सप्तरी क्रिकेट संघले पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय, राजविराजको मैदानमा आयोजना गरेको पहिलो चरणको खेलमा सिरहाले आयोजकलाई १३ रनले पराजित गरेको छ भने दोस्रो खेलमा धनुषाले सर्लाहीलाई १ सय २० रनले हराएको हो ।
What you should know
राजविराज — सप्तरीमा सुरु भएको मधेश प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–२० क्रिकेटमा बिहीबार भएका दुई चरणका खेलमा सिरहा र धनुषाले जित हात पारेका छन् ।
सप्तरी क्रिकेट संघले पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय, राजविराजको मैदानमा आयोजना गरेको पहिलो चरणको खेलमा सिरहाले आयोजकलाई १३ रनले पराजित गरेको छ भने दोस्रो खेलमा धनुषाले सर्लाहीलाई १ सय २० रनले हराएको हो ।
टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९२ रनको योगफल तयार पार्यो । सिरहाकी काजल साफीले २६, पुष्पा यादवले १८, अनुराधा चौधरीले १६ र अनु यादवले ११ रन बनाए । बलिङतर्फ सप्तरीकी वन्दना रजकले ४ विकेट, सुस्मिता यादवले २ तथा दीपाराम र साक्षी यादवले १/१ विकेट लिए ।
लक्ष्य पछ्याएको सप्तरी १८ ओभर ४ बलमा ७९ रनमै समेटियो । सप्तरीकी साक्षी यादवले सर्वाधिक ३० र सुस्मिता यादवले १० रन बनाइन् । बलिङतर्फ सिरहाकी अनुराधा चौधरी र स्वेता लामाले २/२, सरस्वती चौधरी, मीना महतो र प्रशिदीक्षा खड्काले १/१ विकेट लिए ।
दोस्रो चराणको खेलमा टस जितेर ब्याटिङ गरेको धनुषाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । धनुषाकी चन्द्रिका महतोले ७३ र रोजी खत्रीले ३६ रनको योगदान दिए । बलिङतर्फ सर्लाहीकी सरिश्मा खनाल र रानी साहले २/२ तथा अनुपा खड्काले १ विकेट लिए ।
लक्ष्य पछ्याएको सर्लाही १३ ओभर ४ बलमा ४५ रनमै समेटियो । सर्लाहीकी अनुपा खड्काले १० रन बनाइन् । बलिङतर्फ धनुषाकी मधु खड्काले ४, रोजी खत्रीले २ तथा रोशनी महरा र अनिषा यादवले १/१ विकेट लिए ।
