काभा भलिबल च्याम्पियनसिप: नेपालको तेस्रो हुने दाउ

साबिक विजेता इरानले उपाधिका लागि फाइनलमा काजकस्तानविरुद्ध खेल्नेछ । यी दुई टोली लिग चरणमा पनि भिडेका थिए, जहाँ इरानले सोझो सेटमा सफलता पाएको थियो ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Kava Volleyball Championship: Nepal's bid to finish third

What you should know

काठमाडौँ — इरान लगातार दोस्रो वर्ष काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाललाई ३–० को सोझो सेटमा पराजित गरी इरान उपाधिसामु पुगेको थियो ।

साबिक विजेता इरानले उपाधिका लागि फाइनलमा काजकस्तानविरुद्ध खेल्नेछ । यी दुई टोली लिग चरणमा पनि भिडेका थिए, जहाँ इरानले सोझो सेटमा सफलता पाएको थियो ।

इरानले गत वर्ष तास्केन्दमा आयोजक उज्वेकिस्तानलाई सोझो सेटमा हराएर उपाधि जितेको थियो । त्यो भन्दा अघिल्लो वर्ष २०२४ काठमाडौंमा भएको परिवर्तित स्वरुपको यस प्रतियोगिताको पहिलो संस्करणमा नेपालले इरानलाई हराएर फाइनल तय गरेको थियो ।

घरेलु कोर्टमा नेपालका युवा खेलाडीले इरानविरुद्ध पहिलो सेटमा केही प्रतिरोध गरे पनि त्यसपछि दुई सेट सहजै सुम्पिए । पहिलो सेट २५–२० ले गुमाएको नेपालले त्यसपछि २५–१५, २५–११ ले इरानलाई सेट सुम्पेपछि टोलीको फाइनल यात्रा टुंगिएको थियो ।

निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले अब तेस्रो स्थानका लागि शुक्रबार भारतविरुद्ध खेल्नेछ । लिग चरणमा नेपाल प्रतिस्पार्धत्मक खेलमा भारतसँग ३–२ सेटले पराजित भएको थियो ।

नेपालका प्रशिक्षक जगदीश भट्टले इरान माथिल्लो स्तरको टिम भएको बताउँदै सोचे जस्तो अंक लिन नसके पनि आफ्ना युवा खेलाडीको प्रदर्शनमा खोट लगाउने ठाउँ नभएको बताए । उनले खेलबारे भने, ‘हाम्रा धेरै खेलाडीले यसै प्रतियोगिता डेब्यु गरेका छन्, उनीहरू दर्जनौं अन्तर्राष्ट्रिय म्याच खेलेर खारिएका खेलाडी हुन् । इरानको लेभल एसियाकै टप सिक्समा पर्छ । त्यसले धेरै फरक पार्छ । यद्यपि हामीले यसरी हार्छौ भन्ने सोचेका थिएनौं । हाम्रो रिसिभ कमजोर हुँदा एट्याकिङमा समस्या भयो । समग्र भन्नुपर्दा हाम्रो टेक्निकल्ली समस्या भयो । जसले गर्दा उनीहरू हाबी हुन पाए ।’

प्रशिक्षक भट्टले भारतलाई हराएर एसिया कप छनोट हुने बताए । इरान र कजाकस्तान छनोट भइसकेकाले अब यस प्रतियोगितामा तेस्रो हुने टोली एसिया कपमा छनोट हुनेछ । त्यही नेपालको एकमात्र लक्ष्य रहेको भट्टको दाबी थियो ।

पहिलो संस्करणको च्याम्पियन भारत पनि बिहीबारै कजाकस्तानसँग पहिलो सेमिफाइनलमा सोझो सेटमै पराजित भएको थियो । नताल्या खाजोभाको कप्तानीमा रहेको कजाकस्तानको २५–२१, २५–१७, २५–१४ ले सेट जितेर फाइनल सुरक्षित गरेको थियो ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसनका आठ सदस्य राष्ट्रले भाग लिएको यस संस्करणमा कजाखस्तान र बंगलादेशले पहिलो पटक सहभागिता जनाएको हो ।

कान्तिपुर

Link copied successfully