इरानले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आजै बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजकलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
What you should know
काठमाडौँ — इरान लगातार दोस्रो वर्ष काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
इरानले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आजै बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजकलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
साविक विजेता इरानले उपाधिका लागि फाइनलमा काजकस्तानविरुद्ध खेल्नेछ । गत वर्ष तास्केन्दमा आयोजक उज्वेकिस्तानलाई सोझो सेटमा हराएर इरानले उपाधि जितेको थियो । इरान र कजाकस्तान लिग चरणमा पनि भिडेका थिए । इरानले लिग चरणमा सोझो सेटमा कजाकस्तानलाई हराएको थियो ।
त्यो भन्दा अघिल्लो वर्ष २०२४ काठमाडौंमा भएको परिवर्तित स्वरुपको यस प्रतियोगिताको पहिलो संस्करणमा नेपालले इरानलाई हराएर फाइनलमा प्रवेश गरेको थियो ।
बिहीबार घरेलु कोर्टमा नेपालका युवा खेलाडीले इरानविरुद्ध पहिलो सेटमा केही प्रतिरोध गरे पनि त्यसको दुई सेटमा सहजै सुम्पिएको थियो । पहिलो सेट २५–२० ले गुमाएको नेपालले त्यसपछि २५–१५, २५–११ ले इरानलाई सेट सुम्पेपछि टोलीको फाइनल यात्रा टुंगिएको थियो ।
निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले अब तेस्रो स्थानका लागि शुक्रबार भारतविरुद्ध खेल्नेछ । लिग चरणमा नेपाल प्रतिस्पार्धत्मक खेलमा भारतसँग ३–२ सेटले पराजित भएको थियो ।
पहिलो संस्करणको च्याम्पियन भारत पनि बिहीबारै कजाकस्तानसँग पहिलो सेमिफाइनलमा सोझो सेटमै पराजित भएको थियो । नताल्या खाजोभाको कप्तानीमा रहेको कजाकस्तानको २५–२१, २५–१७, २५–१४ ले सेट जितेर फाइनल सुरक्षित गरेको थियो ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसनका आठ सदस्य राष्ट्रले भाग लिएको यस संस्करणमा कजाखस्तान र बंगलादेशले पहिलो पटक सहभागिता जनाएको हो । २०२४ मा नेपालमै भएको पहिलो संस्करणमा नेपाल, भारत, इरान, माल्दिभ्स र श्रीलंका प्रतिस्पर्धी थिए । दोस्रो संस्करण किर्गिस्तान, ताजकिस्तान, उज्वेकिस्तान र इरानले मात्र खेलेका थिए ।
यो प्रतियोगिता काभा महिला भलिबल नेसन्स लिगको रूपमा आयोजना भएको थियो ।
