काभा च्याम्पियनसिप : नेपाललाई हराएर भारत भयो तेस्रो

नेपाल र भारत दुवै सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानका लागि भिडेका थिए ।

जेष्ठ १५, २०८३

ध्रुव तुलाधर

Kava Championship: India defeats Nepal to finish third

काठमाडौं — नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान पनि गुमाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाली टोली चिरप्रतिद्वन्द्वी भारतसँग ३–१ को सेटमा पराजित थियो ।

नेपाल र भारत दुवै सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानका लागि भिडेका थिए ।

पहिलो २ सेट गुमाएको नेपालले तेस्रो सेटमा पुनरागमन गरेको थियो । तर, त्यसलाई कायम राख्न सकेन । नेपालले खेल २२–२५, २३–२५, २५–१५, २२–२५ ले गुमाएको हो । यो हारले नेपाली टोलीको एसिया कप पुग्न सपना पूरा हुन सकेन । 

लिग चरणमा एउटै समूहमा रहेको नेपालले भारतसँगको खेल ३–२ को सेटमा गुमाएको थियो ।

निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले यसपालि युवा खेलाडीलाई लिएर प्रतियोगितामा उत्रेको थियो । 

अब उपाधिका लागि साबिक विजेता इरानले   फाइनलमा शुक्रबार अपरान्ह काजकस्तानविरुद्ध खेल्नेछ । यी दुई टोली लिग चरणमा पनि भिडेका थिए, त्यसमा इरानले सोझो सेटमा सफलता पाएको थियो ।

इरानले गत वर्ष तास्केन्दमा आयोजक उज्वेकिस्तानलाई सोझो सेटमा हराएर उपाधि जितेको थियो । 

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully