रंगशाला नबन्दा चारपल्ट मिति तोकेर स्थगित भएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्योलमा ।
What you should know
सुर्खेत — कर्णालीमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्थल मानिएको कर्णाली रंगशालाको निर्माण हुन एक प्रतिशत मात्र बाँकी छ । करिब ९९ प्रतिशत निर्माण सकिएको रंगशालामा ठेकेदार कम्पनीले काम गर्न छाडेको दुई वर्ष पुग्यो । तर उक्त ठेक्काको न म्याद थप भएको छ न ठेक्का नै रद्द भएको छ । जसका कारण दसौं राष्ट्रिय खेलकुदको म्याद पटकपटक सर्दै अनिश्चित बनेको छ ।
रंगशाला कर्णाली प्रदेश सरकारको पहिलो गौरवको आयोजना हो । झन्डै ९ बिघा क्षेत्रफलमा फैलिएको रंगशाला निर्माणका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँग एमएसी/जीएसएल जेभीले १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँमा २०७८ मंसिरमा सम्झौता गरेको थियो । ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी काम सुरू भएको रंगशालाको म्याद २०८१ जेठसम्म थियो । तर कोरोना महामारी, निर्माण सामग्रीको अभाव, दक्ष जनशक्तिको कमीलगायत समस्या देखाउँदै ठेकेदार कम्पनीले अनुरोध गरेपछि २०८१ मंसिरमा एक वर्षका लागि म्याद थपिएको थियो ।
‘तर उक्त अवधिमै तत्कालीन सदस्य सचिवलगायत पदाधिकारीको कार्यकाल सकियो, सार्वजनिक खरिद नियमावलीअनुसार ठेकेदार पक्षले म्याद सकिएको ६ महिनाभित्र थप म्याद थपका लागि कारणसहित परिषद्लाई अनुरोध गर्नुपर्थ्यो,’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी देवीप्रसाद पौड्यालले भने, ‘परिषद् विघठित हुँदा ठेकेदार पक्षले म्याद थपको लागि निवेदन नै पेस गर्न पाएन, अहिले म्याद सकिएकै १६ महिना पुग्यो, त्यसैले ठेक्का तोड्न र म्याद थपको दुवै काम गर्न कानुनी अड्चन देखिएको छ ।’
उनका अनुसार अब रंगशालाको प्रवेशद्वारमा कालेपत्र गर्ने, अन्तिम रंगरोगन गर्ने, विद्युत् र खानेपानी जडान गर्नेलगायत काम बाँकी छ । ठेकेदार कम्पनीले काम काम सकेको झन्डै ९ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उनले जानकारी दिए ।
सत्तारुढ एमाले र कांग्रेसबीच भागबन्डा नमिल्दा कर्णाली प्रदेश खेलकुद विकास परिषद् लामो समयदेखि नेतृत्वविहीन भएपछि प्रदेश रंगशालाको काम अलपत्र परेको हो । परिषद्का तत्कालीन सदस्यसचिव विश्वामित्र सञ्ज्यालसहितका पदाधिकारीको कार्यकाल २०८१ पुस ६ गते सकिएको थियो । तर झण्डै १५ महिनापछि गत चैत १२ गते कर्णाली सरकारले सदस्यसचिवमा रवीन्द्र चन्दसहितका पदाधिकारी नियुक्त गरेको थियो । ‘नियुक्ति भएदेखि नै रंगशालाकै काम छिटो टुंग्याउने प्रयासमा छु, पटकपटक विभिन्न निकायसँग छलफल भइरहेकै छ,’ उनले भने, ‘अझै म्याद थपबारे निष्कर्षमा पुग्न सकिएको छैन ।’
फिफाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको रंगशालामा करिब १० हजार दर्शक अट्नेगरी प्यारापिट बनाइएको छ भने आईएएफको मापदण्डअनुसार ८ लेनको सिन्थेटिक ट्रयाकसहितको रंगशालामा मिडिया, रेफ्री, चेन्जिङ, रिफ्रेस र मेडिकल रुम, फिजियोथेरापी, भीआईपी वेटिङ रुमका साथै अन्डरग्राउन्ड पार्किङसमेत निर्माण भएको सदस्यसचिव चन्दले बताए ।
उनका अनुसार रंगशालाभित्र स्विमिङ पुलसहित १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण भएको छ । जसमा भलिबल, ह्यान्डबललगायतका खेल खेल्न सकिने उनले जानकारी दिए । उनका अनुसार व्यावसायिक प्रयोजनका लागि रंगशालामा ४० वटा सटरसमेत निकालिएको छ । कर्णाली सरकारले राष्ट्रिय प्रतियोगिताका ३५ मध्ये २४ खेल यही रंगशालामा खेलाउने तयारी गरेको छ ।
संघीय सरकारले राष्ट्रिय खेलकुदका लागि ४ पल्ट मिति तय गरी स्थगित गरिरहेको छ । सुरूमा २०८१ मंसिर १ देखि ८, दोस्रोपल्ट २०८१ चैत २३ देखि ३० र तेस्रोपल्ट २०८२ जेठ ३ देखि १० गतेसम्मका लागि प्रतियोगिताको मिति तय गरेको थियो । तत्कालीन खेलकुदमन्त्री बब्लु गुप्ताको कार्यकालमा चौथोपल्ट गत फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरियो । तर प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण तोकिएको मितिभन्दा ६ दिनपछि सरकारले गत फागुन १३ गते निर्वाचनपछि उपयुक्त समयमा प्रतियोगिता गर्ने निर्णय गर्यो । तर अझै नयाँ मिति तय भएको छैन ।
प्रतियोगिता पटकपटक सर्दा आफूहरु निरास बनेको सुर्खेतका तेक्वान्दो खेलाडी निसान खड्काले बताए । ‘खेलाडीका लागि राष्ट्रिय खेलकुद ठूलो अवसर हो, हामी आफ्नो खेल देखाउन चाहन्छौ,’ उनले भने, ‘तर आफ्नै प्रदेशमा राष्ट्रिय खेलकुद हुन लाग्दा पनि प्रदेश सरकार मौन छ, न प्रशिक्षण छ न सरकारको तर्फबाट खेलाडीलाई हौसला दिनेगरी अभ्यासको निरन्तरता, हामी कहिलेसम्म आफ्नै लगानीमा अभ्यास खेल खेलिरहने ?’
यसअघि पनि राष्ट्रिय खेलकुदमा सहभागी भलिबल खेलाडी यज्ञ ओलीले अहिले जिल्लास्तरीय प्रतियोगिता पनि हुन छोडेको बताए । ‘अहिले त सबैजसो जिल्लामा बन्द प्रशिक्षणमा हुनुपर्ने हो, अभ्यास खेल पनि पालिकास्तरमा धमाधम खेलाइनुपर्ने हो,’ उनले भने, ‘न प्रदेशको क्रियाशीलता छ न स्थानीय सरकारको वास्ता नै, यसले आफ्नै प्रदेशमै खेल्दा पनि कर्णालीको धेरै खेलमा पदक गुम्ने देखिन्छ ।’ सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश रंगशालाको बाँकी कामलाई एक साताभित्रै टुंग्याइने दाबी गरे ।
