भीमनारायण गोल्ड कप : धनकुटा फाइनलमा

सिराहाको सहलेस फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै धनकुटा उपाधिनजिक पुगेको हो ।

जेष्ठ १४, २०८३

विनोद घिमिरे

Bhim Narayan Gold Cup: Dhankuta in the final

धनकुटा — धनकुटाको तल्लो टुँडिखेलमा बिहीबार भएको भीमनारायण गोल्ड कपमा आयोजक धनकुटा फाइनलमा प्रवेश गरेको छ । सिराहाको सहलेस फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै धनकुटा उपाधिनजिक पुगेको हो ।

धनकुटाका लागि खेलको पहिलो हाफको नवौँ मिनेटमा अमित बेस्राले निर्णायक गोल गरे । बेस्राले गरेको एकमात्र गोल नै टोलीलाई फाइनल पुर्‍याउन पर्याप्त बन्यो ।

खेलमा पछि परेको सहलेसले बराबरीका लागि निरन्तर प्रयास गरे पनि सफल हुन सकेन । दोस्रो हाफमा आयोजक धनकुटाले खेलमा पकड कायम गर्दै सहलेसमाथि दबाब बनाएको थियो । धनकुटाका खेलाडीले गरेको आधा दर्जन प्रहार सहलेसका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको 'म्यान अफ द प्लेयर' आयोजक धनकुटाका विवेक गुरुङ घोषित भए । उनले ६ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत शुक्रबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब र मोरङको बेलबारी फुटबल क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully