महिला क्रिकेट : मलेसियासँग नेपाल पराजित

नेपालले अब एसियन गेम्समा छनोट हुन चीनलाई हराउनुपर्ने हुन्छ ।

जेष्ठ १६, २०८३

विनोद पाण्डे

Women's cricket: Nepal defeated by Malaysia

What you should know

काठमाडौँ — इल्सा हन्टरले नेपालविरुद्ध एकल प्रयासमा एक अर्को उत्कृष्ट इनिङ्स खेलेपछि मलेसियाली टोली एसियन गेम्स महिला छनोटको फाइनलमा पुगेको छ । हन्टरले २४ बलमा अविजित ४८ रन बनाएपछि घरेलु टोली मलेसियाले शनिबार नेपाललाई २ विकेटले हरायो।

टस जितेर ब्याटिङ रोजेको नेपालले क्वालालम्पुरस्थित वायुमास ओभलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २६ रन बनायो । हन्टरले १० चौका र १ छक्का प्रहार गर्दै विस्फोटक इनिङ्स खेलेपछि मलेसियाले ८ बलअगाडि लक्ष्य भेट्यो ।

फाइनलमा पुगेसँगै मलेसिया जापानको आइची/नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदका लागि छानिएको छ । शीर्ष तीन टोली एसियन गेम्समा छनोट हुने प्रावधान छ । अर्को सेमिफाइनलमा प्रवल दावेदार थाइल्यान्डले चीनलाई ८३ रनले हराएको थियो । नेपाल र चीनबीच आइतबार तेस्रो स्थानका लागि हुने खेल विजेता टोली एसियन गेम्समा पुग्नेछ ।

हन्टरले एकल प्रयासमा नेपालको हातबाट खेल छिनेको यो दोस्रो अवसर हो । सन् २०२४ को एसीसी प्रिमियर कपको सेमिफाइनलमा ५३ बलमा ६ चौकासहित अविजित ६९ रन बनाएपछि मलेसिया १ सय १६ रनको लक्ष्य १ बलअगाडि पुरा गर्दै एसिया कपमा छनोट भएको थियो । यसपटक पनि हन्टरले उस्तै कथा रचिन् ।

इनिङ्सको चौथो बलमै मनीषा उपाध्यायले विनिफ्रेड दुराइसिंघमलाई कट एन्ड बोल्ड गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । तर हन्टरले आकर्षक इनिङ्स खेल्दै नेपालबाट खेल खोसेकी थिइन् । उनी आउट हुँदा मलेसियाले ८ ओभरभित्र ७६ रन जोडेर विजय आधार तयार पारिसकेको थियो । ओपनर एइना हासिमले १८ बलमा १ चौकासहित १८ रन बनाई हन्टरसँग पहिलो विकेटमा ७० रनको साझेदारी गरिन् ।

कप्तान मास इलिसा ६, माहिराह इस्माइल १४, धानुश्री मुहुनान २१, नुर कालिसा २ रनमा आउट भइन् । नेपालबाट रिया शर्माले ३ ओभरमा २० रन खर्चेर ३ तथा मनीषाले ४ ओभरमा १४ र रुबिना क्षेत्रीले ३ ओभरमा २१ रन खर्चेर २–२ विकेट लिए । सीता रानामगरले ३.४ ओभरमा २० रन खर्चेर १ विकेट लिइन् ।

यसअघि कप्तान इन्दु बर्मा र कविता कुँवरले अन्तिम २ ओभरमा ३४ रन जोडेपछि नेपालले राम्रो स्कोर बनाएको थियो । उनीहरूको प्रयासमा नेपालले १९ औं ओभरमा २१ र २० औं ओभरमा १३ रन जोडेको थियो । इन्दु ४१ बल खेल्दै ५ चौकासहित ४६ रनमा अविजित रहिन् । इनिङ्सको अन्तिम बलमा आउट भएकी कविता १५ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३३ रन जोडिन् ।

सम्झना खड्का २, पूजा महतो १५, सोनी पाख्रिन ६, रुबि पोदार १७ रनमा आउट भए भने सीता ५ रनमा रिटायर्ड आउट भइन् । मलेसियाबाट दुराइसिंघमले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । मलेसिया र थाइल्यान्डबीच आइतबार नै फाइनल हुनेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully