भीमनारायण गोल्डकपको उपाधि बेलबारीलाई

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान फुटबल क्लब धनकुटालाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै बेलबारी च्याम्पियन बनेको हो।

जेष्ठ १६, २०८३

विनोद घिमिरे

Belbari wins Bhim Narayan Gold Cup title

What you should know

धनकुटा — धनकुटामा सम्पन्न १८औँ सहिद भीमनारायण स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी फुटबल क्लबले जितेको छ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान फुटबल क्लब धनकुटालाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै बेलबारी च्याम्पियन बनेको हो। 

बेलबारीका लागि मोटिभ, सोलोमन किङ, विशाल थिङ, श्याम मुरुर र शिशिर लेखीले गोल गरे। । विवेक पौडेलको प्रहारलाई भने धनकुटाका गोलरक्षकले बचाएका थिए। यस्तै धनकुटाका लागि प्रिसो, विवेक गुरुङ, फेमी र होलेमी टावले गोल गरेका थिए। राम वाजी र पृथ्वी चौधरीको प्रहारलाई भने बेलबारीका गोल रक्षकले रोकेका थिए। 

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो। ट्राइब्रेकरमा पनि दुवै टोली बराबरीमा रोकिएपछि विजेताको टुङ्गो सडन डेथबाट लगाइएको थियो। सडन डेथमा आयोजक धनकुटालाई स्तब्ध पार्दै बेलबारीले उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै बेलबारी फुटबल क्लबले नगद ६ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता बनेको आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान फुटबल क्लब धनकुटाले नगद ३ लाख रुपैयाँमा चित्त बुझाएको छ। 

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी धनकुटाका पदम भट्टराई घोषित भए, उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यस्तै हाइ स्कोरर बेलबारीका सलमान किङ घोषित भए, उनले ११ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।  बेस्ट डिफेण्डर बेलबारीका महेन्द्र कार्की भए, उनले ११ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।  प्रतियोगितामा प्लेयर अफ द म्याच बेस्ट गोलकिपर र बेस्ट मिटफिल्डरलाई समेत पुरस्कृत गरिएको थियो। 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully