रहार गरेका छन् । कुशल भुर्तेलको १ सय २९ रन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको दोस्रो उच्च स्कोर हो । कुशल मल्लले चीनको हानजाउमा २०२३ मा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध अविजित १ सय ३७ रन बनाएका थिए ।
कुशलको १६ छक्का
कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा नेपालबाट सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । कुशलले चीनविरुद्ध १६ छक्का प्रहार गरेका थिए । यसअघि कुशल मल्लले चीनको हानजाउमा २०२३ मा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध १२ छक्का प्रहार गरेका थिए । इस्टोनियाका साहिल चौहानले साइप्रसविरुद्ध २०२४ मा सर्वाधिक १८ छक्का प्रहार गरेका थिए । त्यस्तै स्पेनका मोहम्मद इसानले क्रोएसियाविरुद्ध २०२५ मा १७ तथा अफगानिस्तानका हजरातुल्लाह जाजाईले आयरल्यान्डविरुद्ध २०१९ मा र न्युजिल्यान्डका फिन एलनले पाकिस्तानविरुद्ध २०२५ मा १६–१६ छक्का प्रहार गरेका थिए ।
